बलात्कार आराेपी लामिछानेलाई राष्ट्रिय टीममा फर्काउने निर्णय तत्काल फिर्ता लिनुपर्छ : गगन थापा

बलात्कार आराेपी लामिछानेलाई राष्ट्रिय टीममा फर्काउने निर्णय तत्काल फिर्ता लिनुपर्छ : गगन थापा

काठमाडाैं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कार आराेपी सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टीममा फर्काउने नेपाल क्रिकेट संघकाे निर्णय तत्काल फिर्ता लिनुपर्ने बताएका छन्।

मंगलबार क्यानले पूर्वकप्तानसमेत रहेका लामिछानेकाे निलम्बन फुकुवा गर्दै बिहीबार राष्ट्रिय टीमकाे बन्द प्रशिक्षणामा सहभागी गराएपछि कांग्रेस महामन्त्री थापाकाे यस्ताे भनाइ आएकाे हाे।

उनले भनेका छन्- 'बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्न।'

एक साताअघि नै यो विषयमा आफूले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई भेटेरै अदालतको फैसला नआउँदासम्म कुनै पनि निर्णय नगर्न भनेकोमा त्यसाे हुन नसकेको बताए।

चन्द नेपाली कांग्रेस बैतडीका जिल्ला सभापतिसमेत हुन्।

थापाले पुनः दोहोर्याउँदै भनेका छन्, 'बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको बेला क्यानले हतारोमा गरेको निर्णय गलत छ,तत्काल फिर्ता लिनुपर्छ। No If, No But!'

लामिछानेमाथि १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेकाे आराेप छ। उनीविरुद्ध अदालतकाे मुद्दा विचाराधीन अवस्थामा छ।

उच्च अदालतले उनलाई २० लाख धराैटी र विभिन्न शर्तसहित रिहा गर्ने आदेश दिएपछि उनी अहिले राष्ट्रिय टीमकाे बन्द प्रशिक्षणमा छन्।

२० माघ, २०७९, १८:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।