'वित्तीय अनुशासन उल्लंघन र अत्यधिक ऋण प्रवाहले सहकारीहरू डुबे'

'वित्तीय अनुशासन उल्लंघन र अत्यधिक ऋण प्रवाहले सहकारीहरू डुबे'

बुटवल : वित्तीय अनुशासन पालना नगर्दा पछिल्लाे समय सहकारीहरूमा समस्या देखिएको सरोकारवालाहरूले बताएका छन्।

शुक्रबार बुटवलमा भएकाे साक्षात्कार कार्यक्रममा सराेकारवालाहरूले वित्तीय अनुसासन पालना नहुँदा र बचत संकलनको अनुपातमा ऋण प्रवाह बढि हुँदा सहकारीहरू धरापमा पर्न थालेको बताएका हुन्।

कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी विकास बाेर्डका उपाध्याक्ष टिकाराम पोखरेलले सहकारीको मर्मभन्दा बाहिर गएर बचतकर्ताको रकममा सञ्चालकहरूको चलखेल गर्दा समस्या देखिएको बताए। समस्या समाधानका लागि सरकारले कानूनी प्रक्रिया अघि बढाएको उनको भनाइ छ।

लुम्बिनी प्रदेश सहकारी रजिष्ट्रार भिमप्रसाद तिवारीले सहकारीमा सुशासन नभएको बताए। आफू आएकाे दुई महिनामा ५० भन्दा धेरै सहकारीमा अनुगमन गर्दा सहकारीहरू उत्पादनमुलकभन्दा पैसाको किनबेचमा लागेकोमा दु:ख व्यक्त गरे।

सुप्रिम सहकारीले बचतकर्ताको रकम फिर्ता दिन सकेन, सहकारी दर्ता अधिकारीको कार्यालय भन्छ- लिखित उजुरी आएको छैन

प्रदेश बचत तथा ऋण सहकारी संघ लुम्बिनीका अध्यक्ष कृष्ण नेपालले समुदायमा आधारित सहकारीमा समस्या नभएको दाबी गर्दै कारोबारी सदस्य बनाएका सहकारीहरूमा समस्या रहेको स्वीकारे।

राष्ट्रिय सहकारी बैंकको सञ्चालक सदस्य माधवलाल देवकोटाले पनि सहकारी संस्थाले कारोबारी सदस्य नबनाउँदा समस्या निम्तिएको बताए। वित्तीय अनुशासन पालना नगर्दा र बचत संकलनको अनुपातमा ऋण प्रवाह बढी हुँदा सहकारीहरू धरापमा पर्न थालेको बताए।

जिल्ला सहकारी संघ रुपन्देही अध्यक्ष भीम तुलाचनले सहकारीमा सरलीकरण र सहजीकरण तथा आर्थिक सुशासन कार्यन्वयन नहुँदा सहकारीमा बथेति बढेकाे बताए।

चेक बाेकेर दुई महिनादेखि सहकारीकाे चक्कर काट्दै बचतकर्ता, सञ्चालक सम्पर्कविहीन

बुटवल उपमहानगरपालिका अन्तर्गत सहकारी शाखा प्रमुख गुनाखर खनालले उपमहानगरमा दर्ता भएका १ सय ३६ वटा सहकारीमा कुनै समस्या नभएको दाबी गर्दै ७५ वटा प्रदेश मातहतका गरी २ सय ११ वटा रहेको बताए। 

उपमहानगरमा ६० हजार शेयर सदस्य रहेको र ७ अर्ब ४० करोड लगानी भएकोसमेत उनले जानकारी गराए। कृषि बहुउद्देश्यीय सहकारी १२ वटा ग्रामीण क्षेत्रमा रहेको उनले बताए।

मिटरब्याजी उपराष्ट्रपति पुत्र दिपेशको सहकारीले बचतकर्ताकाे पैसा फिर्ता गर्न सकेन

साक्षात्कार कार्यक्रममा शिव शिखर सहकारीबाट पीडित यज्ञ सापकोटाले नियमन निकायमाथि आक्राेश पाेख्दै सहकारीहरूले बचतकर्ताकाे पैसा नदिए प्रेमप्रसाद आचार्य जस्तै सहकारीअघि धेरैले आत्मदाह गर्नसक्नेतर्फ सचेत गराए।

लुम्बिनी प्रदेशमा २०७७ को तथ्याङ्कअनुसार ३ हजार ७५५ सहकारीले ४२ अर्ब लगानी, ६० अर्ब निक्षेप र ६ अर्ब सेयर पुँजी रहेको छ। त्यसयता अझै अद्यावधिक भएको छैन।

२० माघ, २०७९, १८:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।