पाकिस्तानमा जातीय समूहबीच झडप हुँदा पाँच जनाको मृत्यु

पाकिस्तानमा जातीय समूहबीच झडप हुँदा पाँच जनाको मृत्यु
फाइल तस्वीर

एजेन्सी : पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको बोलन जिल्लामा बिहीबार दुई जातीय समूहबीच भएको सशस्त्र झडपमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ।

घटनामा एक जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। अधिकारीहरूका अनुसार जिल्लाको बाग–ए–नारी क्षेत्रमा जमिनको विवादलाई लिएर झडप भएको थियो।

झडपमा दुवै समूहले स्वचालित हतियारको प्रयोग गरेका थिए। केही घण्टासम्म चलेको सशस्त्र झडपमा दुवै पक्षतर्फ हताहत भएको अधिकारीहरूले बताएका छन्।

सुरक्षाकर्मीले मृतक र घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरेको प्रहरीले जनाएको छ। घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको छ भने घटनामा सम्लग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ।

अधिकारीहरूका अनुसार थप भिडन्त हुन नदिन उक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

२० माघ, २०७९, १८:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।