यौन प्रलोभनमा ‘नेपाली गर्ल्स’ एप डाउनलोड, ६ घण्टामा बैंक खातै रित्तियो

यौन प्रलोभनमा ‘नेपाली गर्ल्स’ एप डाउनलोड, ६ घण्टामा बैंक खातै रित्तियो

काठमाडौं: ‘नेपाली गर्ल्स’ नामक एउटा माेबाइल एप डाउनलोड गरेकै कारण एकै रातमा ललितपुर सातदोबाटोका एक पुरुषको बैंक खाताबाट लाखौं रकम गायब भयाे।

उनको एनआइसी एसिया बैंकमा खाता थियो। उनी यसै बैंककै इ-बैंकिङ सेवा प्रयोग गर्थे। गत मंसिर २५ गते भने ७ बजेदेखि रातको १ बजेसम्म उनकाे मोबाइल फोन आफ्नाे नियन्त्रणमा थिएन।

यसै समयमा उनको बैंक खाताबाट इ-सेवा र खल्ती वालेटमार्फत रकम ट्रान्सफर भएको देखियो। जसकाे कारण थियो उनले डाउनलोड गरेको ‘नेपाली गर्ल्स’ नामक एप।

यसै एपमार्फत उनको मोबाइल ह्याक गरी ६ घण्टामा उनकाे खातामा रहेकाे चार लाख पैसा ट्रान्सफर गरिएको थियो र उनी ठगीमा परेका थिए।

‘नेपाली गर्ल्स’ नामक एप प्रयाेग गरी लाखौं रकम ठगी गरेको आराेपमा प्रहरीले ८ जनालाई पक्राउ गरेकाे छ।

‘केहीलाई काठमाडौं र केहीलाई मकावानपुरबाट पक्राउ गरेका छौं,’ जिल्ला प्रहरी परिसर ललितपुरका प्रवत्ता दीपक भारतीले भने, ‘उनीहरु आफैंले सफ्टवेयर बनाइ एपमार्फत ठगी गरेको देखिन्छ।’

पक्राउ पर्नेमा भारत बिहार प्रदेश सितामढी जिल्ला घर भइ हाल काठमाडौं चाबहिल बस्ने वर्ष २९ का अवधेश कुमार पनि रहेका छन्।

त्यसैगरी सप्तरी घर भइ काठमाडौं बस्ने दिलिप कुमार चौधरी, रौतहटकी रविना चौधरी, मकावनपुरका सन्तोष कुंवर, पर्साका नगेन्द्र साह, राजु पटेल, साहिल परबेज, दिनेश राउत र शिवशंकर राउत पक्राउ परेका हुन्।

कसरी हुन्छ ठगी? 

प्रहरीका अनुसार सुरुमा ‘नेपाली गर्ल्स’ नामको एप्लीकेशन डाउनलाेड गरेमा राम्रा-राम्रा महिलाहरु बारे जानकारी पाइने भनेर मोबाइलमा एसएमएस पठाइन्छ।

‘के तपाईं सेक्स पार्टनर खोजिरहनु भएको छ? ‘नेपाली गर्ल्स’ एप डाउनलोड गर्नुहोस्, एप इन्सटल भएपछि फोटो र सम्पर्क नम्बर पनि उपलब्ध हुनेछ, यो सेवा नेपालका जुनसुकै भू-भागमा पनि उपलब्ध हुनेछ,’ भनी मेसेज आउँछ। 

यसपछि यदि कसैले एप डाउनलोड गरेमा त्यही एपमार्फत ह्याकरको पहुँचमा साे फोन पुग्छ। त्यसपछि फाेनमा रहेकाे माेबाइल बैंकिङ एपमार्फत विभिन्न खातामा सोझै पहुँच पुराइ ह्याकरले खाताबाट पैसा ट्रान्सफर गर्ने गर्छन्।

प्रहरीले सातादोबाटाेका पीडितले चार लाख ठगी भएकाे भनी दिएकाे जाहेरी दरखास्तका आधारमा अनुसन्धान गरेको थियाे। अहिलेसम्म यस ‘नेपाली गर्ल्स’ एपकै कारण अन्य धेरै जना पीडित भएको हुन सक्ने बताएको छ।

त्यसैले प्रहरीले यसका लागि विशेष अनुसन्धान समूह पनि गठन गरेको छ। ‘अप्रेसन एप्लिकेशन नेपाली गर्ल्स’ गठन भएको र हाल सम्म ८ जना पक्राउ परेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरुबाट प्रहरीले ह्याकिङ सफ्टवेयर सहितको कम्प्युटर तथा मोबाइल लगायतका सामग्री बरामद गरेको छ। ह्याकरहरुले यस्तै तरिका अपनाएर हालसम्म विभिन्न व्यक्तिबाट ४६ लाख रुपौयाँ ठगी गरेको प्रहरीको भनाइ छ। 

२० माघ, २०७९, १७:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।