प्रदेश स्थापना दिवसमा गण्डकी प्रदेशले भलिबल प्रतियोगिता गर्ने

प्रदेश स्थापना दिवसमा गण्डकी प्रदेशले भलिबल प्रतियोगिता गर्ने

पोखरा : गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता गर्ने भएकाे छ।

प्रदेश खेलकुद परिषद्को आयोजना तथा गण्डकी प्रदेश भलिबल संघको प्राविधिक सहयोगमा फागुन १ देखि ३ गतेसम्म पोखरा रंगशालामा प्रतियोगिता सञ्चालन हुने परिषदका सदस्य सचिव घनश्याम पौडेलले जानकारी दिए।

परिषद्को शुक्रबार सम्पन्न कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाका लागि सदस्य खगेन्द्र क्षेत्रीको संयोजकत्वमा पाँच सदस्यीय आयोजक समिति गठन गर्ने निर्णय गरेको हो।

समितिमा प्रदेश खेलकुदका सदस्य विष्णुमाया गुरुङ, कार्यालय प्रमुख तोपलाल भुसाल, गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङ र महासचिव तहल सिंह थापा मगर रहेका छन्।

प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाबाट महिला तथा पुरुष खेलाडीहरूको सहभागिता गराइने तयारी छ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने महिला र पुरुष टिमलाई क्रमश: नगद १ लाख ५० हजार, १ लाख र ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

यसैगरी प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीहरूले जनही नगद २०–२० हजार र विद्यागत रूपमा महिला तथा पुरुष खेलाडी ५–५ जनाले जनही नगद १०–१० हजार पुरस्कारसँग प्रमाणपत्र प्राप्त गर्नेछन्।

२० माघ, २०७९, १६:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।