साप्ताहिक शेयर समीक्षा : राजनीतिक उतारचढावले बजार घट्यो

साप्ताहिक शेयर समीक्षा : राजनीतिक उतारचढावले बजार घट्यो

काठमाडौं: यो साता शेयर बजार घट्यो। आइतबार २१८३.२१ अंकबाट सुरु भएको बजार बिहीबारसम्म आइपुग्दा ८८.६७ अंकले घटेर २०९४.५४ विन्दुमा पुग्यो।

शेयर बजार आइतबारदेखि नै घट्न थालेको थियो। त्यस दिन नेप्से सूचक १४.६८ अंकले घटेर २१६८.५३ विन्दुमा अडिएको थियो।

सूचक घटे पनि शेयर कारोबार रकम खासै घटेको देखिएन। आइतबार करिब दुई अर्ब ९३ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो।

पुसदेखि निरन्तर बढेको शेयर बजारले २२७७ विन्दुको 'इन्ट्रा डे हाई' बनाएपछि करेक्सनमा गएको थियो। केही दिनयता भने लगानीकर्ता ‘पर्ख र हेर’ को मुडमा गएपछि नेप्से सूचक पनि 'साइड वेज'मा देखिएको थियो।

सोमबार पनि शेयर बजारमा घट्ने क्रम जारी थियो। त्यस दिन नेप्से ४१.०१ अंकले घटेर २१२७.५२ विन्दुमा आएको थियो। दुई कम्पनीमा सकारात्मक सर्किट लाग्दा तीन अर्ब ३० करोड रुपैयाँको शेयर कारोबार भएको थियो।

नेप्सेले पटकपटक २२ सयको लाइनमा अघि बढ्न प्रयास गर्दा पनि सफल नभएपछि पुनः करेक्सनको सामना गर्नुपरेको हो। करिब एक महिनाको अवधिमा बढेको बजारबाट कतिपय कम्पनीहरूमा लगानीकर्ताले राम्रो नाफा बुक गर्न सफल भए।

नेप्सेको करेक्सन मङ्गलबार पनि जारी रह्यो। त्यस दिन नेप्से सूचक १५.७४ अंकले घटेर २१११.६३ विन्दुमा आएको थियो।

दुई अर्ब ८२ करोड रुपैयाँको शेयर कारोबार हुँदा एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको थियो। बजार अघिल्लो दिन जस्तो फराकिलो अङ्कले नघटे पनि सकारात्मक बन्न भने सकेन।

साताको चौथो कारोबार दिन बुधबार भने नेप्से सूचकमा सामान्य सुधार भएको थियो। त्यस दिन सूचक ४.९७ अंकले बढेर २११६.६५ विन्दुमा पुग्यो।

कारोबार रकममा भने निकै कमी आएको देखियो। करिब एक अर्ब ७६ करोड रुपैयाँको शेयर कारोबार हुँदा एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको थियो।

लगानीकर्ता राष्ट्र बैङ्कको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षाको पनि पर्खाइमा छ। यसले गर्दा लगानीकर्ताले आफ्नो खरिदबिक्री घटाएका छन्। प्रायः खरिदबिक्री घट्दा बजार पनि घट्ने गरेको देखिन्छ।

साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से सूचकमा उच्च अङ्कको गिरावटले राजनीतिक अन्योलको प्रभावलाई स्पष्ट देखाएको छ। त्यस दिन नेप्से सूचक २२.१२ अंकले घटेर २०९४.५४ विन्दुमा पुग्यो।

यस दिन कारोबार रकम भने अघिल्लो दिनका तुलनामा थोरै बढेर दुई अर्ब नौ करोड ६४ लाख १९ हजार १६१ रुपैयाँ पुगेको थियो। यो पनि अघिल्लो साताका तुलनामा कम नै हो।

राजनीतिक उतारचढावको प्रत्यक्ष प्रभाव

पछिल्लो राजनीतिक उतारचढावको प्रत्यक्ष प्रभाव शेयर बजारमा परेको छ। लगानीकर्ताहरूले वर्तमान सरकारको अङ्कगणितलाई रुचाएका थिए।

यदि यो अङ्कगणितमा परिवर्तन हुन खोज्यो भने बजार अरू तल झर्ने विश्लेषकहरूको तर्क छ।

बजारले सरकारमा सहभागी भएका एमाले र रास्वपालाई सकारात्मक नजरले हेरेको छ। एमालेबाट अर्थमन्त्री बनेका विष्णु पौडेल शेयर बजारका लागि 'शुभसूचक' मानिन्छन्। उता रास्वपा पनि शेयर बजारको सुधार र दीर्घकालीन स्तरोन्नतिका लागि आवाज उठाउँदै आएको दल हो।

रास्वपाले आफूलाई गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने बताउँदै आएको छ। एमालेका केपी शर्मा ओली तथा राप्रपाका राजेन्द्र लिङदेन दुवैले गृह मन्त्रालय रास्वपालाई नै दिनुपर्ने अडान राखेका छन्। सरकारको नेतृत्त्व गरिरहेको माओवादी केन्द्रले भने गृह मन्त्रालय रास्वपालाई दिन आनाकानी गरिरहेको छ।

उता आफ्नो सांसद अरुणकुमार चौधरी पक्राउ परेको विरोधमा नागरिक उन्मुक्ति पार्टी पनि वर्तमान सरकारको विरोधमा खुलेर लागेको देखिन्छ। पक्राउ परेका चौधरी आज जेल चलान भइसकेका छन्।

यसलाई विश्लेषकहरूले लगानीकर्ताको मनोबल उच्च राख्न राजनीतिक दलहरूको महत्त्वपूर्ण भूमिका हुने प्रमाणका रूपमा लिएका छन्।

यस्तै लगानीकर्ता राष्ट्र बैङ्कको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षाको पनि पर्खाइमा छ। यसले गर्दा लगानीकर्ताले आफ्नो खरिदबिक्री घटाएका छन्। प्रायः खरिदबिक्री घट्दा बजार पनि घट्ने गरेको देखिन्छ।

२० माघ, २०७९, १४:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।