बैंक तथा वित्तीय संस्थाले दुःख दिएको भन्दै पोखराका व्यवसायीले थाले संघर्षका कार्यक्रम

बैंक तथा वित्तीय संस्थाले दुःख दिएको भन्दै पोखराका व्यवसायीले थाले संघर्षका कार्यक्रम

पोखरा: बैंक तथा वित्तीय संस्थाहरुले कर्जाकाे साँवा र ब्याजको लागि गरेको धरपकडविरुद्ध पोखराका उद्योगी, व्यवसायीहरुले संघर्ष थाल्ने भएका छन्।

बिहीबार भएको भेलाले यसका लागि संघर्ष समिति गठन गरेकाे छ। समितिमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापति संयोजक र लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय सहसंयोजक रहेका छन्।

पछिल्लो समय आर्थिक मन्दीले व्यापार व्यवसाय चौपट भएका बेला बैंक तथा वित्तीय संस्थाले व्यवसायीलाई प्रताडित पर्ने कार्य गरेकाले यस गलत काम प्रति बाध्य भएर संघर्षमा उत्रिन परेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले बताए।

उनले भने, ‘बैंक तथा वित्तीय संस्थाका कर्मचारीले साँझ, बिहान र रातमा पनि टेलिफोन गरेर मानसिक तनाव दिने थालेका छन। घर, पसलमै पुगेर बालबालिकाको सामु धम्क्याउने, पसलमा दिनभर बिक्री भएको पैसा बोकेर हिँड्ने जस्ता काम भएपछि बाध्य भएर संघर्ष गर्ने निर्णय गरेका हौं।’ 

संघर्ष समितिले बैंक तथा वित्तीय संस्थाहरुबाट भएका यस्ता कामको सामूहिक प्रतिवाद गर्ने उनले बताए।

उनले कसैमाथि बैंक तथा वित्तीय संस्थाले ज्यादती गरेको भए संघर्ष समिति वा उद्योग वाणिज्य संघलाई जानकारी दिन अनुरोध पनि गरे।

अध्यक्ष प्रजापतिले बैंक तथा वित्तीय संस्थाहरुले एकाएक कर्जाको ब्याज बढाउँदा धेरै उद्योगी, व्यवसायीहरु मर्कामा परेका कारण आत्महत्या जस्तो कार्य गर्न बाध्य भएको बताए। 

विषम परिस्थितिमा कुनै बैंक तथा वित्तीय संस्थाहरुले कुनै व्यवसायीहरुको धितो लिलामी प्रक्रिया अगाडि बढाए त्यसको पनि प्रतिकार गरिने उनको भनाइ छ। 

भेलामा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले दुःख दिने वित्तीय संस्थालाई परिआए एकमुष्ठ लाल पुर्जा लगेर बुझाइने उद्घोष गरे।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दामु अधिकारीले भने व्यवसायीहरु उठ्नै नसक्ने अवस्थामा पुगेको बेला कर्जाको समयसीमा बढाउन र ब्याजदर घटाउन माग गरेका छन्।

२० माघ, २०७९, १२:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।