फिल्म 'प्रेमा'को फर्स्टलुक सार्वजनिक, शुभेच्छा-अरुण-सृष्टिको त्रिकोणात्मक प्रेमकथा

फिल्म 'प्रेमा'को फर्स्टलुक सार्वजनिक, शुभेच्छा-अरुण-सृष्टिको त्रिकोणात्मक प्रेमकथा

काठमाडौं: निर्देशक गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन बनेको फिल्म ‘प्रेमा’को फर्स्टलुक सार्वजनिक भएको छ। बाघठाटा फिल्म फ्याक्ट्रीको ब्यानरमा निर्मित फिल्म आगामी चैत १७ अर्थात मार्च ३१ मा रिलिज हुँदैछ।

फर्स्टलुकमध्ये एकमा फिल्मका प्रमुख कलाकार अरुण क्षेत्री, शुभेच्छा खड्का र सृष्टि श्रेष्ठलाई स्थान दिइएको छ। पोस्टरमा अरुण र शुभेच्छा तथा सृष्टि र अरुणलाई रोमान्टिक भावमा देखाइएको छ।

अर्को फर्स्टलुकमा शुभे्च्छा, अरुण र सृष्टिलाई खुशीको मुडमा देख्न सकिन्छ।

तेस्रोमा शुभेच्छा र अरुण रोमान्टिक हुँदा छेउमा अरुण र सृष्टिको खुशीको मुड देखाइएको छ।

निर्देशक भण्डारीले फिल्मले त्रिकोणात्मक प्रेमकथा देखाउने बताए। ‘मञ्जरी’, ‘लभ यु बाबा’, ‘हैरान’, ‘मेरो पैसा खै’, ‘गाँजाबाजा’ र ‘चिनी कम रङ कडा’ जस्ता फिल्ममा सहनिर्देशकका रूपमा काम गरेका भण्डारीको पूर्ण निर्देशकीय डेब्यू फिल्म ‘रणवीर’ हो।

यो फिल्ममा उनकै लेखन समेत थियो। यो फिल्मबाट उनले कामको राम्रो तारिफ पाएका थिए।

फिल्म ‘प्रेमा’मार्फत उनले फिल्म निर्माणमा पनि पाइला चालेका छन्। लेखक तथा निर्देशक विवेक घिमिरेले ‘प्रेमा’ निर्माणमा उनीसँग सहकार्य गरेका छन्।

अमेरिकाको बोस्टन, मेसाच्युसेटमा बस्ने घिमिरे फिल्म ‘चिनी कम रङ कडा’का निर्देशक समेत हुन्।

फिल्म ‘प्रेमा’को शुटिङ काठमाडौं, धनगढी र कर्णालीमा गरिएको छ। फिल्ममा अरुण, शुभेच्छा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया(काजु)को अभिनय छ।

सामर्थ्यविक्रम थापाको कार्यकारी निर्माण रहेको फिल्ममा सुशान्त गौतमको सङ्गीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत, अमिषा शाहीको मेकअप, मेघराज पौडेलको प्रोडक्सन, डुकराज घिमिरेको कला, कृष्णबहादुर थापाको सहायक छायाङ्कन, कुलदीप शर्मा, जगदिश न्यौपाने र अनुप केसीको सहायक निर्देशन छ।

फिल्ममा चन्द्र भट्टराईको प्रमुख सहायक निर्देशन, अमित श्रेष्ठको ब्याकग्राउण्ड स्कोर र ५.१ मिक्सिङ, शैफुद्दीन कादर मोहम्मदको क्रिएटिभ हेड, रिवाज कार्की र गडरेज पिक्चरको भीएफएक्स, कृष्ण भण्डारीको सम्पादन तथा रङ्ग संयोजन र महेश पौडेल (WICA)को डीओपी छ।

पौडेल ‘मञ्जरी’ र ‘रणवीर’का पनि डीओपी हुन्।

फिल्मलाई उपत्यकामा जीजीए ग्रुप र उपत्यकाबाहिर एफडी कम्पनीले वितरण गर्दैछ।

२० माघ, २०७९, १२:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।