एप्पलको बिक्री पाँच प्रतिशतले कम, नाफा १३ प्रतिशत घट्यो

एप्पलको बिक्री पाँच प्रतिशतले कम, नाफा १३ प्रतिशत घट्यो

एजेन्सी: स्मार्टफोन निर्माता कम्पनी एप्पलका उत्पादनहरूको बिक्री पाँच प्रतिशतले घटेको छ। सन् २०२२ को अन्तिम तीन महिनामा सन् २०२१ को सोही अवधिको तुलनामा एप्पलका उत्पादनको बिक्री पाँच प्रतिशत घटेको हो।

'कस्ट अफ लिभिङ' अर्थात् जीवनयापन गर्ने खर्चको वृद्धि भएसँगै खरिदकर्ताहरूको प्राथमिकता बदलिएकाले बिक्री घटेको बताइएको छ। सन् २०१९ यताकै यो सबैभन्दा ठूलो गिरावट हो। र, अपेक्षितभन्दा पनि खराब हो।

धेरै फर्महरूले तीव्र आर्थिक मन्दीको बारेमा चेतावनी दिएपछि यो सूचना आएको हो। विशेष गरी प्राविधिक क्षेत्रमा महामारीको समयमा मन्दी बढेको थियो।

एप्पलका सञ्चालक टिम कुकले फर्मले "चुनौतीपूर्ण वातावरण" अध्ययन गरिरहेको बताएका छन्। बिक्री घट्नुमा आइफोन उत्पादन हुने चीनमा कोभिड- १९ का कारण आपूर्ति अभाव हुनु मुख्य कारण रहेको उनले बताएका छन्। यस्तै डलर बलियो हुनु, मूल्यवृद्धि हुनु, युक्रेनमा युद्ध हुनु र महामारीको प्रभावलाई उनले कारण मानेका छन्।

'विश्वले अभूतपूर्व परिस्थितिहरूको सामना गरिरहँदा ...हामीलाई थाहा छ एप्पल यसबाट अछुतो छैन', उनले भने।

एप्पलका अनुसार विश्वभरि नै बिक्री घटेको छ। र, यसले आइफोनसहित अन्य उत्पादनमा पनि असर गरेको छ। आइफोनको बिक्री आठ प्रतिशतले घटेको छ। यस्तै म्याक कम्प्युटरको बिक्री २९ प्रतिशतले घटेको छ।

यसले एप्पलको नाफामै असर गरेको छ। १३ प्रतिशतले नाफा घट्दै हाल ३० बिलियन डलरमा पुगेको छ।

२० माघ, २०७९, १०:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।