माओवादीको स्थायी कमिटी बैठक बस्दै, गृहमन्त्री चयनबारे छलफल हुने

माओवादीको स्थायी कमिटी बैठक बस्दै, गृहमन्त्री चयनबारे छलफल हुने
फाइल तस्बिर

काठमाडौं: माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ।

आजको बैठकको मुख्य अजेण्डामा गृहमन्त्रीको चयनदेखि राष्ट्रपति निर्वाचनसम्म छन्। यस्तै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जानकारी गराइएको छ।

यसअघि बिहीबार बसेको स्थायी कमिटी बैठकपछि पार्टीका प्रवक्ता कृष्णबहादुर महराले रवि लामिछानेको विषयमा मुद्दा अझै नसकिएको र फैसलाको पूर्णपाठ नआएकाले राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्य गर्नुपर्ने बताएका थिए।

गृह मन्त्रालय नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने, सरकारबाटै बाहिरिने भन्दै रास्वपाले सरकारलाई दुई दिनको अल्टिमेटम दिएको छ। यता प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भने गृह मन्त्रालय रास्वपालाई नदिने पक्षमा देखिएका छन्। कम्तीमा मुद्दाको टुङ्गो नलागेसम्म रास्वपालाई गृह मन्त्रालय नदिने अडानमा छन् उनी।

२० माघ, २०७९, ०७:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।