सांसद चौधरीलाई रिहा गर्न नागरिक उन्मुक्ति पार्टीकाे २४ घण्टे अल्टिमेटम

सांसद चौधरीलाई रिहा गर्न नागरिक उन्मुक्ति पार्टीकाे २४ घण्टे अल्टिमेटम

कैलाली : अदालतले ६ महिना कैद फैसला गरेर फरार रहेका नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सांसद अरुण चौधरीलाई रिहा गर्न पार्टीले २४ घण्टे अल्टिमेटम दिएको छ।

बाँकेको कोहलपुरबाट पक्राउ परेका सांसद चौधरीको रिहा गर्न सरकारलाई पार्टीका प्रवक्ता दामोदर पण्डितले विज्ञप्ति जारी गर्दै अल्टिमेटम दिएका हुन्।

पण्डितले जारी गरेको विज्ञप्तिमा २४ घण्टाभित्र रिहा नगरे त्यसपछि घट्ने घटनाको दोषी सरकार र सम्बन्धित निकाय हुने चेतावनी दिइएको छ।

माघ १६ गते उकेराले नागरिक उन्मुक्तिका सांसद अरुण आगजनीमा ६ महिना कैद सजाए पाएका दोषी भएको समाचार प्रकाशित गरेपछि उनी बिहीबार पक्राउ परेका थिए। उनी विगत १३ वर्षदेखि प्रहरीकाे फरार सूचीमा थिए।

उकेराको खोजविनमा अदालतले दोषी ठहर गरेका अरुण र कैलाली २ का सांसद अरुण एकै व्यक्ति भएको पुष्टि भएको छ।

निर्वाचन आयोगमा बुझाएको विवरणमा उनको स्थायी ठेगाना कैलाली लम्की चुहा नगरपालिका गिधिनिया उल्लेख छ। २०७० वैशाख ९ मा जिल्ला अदालत कैलालीका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासबाट फैसलामा उल्लेख गरिएको अरुणको ठेगाना पनि उही हो।

फरार दोषीहरूको खोजी सम्बन्धी प्रहरी रेकर्डमा पर्शुराम चौधरीको मात्र नाम छ। उनको बाबुको नाम करिंगा चौधरी उल्लेख छ। आयोगमा रहेको विवरणअनुसार अरुणको बाबुको नाम पनि करिंगा चौधरी नै हो। पर्शुराम उनको दाइ हुन्।

आयोगको विवरणमा उनको नाम अरुन लेखिएको छ। अदालतको फैसलामा अरुण। तर उनको नाम अरुण हो भन्ने सिद्धार्थ बैंकले उनी र उनको श्रीमतीको नाममा निकालेको सूचनामा उल्लेख भएको विवरणले समेत पुष्टी गर्छ।

पर्शुराम र अरुणले २०६६ भदौ ३ गते लु. २ त. २११ नम्बरको को ट्याक्टर जलाएको पुष्टि भएको थियो। साजन चौधरीले ट्याक्टर चलाएर ढुङ्गा लिन चिसापानीमा रहेको गोराङ्गा खोलामा गएका थिए। उनीहरूले ढुङ्गा लोड गरेर लम्कीतर्फ आउने क्रममा साँझतिर बलिया–८ धोबेनी खोला स्थित सडकमा १० जना जतिले नियन्त्रणमा लिएर ट्याक्टरमा आगो लगाइदिएका थिए।

सरकारी रेकर्डमा उनी २०६६ सालमा जाहेरी दर्ता भएदेखि नै नै फरार छन्। अभियोग पत्र दर्ता भएपछि पनि उनी अदालतमा हाजिर भएनन्। कैद सजाय र जरिवाना तोकिदा समेत उनको खोजी भएन।

तर व्यवहारमा भने उनी खुलमखुल्ला ९ वर्ष अगाडि २०७० वैशाख ९ मा जिल्ला अदालत कैलालीले २०६९ भदौ ३ गते साँझ ६ : ४५ बजे चिसापानीबाट लम्कीतर्फ आएको लु. २ त. २११ नम्बरको ट्याक्टरलाई अरुणसहितले रोकी चालकलाई कुटपिट गरेर ट्याक्टरमा पेट्रोल छर्केर आगो लगाएको देखिएको ठहर गर्यो।

सो घटनामा ८ लाख ७५ हजार बराबरको बिगो नष्ट भएको अदालतको ठहर छ। फैसलामा जाहेरी दरखास्त परेकोमा मौकामा कागज गर्ने गजेन्द्र शाही समेतले अनुसन्धान अधिकारी समक्ष मौकामा कागज गरी आगो लगाउने मुख्य अरुण चौधरी र वीर बहादुर चौधरी समेतका व्यक्तिहरू हुन भनेका थिए।

पर्शुराम चौधरीले अनुसन्धान अधिकारी समक्ष मौकामा बयान गरी कसुर अपराधमा इन्कारी गरेपछि जिम्मा जमानीमा छुटेका थिए। तर अभियोग पत्र दर्ता गर्दा फरार उल्लेख गरियो।

अदालतबाट तीन जनाको नाममा म्याद जारी हुँदा पनि अदालतमा हाजिर हुन नआई कसुर अपराधलाई स्वीकार गरी बसेको भन्दै पर्शुराम, अरुण र वीरबहादुर चौधरी समेतले आगो लगाएको कसुर गरेको ठहर भई थियो।

अरुणसहित तीनै जना दोषी ठहर भए पनि पछि कोही पक्राउ परेका थिएनन्। अरुण मङ्सिर ४ को निर्वाचनमा कैलाली २ बाट नागरिक उन्मुक्ति पार्टीको उम्मेदवार बनेर विजयी भए। उम्मेदवारी दर्तादेखि विजयी प्रमाणपत्र लिनसम्म उनी आफैँ सहभागी थिए।

१९ माघ, २०७९, २०:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।