बहिष्कार र विवादपछि विकास बोर्डको प्रष्टीकरण : सूर्य कर्पोरेशनलाई व्यवस्थापकीय जिम्मा दिइएको हो, ३० लाख होइन

बहिष्कार र विवादपछि विकास बोर्डको प्रष्टीकरण : सूर्य कर्पोरेशनलाई व्यवस्थापकीय जिम्मा दिइएको हो, ३० लाख होइन

काठमाडौं : पोस्टरमा नाम र तस्बिर राखिएका चलचित्र र कलाकारहरूले नै धमाधम बहिष्कार र विरोध गर्न थालेपछि चलचित्र विकास बोर्डले ठगीमा संलग्न देखिएको सूर्य कर्पोरेसन प्रालिलाई ३० लाख रूपैयाँ नदिएको बताएको छ।

शुक्रबार विज्ञप्ति निकालेर बोर्डका चलचित्र संग्रहालय, सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईंले  युएईको दुबईमा हुने नेपाल सिनेमा फेस्टका लागि बोर्डले ३० लाख रुपैयाँ छुट्याएको भए पनि सूर्य कर्पोरेशनलाई नदिएकाे स्पष्ट पारेका हुन्।

लगभग ४० सहभागीहरूको हवाई टिकट, भिसा, होटल बसोबास, कार्यक्रम हलमा हुने खर्चहरूका लागि बोर्डले उक्त रकम विनियोजन गरेको र त्यो बोर्डले सोझै सम्बद्ध निकायलाई भुक्तानी गर्ने गुरागाईंले बताए।

सूर्य कर्पोरेशन विवाद: पोस्टरमा तस्बिर छ, सम्बन्धित व्यक्तिलाई न निम्तो न जानकारी

‘नेपाली सिनेमा र पर्यटनलाई विश्वमाझ लैजाने’ नारा दिइएको फेस्टको आयोजक चलचित्र विकास बोर्ड नै रहेको र व्यवस्थापकीय जिम्मा मात्र सूर्य कर्पोरेशन प्रालिलाई दिइएको बोर्डको भनाइ छ।

उसले कर्पोरेशनसँग सहकार्य नगरेकोसमेत स्पष्ट पारेको छ। कर्पोरेशनले बोर्डले विनियोजन गरेको ३० लाख बजेटबाहेकका अन्य व्यवस्थापकीय जिम्मेवारी लिने विज्ञप्तिमा उल्लेख छ।

दुबई फेस्ट विवादमा परेपछि  कला सम्बन्धी कार्यक्रमको आवरणमा ठगीमा मुछिएको सूर्य कर्पोरेशनले झुट बोल्यो

यसअघि तीन चलचित्र प्रदर्शन गर्ने भनिएको फेस्टमा दुई चलचित्रको बहिष्कार गरेपछि अहिले ‘ऐना झ्यालको पुतली’ र ‘कबड्डी ४’ मात्र देखाइने भएको छ। यसअघि ‘महापुरुष’ चलचित्रलाई पनि फेस्टमा देखाइने भनिए पनि चलचित्र निर्माण टिमसँग भने बोर्डले समन्वय नै नगरेको पाइयो।

फेस्ट माघ २९ गतेदेखि फागुन ३ गतेसम्म हुनेछ।

सम्बन्धित समाचार:

१९ माघ, २०७९, १८:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।