रास्वपाले समर्थन फिर्ता नलिने प्रधानमन्त्रीकाे विश्वास, भने- ‘केही हुँदैन’

रास्वपाले समर्थन फिर्ता नलिने प्रधानमन्त्रीकाे विश्वास, भने- ‘केही हुँदैन’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी समर्थन फिर्ता नलिने विश्वास व्यक्त गरेका छन्।

बिहीबारको स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले राजनीतिक समीकरण फेरबदल नहुने बताए।

राजनीतिक समीकरण फेरबदल हुन लागेको हो भन्ने प्रश्नको जवाफमा उनले भने, ‘होइन, होइन, त्यस्तो केही हुँदैन। समर्थन फिर्ता पनि लिनुहुन्न मैले बुझेसम्म।’

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक अहिले पार्टी कार्यालय, बसुन्धारामा बसिरहेको छ। बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल हुने बुझिएको छ।

यसअघि पार्टी सभापति रवि लामिछानेले आफूलाई गृहमन्त्रीमा नियुक्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरे पनि प्रधानमन्त्रीले फैसलाको पूर्णपाठ नआउँदासम्म कुर्न भनेका थिए।

रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता सक्रिय गराउने प्रक्रिया नपुर्याएको सर्वोच्च अदालतको संवैधानिक इजलासले गत शुक्रबार ठहर गरेपछि उनको पार्टी सभापति, सांसद् र मन्त्री पद गएको थियो।

तर, आइतबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट प्रक्रिया पुर्याएर नागरिकता लिएसँगै उनले पार्टी सभापति पदमा भने बहाल भइसकेका छन्।

१९ माघ, २०७९, १७:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।