माओवादीले भन्यो– ‘राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्य गर्नुपर्छ’

माओवादीले भन्यो– ‘राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्य गर्नुपर्छ’

काठमाडौं : माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्य गर्नुपर्ने बताएका छन्।

बिहीबारको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रवक्ता महराले रवि लामिछानेको विषयमा मुद्दा अझै नसकिएको र फैसलाको पूर्णपाठ नआएकाले धैर्य गर्नुपर्ने बताए।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्यता गर्नुपर्छ,’ उनले भने, ‘सभापति रवि लामिछानेको मुद्दाको अझै पूर्णपाठ आएको छैन, मुद्दा पनि सकिएको छैन अनि मन्त्रीमण्डलमा के गर्ने भन्नेबारे निर्णय हुन बाँकी नै छ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता साझेदार दलहरूबीच भएको सहमतिअनुसार स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिनुपर्ने बताइरहँदा त्यसलाई पनि माओवादी सामान्य रूपमा लिएको उनले बताए।

उनले अगाडि थपे, ‘उहाँ (ओली)को भनाइले सत्ता साझेदार दलमा समस्या पैदा भएको छैन।’

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले रवि लामिछानेको नागरिकता अवैध भएको ठहर गरेपछि सांसद् र मन्त्री पद गुमाएका सभापति रवि लामिछाने अहिले आफूलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न प्रधानमन्त्रीलाई दबाब दिइरहेका छन्।

तर प्रधानमन्त्री पुष्पकमल दाहाल भने अदालतको आदेशको पूर्णपाठ कुरेर बसेका छन्। पूर्णपाठ नआएसम्म गृह मन्त्रालय आफूसँगै रहने उनले बताइसकेका छन्।

१९ माघ, २०७९, १६:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।