अभिनेत्री साम्राज्ञीसँगको दुश्मनीले ‘ह्यारीकी प्यारी’को प्रिमियरमा गएनन् बोर्ड अध्यक्ष केसी

अभिनेत्री साम्राज्ञीसँगको दुश्मनीले ‘ह्यारीकी प्यारी’को प्रिमियरमा गएनन् बोर्ड अध्यक्ष केसी

काठमाडौं: चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहसँगको व्यक्तिगत दुश्मनीका कारण ‘ह्यारीकी प्यारी’ काे प्रिमियरको निमन्त्रणा अस्वीकार गरेका छन्।

फिल्मका निर्माता, लेखक तथा डीओपी सुदिप बरालले साम्राज्ञीसँगको व्यक्तिगत दुश्मनीकै कारण बोर्ड अध्यक्ष भुवनले प्रिमियरको निम्तो अस्वीकार गरेको बताए।

उनले भने, ‘बोर्डको अध्यक्ष भएपछि उहाँले व्यक्ति हेर्नु हुन्न होला भनेर निमन्त्रणा दिन गइयो। तर निमन्त्रणा गर्ने बित्तिकै म जाँदिन भनेर भन्नुभयो।’

‘यदि एउटामा गए अर्कोमा जानुपर्ने बाध्यता अथवा व्यस्तता केहि थियो भने पनि प्रतिनिधि पठाउँला, म व्यस्त छु भन्न सक्नुहुन्थ्यो। तर सिधै यो फिल्म हेर्दिन भन्ने खालको आसयले जवाफ फर्काउनुभयो। उहाँको बोलीमा साम्राज्ञीसँगको दुश्मनी झल्कन्थ्यो,’ सुदिपले बताए।

ह्यारी कि प्यारी फिल्मको लेखक समेत रहेका सुदिपले भने, ‘भुवन दाइको क्यापटेन फिल्ममा म आफै‌ंले डीओपी भएर काम गरें, उहाँसँग राम्रो सम्बन्ध छ। फिल्मका निर्देशक तथा पटकथाकार कपिल रिजालसँग र मुख्य कलाकार जितु नेपालसँग पनि उहाँको राम्रो सम्बन्ध छ। यति धेरै राम्रो सम्बन्ध देख्नुभएन, एउटा नराम्रो सम्बन्ध मात्रै देख्नुभयो।’ 

भुवनकै फिल्म ड्रिम्सबाट डेब्यु भएकी कलाकार हुन्, साम्राज्ञी आरएल राणा। कोभिड-१९ को समयमा भने उनले फिल्ममा आफू दुर्व्यवहारमा परेको बताएकी थिइन्।

सुरुमा साम्राज्ञीले नाम नखुलाइ सामाजिक सञ्जालमा अभिव्यक्ति दिएकी थिइन्। तर भुवन आफैंले जुन थालमा खायो त्यही थालमा प्वाल पारेको अभिव्यक्ति दिएपछि उनिहरु खुलेरै आरोप प्रत्यारोपमा उत्रिएका थिए।

यसपछि आक्रोशमा आएर भुवनले आफूमाथि मानहानि भएको भन्दै अदालतमा मुद्दा समेत दायर गरेका थिए। त्यस मुद्दाको सुनुवाइ अहिलेसम्म भएको छैन।

१९ माघ, २०७९, १६:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।