‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

प्रदीपकुमार मैनाली अर्थशास्त्री हुन्। पछिल्लो समयको चर्चित गजल 'के लत बस्यो मलाई' ले भने उनलाई गजलकारको रूपमा स्थापित गरिदियो। तर, साहित्यमा उनी नौला भने थिएनन्। बस्, यत्तिको चर्चा भएको थिएन।

दोलखाको कालिञ्चोक सुन्द्रावतीका प्रदीप तीन जना दिदी र तीन बहिनीको बीचमा जन्मिए। त्यसैले उनलाई सबैले 'कि यसले उपद्रो गर्छ कि यो अकालमा मर्छ। कि यो राजा हुन्छ कि जोगी भएर हिँड्छ। यसरी हिँडेन भने यसले ठूलै नाम कमाउँछ', भन्ने गर्दथे।

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे।

रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी कोदो अट्ने ढुकुटीमा आधा मात्र कोदो रहेछ। जसमा माथिबाट गुन्द्रीले उनले आफूलाई छोपेछन्।

पौडी खेल्न खोला-खोला धाउँथे। काफलको बोटमा चढेर काफल टिप्न प्रतिस्पर्धा गर्थे। यस्तै उपद्रो गर्दा भीरबाट लडेर खोलामा खस्दा आफ्नो ढाड समेत भाँचेका रहेछन् उनले।

घरसँगको लुकामारी

प्रदीप विद्रोही स्वभावका थिए। घरमा उनको स्वभाव कसैलाई मन पर्दैन थियो। त्यसैले प्रदीप घर छाडेर हिँडे। दोलखाबाट सिन्धुपाल्चोकको बाह्रबिसे बजारसम्मै हिँडे।

उनी भन्छन्, 'बाह्रबिसे बजारमा आएर फूपूको घरमा बसेँ। त्यहाँबाट काठमाडौं पनि आएँ। तर पछि फेरि घर नै फर्केर गएँ।'

काठमाडौंबाट फर्केपछि भने उनी सिधै घर छिर्न सकेनन्। भागेर बाह्रबिसे गएकोमा घरका मान्छेले गाली गर्छन् भन्ने डरले उनी पाँच दिनसम्म घरअगाडिको रुखमा लुकेर बसेछन्। रुखलाई सिंगटाको लहराले झ्याम्म छोपेको थियो त्यसैले अरूले देखेनन्।

उनी भन्छन्, 'रातभर त्यहीँ बस्थेँ। दिउँसो घरका मान्छे दायाँबायाँ लागेपछि घरमा छिर्थेँ। घ्यू, दही खान्थेँ। मकै भटमास भुट्थेँ र त्यही रुखमा बसेर खान्थेँ।'

रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी कोदो अट्ने ढुकुटीमा आधा मात्र कोदो रहेछ। जसमा माथिबाट गुन्द्रीले उनले आफूलाई छोपेछन्।

आमाले बेलुकी दूध तताएर उनी भएकै तलामा ल्याएर राख्ने गर्थिन्। प्रदीप त्यही पिउँथे। 'त्यतिबेला घरमा बिरालाले दुःख दियो भन्थे। चोर पस्यो भन्थे', उनले भने।

उनी ढुकुटीभित्र बस्दाबस्दै तिहार आएको थियो। लक्ष्मी पूजाको दिन घरमा रोटी पकाउन भ्याइ नभ्याई थियो। उनलाई भने रोटीको खारले छटपट भइरहेको थियो।

'१२ बजेतिर बल्ल रोटी पकाएर सकाए। आमाहरू खै कताकता लागे तर रोटी पकाएर राखेको डालो भने म बसेको ढुकुटीमा राखे। जे होस् मैले त्यो दिन मज्जाले रोटी खान पाएँ', उनले भने।

'विद्यालयमा रानी ऐश्वर्यको जन्मोत्सवको अवसरमा कविता प्रतियोगिता राखिएको थियो। जसमा मेरो कविता तेस्रो भएको थियो',  उनले भने।

उनले त्यस दिन पूजामा राखेको फलफूल पनि खाए। तर भोलिपल्ट त घरमा कसले यस्तो उपद्रो गर्यो भनेर झगडा सुरु भयो।

'कोही छेद पस्यो भनिरहेका थिए। कोही खै के के भनिरहेका थिए। जे होस् म ढुकुटीभित्रै थिएँ। त्यो दिन कोदो लिन भनि घरमा एक मान्छे आइपुगेछन्। बुबाले कोदो निकाल्न खोज्दा मलाई त्यहाँ देखेर तर्से। त्यसपछि म कसैबाट लुक्न सकिनँ र आफ्नो दुःखको सबै नालिबेली सुनाइदिएँ', प्रदीपले भने।

साहित्यिक यात्रा

१० वर्षको उमेरदेखि नै साहित्य लेखन थालेका प्रदीपले पाँच कक्षा पढ्दा पहिलो पटक कविता लेखेका थिए। 'विद्यालयमा रानी ऐश्वर्यको जन्मोत्सवको अवसरमा कविता प्रतियोगिता राखिएको थियो। जसमा मेरो कविता तेस्रो भएको थियो',  उनले भने।

एसएलसीपछि बुवाले दिएको तीन सय रुपैयाँ बोकेर उनी काठमाडौं आए। अनि पढाइमा जोड दिन थाले। दिनभरको होटलको कामकाज र पढाइबाट बाँकी रहेको समय उनी फाट्टफुट्ट लेख्ने गर्थे।

उनी यो गजल आफ्नो जीन्दगीको भोगाइ भएको बताउँछन्। स्रोताले जुन अन्दाजमा बुझ्न खोज्छन्, त्यही अर्थमा बुझ्न सक्ने उनी बताउँछन्।

केही दिनदेखि उनको यो गतिविधि एक इटालियनले नियालिरहेका रहेछन्। उनमा दया जागेछ। ती विदेशीले उनलाई आफ्नो देश लगेर पढाइदिने इच्छा व्यक्त गरेछन्। अनि प्रदीप उच्च शिक्षा हासिल गर्न विदेशतिर लागेछन्।

विदेश पुगे पनि पढाइ पूरा गर्न भने पाएनन् उनले। त्यसपछि नेपालै फर्केर पीएचडीसम्म पढे। सँगै कविता, गजल र गीत पनि लेख्थे।

छैन चर्चाको लोभ

'के लत बस्यो मलाई' गजल प्रदीपले तीन वर्षअगाडि नै लेखेका थिए। फेसबुकमा शेयर पनि गरेका थिए।

मोती (मोतीराम भट्ट) जयन्तीको अवसरमा राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रममा यो गजल सुनाएपछि उनलाई धेरैले उक्त गजल रेकर्ड गर्न सुझाएका थिए।

उनी यो गजल आफ्नो जीन्दगीको भोगाइ भएको बताउँछन्। स्रोताले जुन अन्दाजमा बुझ्न खोज्छन्, त्यही अर्थमा बुझ्न सक्ने उनी बताउँछन्।

प्रदीपका कतिपय गजल धेरैले आफ्नै नाममा छपाउने, वाचन गर्ने गर्दा रहेछन्। तर उनी थाहा नपाएझैँ गर्छन्। प्रतिस्पर्धाको दुनियाँमा गुमनाम बनेर लेख्नुको मज्जा छुट्टै छ जस्तो लाग्छ उनलाई।

कतिपयले 'रसिक गीत' त कतिपयले 'प्रेमिल गीत' भने पनि खासमा आफूले जीवनको वास्तविकता प्रकट गरेको उनी सुनाउँछन्। 

'जीवनको सङ्घर्षको क्रममा मलाई खुशी धेरै नटिकेको अनुभव हुँदा मैले सुरूमा 'साथी रहेछ दुःख हरपल सवार हुन्छ' भावलाई व्यक्त गरेको थिएँ', उनले भने।

यो गजल लेख्न सात दिन लगाएका रहेछन् उनले। गजल पूरा गर्न निकै मेहनत गरेको उनको अनुभव छ। लेखिसकेपछि धेरै सन्तुष्ट महसुस गरेको सम्झना छ उनलाई। 

गजल अब सम्पूर्णरूपले श्रोताको भइसकेको भन्दै आफूले थप व्याख्या गर्न खोज्दैनन् उनी।

प्रदीपलाई लाग्छ निरन्तर साधना गरिरहने व्यक्तिका लागि सफलता आफैँ पछ्याउँदै आउँछ। आफ्नो लवाइखुवाइलाई देखेर, आफ्नो स्वभावलाई देखेर कुरा काट्नेहरूका लागि आफूले एउटै गजलबाट राम्रो जवाफ फर्काउन सफल भएकोमा उनी खुशी छन्।

प्रदीपका कतिपय गजल धेरैले आफ्नै नाममा छपाउने, वाचन गर्ने गर्दा रहेछन्। तर उनी थाहा नपाएझैँ गर्छन्। प्रतिस्पर्धाको दुनियाँमा गुमनाम बनेर लेख्नुको मज्जा छुट्टै छ जस्तो लाग्छ उनलाई।

गुमनाम पेलालाई पछ्याउने यात्रा
आफ्नो गजललाई कसैले सुमधुर स्वर भरिदियोस् भनेर प्रदीप थुप्रै सङ्गीतकारसम्म पुगे। तर उनलाई कसैले 'पछि गरौँला' भनेर टारिदिन्थे। कतिसँग चाहिँ चित्त नबुझेर उनी आफैँ टाढिन्थे।

यही क्रममा दुई वर्षअघि उनले युट्युबमा गायक तथा सङ्गीतकार तिलकसिंह पेलाको गीतहरू सुने। उनी मन्त्रमुग्ध भए। त्यसपछि सुरु भयो पेलालाई पछ्याउने यात्रा।

प्रदीपले आफ्नो एक नजिकको साथीसँग पेलाबारे कुरा गरे। नम्बर मागे। थाहा पाए- पेला त २०५३-५४ सालतिरै चर्चा पाइसकेका गायक हुन्। तर त्यो चर्चापछि उनी गुमनाम छन्।

चर्चापछि पनि गुमनाम बस्न रुचाउने पेलाको साधनाले मैनालीलाई झन्-झन् आकर्षित गर्यो ।

खासै अरूको गजल वाचन नगर्ने पेलाको स्वभावबाट परिचित हुँदै गएपछि प्रदीपले उनलाई ख्यालख्यालमै 'मेरो गजल गाइदिनु पर्योस' भन्थे। पेला भने आफ्नो शिष्यहरूबाट रेकर्ड गराउन सुझाव दिन्थे।

'मलाई यो सबै कुराको केही अपेक्षा नै थिएन। दुःखी हुने त कुरै छैन। तर म अचम्ममा पनि परेको छैन। यत्ति हो कि साधक र सर्जकले जस्तो चर्चा पाउनु पर्ने हो त्यो पाएको देख्दा भने खुशी हुनुपर्छ कि भन्ने लागेको छ', उनले भने।

अनि प्रदीपले पेलालाई साथी बनाए। बाक्लै भेटघाट गर्न थाले। आफ्नो गजल गाउने वातावरण मिलाउन थाले। लामो प्रतीक्षापछि पेलामार्फत् गलज गाउने सपना पूरा गरे।

गजल चर्चित हुनुको श्रेय पेलालाई बढी जान्छ कि तपाईंलाई भन्ने प्रश्नमा उनी जवाफ दिन्छन्, 'शब्द आफ्नो ठाउँमा हुन्छन्। तिनलाई सुमधुर आवाज र कर्णप्रिय सङ्गीतका माध्यमबाट श्रोतामाझ पुर्याजउने कामको महत्त्व झन् ठूलो छ जस्तो लाग्छ। मैले त्यस रचनाको सिर्जना मात्रै गरेको हुँ। म यस गजलको क्रेडिट उहाँलाई नै दिन्छु। उहाँको साधनाबिना यो सफलता सम्भव नै थिएन। म आफ्नो गजलभन्दा पनि उहाँको बढ्दो लोकप्रियताले बढी खुशी छु।'

पेशागत हिसाबले प्रदीप अनुसन्धानात्मक काममै घोत्लिन्छन्। तर मनका कुरा मनभित्रै राख्न नसक्दा भने आफूले कविता र गजलमार्फत् तिनलाई अभिव्यक्त गर्ने गरेको उनको भनाइ छ।

उनी अलि भावुक स्वभावका छन्। 'साहित्यिक स्वभाव' भएर हो कि भन्ने उनको अनुमान छ। 

प्रदीप आफूले अहिलेको जस्तो चर्चाको कुनै अपेक्षा नै नगरेको बताउँछन्। 'मलाई यो सबै कुराको केही अपेक्षा नै थिएन। दुःखी हुने त कुरै छैन। तर म अचम्ममा पनि परेको छैन। यत्ति हो कि साधक र सर्जकले जस्तो चर्चा पाउनु पर्ने हो त्यो पाएको देख्दा भने खुशी हुनुपर्छ कि भन्ने लागेको छ', उनले भने।