गृह मन्त्रालय रास्वपाले नै पाउँछ, सरकार स‍ंकटमा पर्दैन : केपी ‌ओली

गृह मन्त्रालय रास्वपाले नै पाउँछ, सरकार स‍ंकटमा पर्दैन : केपी ‌ओली

काठमाडौंः रवि लामिछानेले गृहमन्त्री पद फेरि आफूले नपाए सरकार छाड्ने चेतावनी दिएसँगै सत्ता गठबन्धन धरापमा पर्ने देखिएकाेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने आफूलाई त्यस्ताे नलागेको बताएका छन्।

आज विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै उनले याे गठबन्धन संकटमा नपर्ने बताएका हुन्।

‘याे सरकार संकटमा पर्छ जस्तो मलाई लाग्दैन,’ उनले भने, ‘खासमा हाम्राे शासन प्रणालीमै अस्थीरता रहेकोले प्रजातन्त्र प्राप्तिपछिका सरकार पूर्ण कार्यकालसम्म नचलेकाे हाे।’

उनले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले नै पाउँने पनि बताएका छन्।

‘गृह मन्त्रालय रास्वपालाई नै दिइएको हो। यसका लागि अदालतको पूर्णपाठ किन चाहियो,’ उनले भने, ‘रास्वपाले रवि लामिछानेलाई नै गृहमन्त्री बनाउँछ भने यसमा अरूलाई के को टाउको दुखाइ?’

हाल गृह मन्त्रालयसँगै राष्ट्रपति चुनावका लागि सरकारमा रहेका गठबन्धन दलहरुबीच नै मतभेद सुरु भएपछि सरकार संकटमा पर्ने अनुमान गरिएको छ।

रवि लामिछानेले भने नागरिकता पुनः प्राप्त गरेपछि गैर सांसदको रूपमा आफैँलाई गृहमन्त्री बनाउन दबाब बढाएका छन्।

गठबन्धन गर्दाको सर्तअनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको भएकाले यसमा तलमाथि नगरी कसलाई गृहमा पठाउने त्यसको निर्णय पार्टीलाई गर्न दिन रविले आग्रह गरेका थिए।

यस्ताे नभएमा रास्वपा सरकारबाट बाहिरिन सक्ने चेतावनी पनि उनले दिएका थिए। उता ओली पनि गृह मन्त्रालय रास्वपाको भागमा परेकाले उसैलाई दिनुपर्ने पक्षमा छन्।

तर पुनः रविलाई नै गृहमन्त्री बनाउने कुरामा प्रचण्ड भने सकारात्मक नभएकाे बताइएकाे छ। संवैधानिक इजलासको फैसलाको पूर्णपाठ नआएको र दोहोरो राहदानी प्रयोग लगायतका विषय अझै अनुसन्धानमै रहेकाले प्रचण्ड रविलाई नै गृहमन्त्री बनाउन अलमलिएका हुन्।

१९ माघ, २०७९, १३:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।