भारतको कीर्तिमानी जितमा गिलकाे शतक, तोडे कोहलीको रेकर्ड

भारतको कीर्तिमानी जितमा गिलकाे शतक, तोडे कोहलीको रेकर्ड

एजेन्सीः भारतले न्युजिल्यान्डसँगको तेस्रो टि-२० खेलमा कीर्तिमानी जित निकालेको छ। तीन खेलको सिरिजको अन्तिम म्याचमा भारतले न्युजिल्यान्डलाई १६८ रनको फराकिलो अन्तरले हरायो।

भारतले टि-२० अन्तर्राष्ट्रिय इतिहासमा यति ठूलो रन अन्तरको जित हात पारेको यो नै पहिलो पटक हो। सिरिजको पहिलो खेल हारेको भारतले यो जितसँगै सिरिजको उपाधिमा पनि कब्जा जमायो।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा मात्र ४ विकेट गुमाउँदै २३४ रनको विशाल योगफल बनाएको थियो।

जसका लागि शतकीय इनिङ खेलेका शुभमन गिलले विष्फोटक ब्याटिङ गर्दै अविजित १२६ रनको योगदान दिए। उनले मात्र ६३ बलमा १२ चौका र ७ छक्काको सहयोगमा यो कीर्तिमानी स्कोर बनाएका थिए।

टि-२० अन्तर्राष्ट्रिय खेलमा पहिलो शतक प्रहार गरेका गिलले भारतका लागि यस फर्म्याटमा सबैभन्दा बढी रन हान्ने विराट कोहलीको रेकर्ड तोडेका छन्।

कोहलीले यसअघि टि-२० अन्तर्राष्ट्रिय खेलमा भारतका लागि अफ्गानिस्तानसँग सर्वाधिक १२२ रन हानेका थिए।

यसपछि जितको लागि २३५ रनको विशाल विजय लक्ष्य पछ्याएको न्युजिल्यान्ड खेलमा मात्रै ६६ रनमा अलआउट भएकाे थियो।

१९ माघ, २०७९, १२:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।