लुम्बिनीको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ, प्रदेश सभाको बैठक भोलि बस्दै

लुम्बिनीको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ, प्रदेश सभाको बैठक भोलि बस्दै

बुटवल: लुम्बिनी प्रदेश सभाको बैठक माघ २० गते शुक्रबार बस्ने भएको छ। सभामुखको निर्देशनअनुसार पहिलो अधिवेशनको पाँचौँ बैठक माघ २० गते बस्ने भएको प्रदेश सभा सचिवालय सचिव दुर्लभकुमार पुनले जानकारी दिए।

लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम १२ को उपनियम ९३० बमोजिम दिउँसो १ बजे बैठक आह्वान गरिएको छ।

यता प्रदेश सरकार विस्तारमा भने ढिलाइ भइरहेको छ। मुख्यमन्त्रीमा लीला गिरी नियुक्त भएको करिब एक महिना हुन लाग्दा समेत सरकार विस्तार भएको छैन।

गत पुस २७ गते गिरी मुख्यमन्त्री नियुक्त भएका थिए। उनले २८ गते दुई जना मन्त्रीसहित शपथ लिएका थिए। तर, ती दुई मन्त्री पनि अहिलेसम्म बिनाविभागीय नै छन्।

यस्तै खर्च कटौतीका लागि भन्दै प्रदेशमा अब १० वटा मन्त्रालय मात्र बनाइने भएको छ। राज्यमन्त्री पद नराखिने भएको छ।

यसअघि प्रदेशमा चार राज्यमन्त्री समेत गरी १७ सदस्यीय मन्त्रिमण्डल थियो। अब मुख्यमन्त्रीसहित १० जनाको मन्त्रिमण्डल रहने भएको छ।

सोही आधारमा मन्त्रिपरिषद् विस्तार हुने सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए।

१९ माघ, २०७९, ०९:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।