पीएसजीको जितमा मेस्सीको गोल, एम्बाप्पेले मिस गरे दुई पटक पाएको पेनाल्टी

पीएसजीको जितमा मेस्सीको गोल, एम्बाप्पेले मिस गरे दुई पटक पाएको पेनाल्टी

एजेन्सी: जारी फ्रेन्च लिग वान फुटबलमा बुधबार राति भएको खेलमा पीएसजीले मोन्टपेलियरलाई ३-१ गोलअन्तरले हराएको छ। जितसँगै २० टोली सम्मिलित लिगमा पीएसजीले शीर्ष स्थान कायमै राखेको छ।

 

पीएसजीको जितमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले एक गोल गरे। ३५औँ मिनेटमा उनले गरेको पहिलो गोल अफसाइड भए पनि ७२औँ मिनेटमा मान्य हुने गरी गोल गरेका थिए। यस्तै अस्राफ हकिमीले गरेको गोल पनि अफसाइडका कारण मान्य भएको थिएन।

यस्तै खेलको पहिलो गोल भने ५५औँ मिनेटमा भएको थियो। पीएसजीका फाबियन रुइजले गोल गर्दै टोलीको अग्रता बनाएका थिए। यस्तै खेलमा दोस्रो हाफको इन्जुरी समयमा वारेन इम्रीले गोल गर्दै पीएसजीलाई ३-१ को जित दिलाएका थिए।

खेलको ८९औँ मिनेटमा मोन्टपेलियरका नोर्डीनले गोल गरे पनि पर्याप्त भएन।

यस्तै सर्जियो रामोसलाई डी बक्सभित्र लडाएपछि यो खेलमा पीएसजीले खेलको १०औँ मिनेटमा पेनाल्टीको अवसर समेत पाएको थियो। पेनाल्टी प्रहार किलियन एम्बाप्पेले गरे। तर उनको पहिलो प्रहार मोन्टपेलियरका गोलकिपरले बचाए।

तर किपर गोललाइनभन्दा बाहिर आएकाले रेफ्रीले पीएसजीलाई दोस्रो पटक पेनाल्टीको अवसर दिए। पुनः एम्बाप्पेले प्रहार गरे। यसपटक बल गोलपोस्टमा ठोकियो र फर्कियो। त्यसलाई पुनः प्रहार गरे एम्बाप्पेले। तर प्रहार उँचो भयो र एम्बाप्पे गोल गर्न असमर्थ रहे। 

खेलको २१औँ मिनेटमा भने चोटका कारण एम्बाप्पेले मैदान छोडे।

१९ माघ, २०७९, ०९:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।