दाउराले हानेर भद्रकलाले आफ्नै श्रीमान् मारिन्, फस्ने डरमा छोराहरूले ट्वाइलेटको ट्याङ्कीमा शव लुकाए

दाउराले हानेर भद्रकलाले आफ्नै श्रीमान् मारिन्, फस्ने डरमा छोराहरूले ट्वाइलेटको ट्याङ्कीमा शव लुकाए

सुर्खेत: २०७४ पुस ३० गते जाजरकोट भेरी नगरपालिका–६ सिस्नेका काले कामीले रक्सी खाएर श्रीमती भद्रकला कामीलाई तथानाम गाली गरिरहेका थिए। उनी प्रायः दिनहुँ रक्सी खान्थे।

तर, त्यस दिन भद्रकलालाई साँझ मारिदिने भन्दै उफ्रिरहेका थिए। घरमा अरू बेला पनि झगडा त हुन्थ्यो, तर त्यो दिनको झगडाले काले कामीले ज्यानै गुमाउनु पर्यो।

रक्सीको मातमा मार्छु भन्दै उफ्रिएका श्रीमान्‌को डरले भद्रकला दिउँसो छिमेकीको घरमा गएर लुकिन्। साँझ 'अब त रक्सीले छोड्यो होला' भन्ने सोचेर घर फर्किइन् उनी। तर श्रीमान्‌ त दाउरा समातेर मारिदिन्छु भन्दै नजिक आए।

अनि दाउरा खोस्दै भद्रकलाले 'आफैँ रक्सी खाने, आफैँ मलाई मार्ने' भन्दै श्रीमान्को कञ्चटमा हिर्काइन्। काले भुईँमा बजारिए। भद्रकलाले त्यहीँ गएर फेरि हिर्काइन्।

काले बेहोस अवस्थामै भएको बेला भद्रकला र उनका छोराले उठाएर कोठामा लगी सुताए।

राति फेरि आक्रमण गर्न सक्ने भन्दै भद्रकला र उनका छोराहरू छिमेकीको घरमा गएर बसे। भोलिपल्ट बिहान भद्रकला र उनका छोराहरू घर आउँदा काले मृत अवस्थामा भेटिए।

भद्रकला र छोराहरूलाई आफूहरू फसौँला भन्ने डर भयो। उनीहरू त्यस दिन दिनभर शवलाई कोठामै राखे।

अध्यारो हुन थालेपछि शवलाई डोरीले बाँधेर भद्रकलासहित उनका माइला, साइँला र कान्छा छोराले घरबाट उत्तरतर्फ रहेको चर्पीको ट्याङ्कीमा ढुङ्गा माटोले पुरे।

जेठो छोरा सदरमुकाम खलङ्गा बसेर काम गर्थे। उनलाई 'बुवा भारतको कालापहाड गए' भनेर भन्ने सल्लाह गरेर आमा-छोराले सत्य कुरा गुपचुप राखे।

‘यो घटनाको मुख्य कारण मदिरा नै हो। श्रीमान्‌ले मार्छु भनेर ल्याएको दाउरा खोसेर श्रीमतीले उल्टै कञ्चटमा हानेको रहिछिन्। कालेको मृत्यु भइसकेको थाहा पाएपछि आमा र तीन छोराहरू मिलेर गुपचुप बनाइएको रहेछ’, जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख (डीएसपी) सन्तोश निरौलाले भने, ‘जेठो छोरा सदरमुकामतिरै काम गर्ने भएकोले उसलाई कुनै जानकारी भएनछ। ऊ घर आएको बेला "बुवा खोई?" भन्दा "कालापहाड गएका छन्, फोन पनि गर्दैनन्" भन्दा रहेछन्।’

घटना शंकास्पद छ भनेर प्रहरीलाई गोप्य सूचना आएपछि मात्रै पाँच वर्ष पुरानो घटनाको तथ्य बाहिर आएको डीएसपी निरौलाले बताए।

‘गाउँबाटै शंकास्पद कुरा छ भनेर गोप्य सूचना आएपछि मङ्गलबार हामी त्यहाँ पुगेर चेकजाँच गर्दा ट्वाइलेटमा मानव अवशेषहरू भेटिए’, उनले भने, ‘ट्वाइलेटको एक पोइन्ट १० मिटर तल खन्दा दाँत सहितको टाउको र अझ गहिरो खन्दा हड्डी भेटियो, प्लास्टिकको डोरीले बाँधेको ज्याकेट भेटियो।’

हत्या अभियोगमा उनका छोराहरू तुल्सीराम विक र गोविन्द विक पनि संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी निरौलाले जानकारी दिए।

उनका अनुसार घटनाको बारेमा आवश्यक थप अनुसन्धान गर्न भद्रकला र तुल्सीराम विकलाई पक्राउ गरी पाँच दिनको म्याद थपिएको छ।

१८ माघ, २०७९, १६:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।