सूर्य कर्पोरेशन विवाद: पोस्टरमा तस्बिर छ, सम्बन्धित व्यक्तिलाई न निम्तो न जानकारी

सूर्य कर्पोरेशन विवाद: पोस्टरमा तस्बिर छ, सम्बन्धित व्यक्तिलाई न निम्तो न जानकारी

काठमाडौं: टुर एन्ड ट्राभल्सको रूपमा दर्ता भएर विद्यार्थी लगायतका विभिन्न भिसामा जापान पठाइदिन्छु भन्दै ठगीमा संलग्न देखिएको सूर्य कर्पोरेसन प्रालि एकपछि अर्को विवादमा परिरहेको छ। पछिल्लो विवाद हो- दुबईमा हुने भनिएको नेपालस् सिनेमा फेस्ट।

गत सोमबार चलचित्र ‘महापुरुष’को टोलीले उक्त ‘दुबई फेस्ट’ बहिष्कार गर्ने घाेषणा गरेकाे थियो। लगत्तै प्रेस विज्ञप्ति जारी गरेर आफूहरूले चलचित्रको दुबई राइट्स पाएका नेपाफिल्मका रमेश ढकालको प्रस्तावमा महापुरुषलाई पनि फेस्टमा समावेश गरेको बताएको थियो।

यद्यपि, चलचित्रका निर्माता रवीन्द्रसिंह बानियाँले दुबईको हलमा प्रदर्शनकाे अधिकार बेचे पनि महोत्सव र अन्य कार्यक्रममा लैजानेबारे आफूहरूसँग सल्लाह नभएको बताएका छन्।

अहिले भने विभिन्न चलचित्रकर्मीहरूले कर्पोरेशनले आयोजना गर्न लागेको फेस्टमाथि नै प्रश्न उठाएका छन्।

कलाकार तथा नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले चलचित्र विकास बोर्डले दुबईमा गर्ने भनेको कार्यक्रमको सहकार्यका लागि आह्वान नै नगरेको र चलचित्र सहभागिताका लागि पनि आह्वान नगरिएको बताएका छन्।

उनले भनेका छन्, 'कुनै पनि सरकारी निकायले जीटुजी सहकार्य गर्न सक्दछ, तर कुनै पनि प्राइभेट पार्टी वा व्यक्तिसँग सहकार्य गर्ने हो भने इच्छुक संस्था वा व्यक्तिलाई सहकार्यका लागि सार्वजनिक आह्वान गर्न जरुरी छ। यो नगरेमा सो निकायलाई अख्तियार दुरुपयोग गरेको मानिन सक्दछ।'

र विकास बोर्ड र कर्पोरेशनको मिलोमतोमा भइरहेको यस कार्य कानूनतः गलत भएको उनको भनाइ थियो। उनले दुई दिनअघि यस्तो अभिव्यक्ति दिएका थिए।

यस्तै निर्माता तथा निर्देशक सन्तोष सेनले नेपाली फिल्म र पर्यटनलाई विश्व बजारमा पुर्याउने चाहना स्वागतयोग्य भए पनि कलाकारले घुमघाम र नाचगान गर्दैमा कसरी नेपाली फिल्म विश्व बजारमा पुग्छ भनेर प्रश्न गरेका छन्।

उनले लेखेका छन्, 'चलचित्र विकास बोर्डले ३० लाख खर्च गरेर विवादास्पद कम्पनी सूर्य कर्पोरेशनसँग मिलेर नेपाली फिल्म र पर्यटनलाई विश्वसामु पुर्याउने नाराका साथ दुबईमा नेपाली सिनेमा फेस्ट २०२३ गर्ने भएको रहेछ। नेपाली चलचित्रलाई विश्व बजारमा पुर्याउने चाहना स्वागतयोग्य हो। तर, नेपाली कलाकार घुमघाम र नाचगान कार्यक्रमले नेपाली फिल्मलाई कसरी विश्व बजारमा लैजान सहयोग गर्छ होला?'

सूर्य कर्पोरेशनको विवादमा सबैभन्दा रोचक त पाइलट तथा कलाकार विजय लामाको प्रकरण छ। कर्पोरेशनले गर्ने भनेको दुबई फेस्टको प्रोमोशनल तस्बिर (पोस्टर)मा भुवन केसी, नीर शाह, शिव श्रेष्ठ र लामासहित अन्य कलाकारको तस्बिर छ।

तर, लामाको अनुमति नै नलिई र उनलाई जानकारी नै नगराई उनको तस्बिर दुरुपयोग भएको पाइएको छ। यसबारे लामाले नै सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

उनले भनेका छन्, 'केही समययता यो कार्यक्रम लिई विवादास्पद कुराहरू अनि समाचारहरू सामाजिक सञ्जालमा छ्यापछ्यापति देख्न थालेको छ। अचम्मको कुरा के भने मेरो पनि तस्बिर पोस्टरमा देखेँ। न मलाई यसबारे जानकारी नै छ न निमन्त्रणा नै छ। न मलाई सहभागिता जनाउन समय नै छ। यसरी लिखित स्वीकृतिबिना नै मेरो तस्बिर चलाएर राख्नु कतिको उचित हुन्छ?'

यस्तै उनले उक्त कार्यक्रमसँग आफ्नो कुनै संलग्नता नरहेको पनि स्पष्ट पारेका छन्।

'आइन्दादेखि कसैले पनि मेरो तस्बिरहरू चलाउन परे पूर्वसूचना या स्वीकृति लिएर मात्रै गर्नुहोला', उनले भनेका छन्।

पछिल्लो समय सूर्य कर्पोरेशनलाई चलचित्र विकास बोर्डले दुबईमा दुबई फेस्ट गर्ने जिम्मेवारी दिएपछि प्रालिसँगै बोर्डका अध्यक्ष भुवन केसी समेत विवादमा तानिएका छन्। उकेराको खोजमा सो प्रालिका कार्यकारी अध्यक्ष वासुदेव लामिछाने र बोर्ड अध्यक्ष केसीबीच व्यापारिक साझेदारी रहेको समेत देखिएको थियो।

सम्बन्धित समाचार

१८ माघ, २०७९, १६:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।