बुटवलमा ‘नीलो फूल’काे प्रिमियर

बुटवलमा ‘नीलो फूल’काे प्रिमियर

बुटवल : यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधित्वको बारेमा तयार पारिएको चलचित्र ‘नीलो फूल’को प्रिमियर बुटवलमा गरिएको छ।

सिंह कम्प्लेक्समा रहेको भ्यू सिनेमामा बुधबार चलचित्रको प्रिमियर गरिएको हो। अमेरिकी दूतावासको आर्थिक सहयोगमा चलचित्रको प्रिमियर गरिएको चलचित्रका निर्माता एवं निर्देशक सुनिलबाबु पन्तले जानकारी दिए।

१३ लाखमा निर्माण भएको ३८ मिनेटको चलचित्रमा सागर घिमिरे एक समलिङ्गी पुरुषको भूमिकामा प्रस्ततु भएका छन्। समलिङ्गी पुरुषको जबरजस्ती विवाह गरिदिँदा सन्तान नभएपछि महिलाले भोग्नुपरेको पीडाको कथालाई चलचित्रमा समेटिएको छ।

कार्यक्रममा निर्देशक पन्तले चलचित्रको कथा वास्तविक जीवनमा आधरित रहेको बताए। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूमाथि भएका मानव अधिकार हननका घटना बाहिर ल्याउने उद्देश्यले चलचित्र निर्माण गरिएको उनले बताए।

कार्यक्रममा अधिकारकर्मी बिनोद पहाडी, नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेल, महिला तथा बालबालिका मन्त्रालय लुम्बिनी प्रदेशका महाशाखा प्रमुख सारसा अर्याल , महिला अधिकारकर्मी ज्ञानु पौडेल, तेस्रोलिङी महिला आनिक राना लगायतले आफ्नो धारणा राखेका थिए।

१८ माघ, २०७९, ११:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।