चेक बाेकेर दुई महिनादेखि सहकारीकाे चक्कर काट्दै बचतकर्ता, सञ्चालक सम्पर्कविहीन

चेक बाेकेर दुई महिनादेखि सहकारीकाे चक्कर काट्दै बचतकर्ता, सञ्चालक सम्पर्कविहीन

बुटवल : बुटवल देवीनगरका राजेन्द्र झाँक्री मगरलाई अचेल आफैँले जम्मा गरेको रकम झिक्न महाभारत भएको छ।

७२ हजार रूपैयाँ जम्मा गरेको बुटवल–९ योगीकुटीस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड धाउन थालेको २ महिना बित्दासेमत रकम पाउने नपाउने अत्तोपत्तो छैन।

सहकारीले रकम फिर्ता गर्ने भन्दै चेकसमेत थमाएको छ। तर, चेक साटिँदैन किनकी खातामै पैसै छैन। दुई महिनादेखि सहकारीका म्यानेजरलाई भेट्न खोज्दासमेत पाएका छैनन् बचतकर्ताले।

‘७२ हजारको चेक सटही भएको छैन, सहकारीमा जाँदा उक्त नामको खातामा पैसा छैन भन्छ,’ उनले भने, ‘म्यानेजरलाई भेट्नसमेत पाएको छैन।’

बुटवलका ऋषिकुमार गिरी, अटो रिक्सा चलाएर सहकारीमा दैनिक २ सय रूपैयाँ जम्मा गर्थे। पासबुक हेर्दा अहिलेसम्म ४२ हजार रूपैयाँ जम्मा भइसकेको रहेछ उनको खातामा। आफूलाई अप्ठ्यारो परेर रकम झिक्न जाँदा उनी रित्तो हात फर्कनुपर्यो।

उता, तिलोत्तमा नगरपालिकामा कस्मेटिक उद्योग सञ्चालन गर्दै आएका काशिराम गौतमले चारवटा खातामार्फत सहकारीमा १६ लाख जम्मा गरेका थिए। रकम निकाल्ने बेला सहकारीका सञ्चालक नै सम्पर्कविहीन भएपछि गौतम तनावमा छन्।

राजेन्द्र, ऋषिराम र काशिराम मात्र होइनन् हातमा चेक बोकेर सहकारीको कार्यालय धाउने कयौं बचतकर्ता छन्। दैनिकजसो सहकारीको शाखामा चेक बोकेर पुग्ने उनीहरू रित्तो हात फर्कन्छन्। राष्ट्रिय तहको भनिएको सहकारीले दुःख गरेर बचत गरेको रकमसमेत नदिँदा उनीहरू आक्रोशित भएका छन्।

गत महिना बचतकर्ताहरूको भिड बढ्दै गएपछि सहकारीले माघ ७ गतेभित्र सबै रकम भुक्तानी गर्ने प्रतिबद्धता जाहेर गर्यो। तर, भुक्तानी गर्ने बेला भइसक्दा सहकारीका सञ्चालक र व्यवस्थापक सम्पर्कविहीन हुँदा बचत रकम डुब्ने चिन्ताले बचतकर्तालाई सताउन थालेको छ।

सुरूका केहि महिना बचत गरेको रकमको आधारमा ५ हजारदेखि २५ हजारको सीमा तोकेर चेक साट्ने गरेको सहकारीले रकम भुक्तानी गर्न नसकेपछि आफैँले सञ्चालन गरेको गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर्सबाट चेक बराबरको रकमको उपभोग्य सामग्रीसमेत दिन थाल्यो।

भक्तपुरमा केन्द्रीय कार्यालय रहेको सहकारीले २०६९ असोज २८ गते सहकारी विभागमा दर्ता भएको थियो। बुटवलमा भने २०७८ साउन १९ मा व्यवसाय दर्ता गरेर सहकारीले योगिकुटीमा डिपार्टमेन्टल स्टोर्स सञ्चालन गरेको छ।

लुम्बिनी प्रदेशको अर्थ तथा सहकारी मन्त्रालयका सचिव नेत्र सुवेदीले सहकारीको दर्ता नै संघमा भएकाले आफूहरूले कारबाही गर्न नसक्ने बताए।

बचतकर्ताहरूको गुनसोबारे प्रतिक्रिया लिन सहकारीको बुटवल शाखाका व्यवस्थापक प्रदीप श्रेष्ठलाई फोन उनको मोबाइल स्वीट्च अफ थियो।

१७ माघ, २०७९, १८:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।