७० वर्षदेखि चित्र बनाइरहेका गेहेन्द्रमान : चित्र मैले बनाएँ, छोराे नजरबन्दमा पर्‍याे

७० वर्षदेखि चित्र बनाइरहेका गेहेन्द्रमान : चित्र मैले बनाएँ, छोराे नजरबन्दमा पर्‍याे

उमेरले बुढ्यौली लाग्यो। ज्यान भने अझै फुर्तिलै छ। सबेरै उठेर एक घण्टा कौसीमा डुल्न छाडेका छैनन्। परेवा र कागलाई आहारा दिन्छन्।

यति मात्र होइन दिनभरीको तालिका बनाउँछन् अनि विभिन्न कार्यक्रममा सहभागीसमेत हुन्छन्। काठमाडौंको कालधाराका ८५ वर्षीय गेहेन्द्रमान अमात्यको दैनिकी हो यो।

७० वर्षदेखि नेपालको आधुनिक कला क्षेत्रमा सक्रिय उनी यो उमेरमा कलाप्रतिकाे माेह उत्तिकै छ। राजधानीमा भइरहने विभिनन्न कलासम्बन्धी कार्यक्रममा उनी प्रायजसाे सहभागी हुन्छन्।

खिचापोखरीको व्यापारिक परिवारमा जन्मेका उनले जुद्दोदय स्कुलमा अध्ययन गरे। पढ्दै गर्दा बुवाको व्यापारमा सहयोग त गर्न नै भए।

पहिलाे पेन्टिङमै अन्तर्राष्ट्रिय पुरस्कार
व्यापारिक परिवार भए पनि गेहेन्द्रमानको रुचि कलाकारितामा थियो। स्कुल पढ्दा नजिकैको अमेरिकन लाइब्रेरीका म्यागेजिनहरूमा भएका चित्रमा उनकाे खुब चासाे हुन्थ्याे। अक्षरमा भने खासै रूचि लागेन उनलाई।

स्कुलमा पढ्दै गर्दा नै कापीमा धेरै चित्र कोर्ने उनी एकपटक चाँगुनारायण मन्दिर गए। त्यहाँ ज्यापु समुदायले राँगा बलि दिन लागेकाे रहेछन्। चार खुट्टा बाँधेर घाँटीमा खुकुरी हान्दा राँगा कराएको देख्दा उनको मनमा चिसो पसेछ।

घर आएपछि पनि उनको दिमागमा ती दृश्यहरू घुमिरहे। मेटाउछु भन्दा पनि मेट्न नसकेपछि त्यसैलाई चित्रमा उतारे। जीवनको पहिलो पेन्टिङ थियो उनको त्यो। बनाएर घरकाे एउटा कुनामा थन्किएर बसेकाे थियाे।

उनले आफ्नाे कलालाई प्रयाेग गरिरहेकै थिए विभिन्न रूपमा। केही वर्षपछि नयाँ दिल्लीमा इन्टरनेश्नल चिल्ड्रेन्स आर्ट कम्पिटेसन भयो। प्रतियाेगिताकाे विज्ञापन देखे। पहिलाे पुरस्कार थियाे ५ हजार भारु। रकमले उनलाई लाेभ्यायाे।

प्रतियाेगिताका लागि पेन्टिङ दिल्ली पठाए। प्रतियाेगितामा सर्वाेत्कृष्ट बन्दै उक्त पेन्टिङले पहिलाे पुरस्कार पायाे। पुरस्कारले गेहेन्द्रलाई चित्रकलाप्रतिको चाख झन् बढायो। त्यस पछिनै हो उनले नेपालका चर्चित कलाकार चन्द्रमान मास्केसँग सिक्न थालेको।

‘म त्यतिबेला १५ वर्षको थिएँ होला,’ उनले थपे, ‘उहाँ (चन्द्रमान मास्के)ले चित्रकला र कलर कम्बिनेसन गजबसँग सिकाउनुभयो।’

खासै धेरै कला प्रदर्शनी नहुने त्यो बेला निकोलाइ मिचास्केन भन्ने कलाकार विदेशबाट आए। उनकाे एकल चित्रकला प्रदर्शनी भयाे, जसकाे उद्घाटन राजा महेन्द्रले गरेकाे गेहेन्द्रले सम्झिए। चित्रकलामा चासाे देखाएकाले उनलाई पनि प्रदर्शनीमा बाेलाइयाे उनी गए।

ती कलाकार केही समय नेपाल नै बसे। उनीसँगकाे ८ महिना लामाे संगतले गेहेन्द्रले चित्रकलाबारे धेरै कुरा सिके। त्याेबेला उनी दिनकाे एउटा पेन्टिङ बनाउँथे। लामाे समय बनाउँदै जाँदा १ सयभन्दा बढि पेन्टिङहरू बन्याे।

ती पेन्टिङहरू मिचास्केनले नेपाल–भारत संस्कितिक केन्द्रको प्रदर्शनीमा देखाए र त्यहि प्रदर्शनी नेपालको आधुनिक कलाको पहिलो भयाे। यसले उनमा झन् उर्जा थप्याे।

अहिलेसम्म २८ पटकसम्म वान म्यान शो गरेका उनीसँग ६० पटक वर्कशपमा भाग लिएको अनुभव भएकाे उनले सुनाए।

‘२५० पटक जति ग्रुप एक्जिबेसनमा भाग लिएँ,’ उनले थपे, ‘अहिले पाँच हजार जति पेन्टिङ बनाइसकेको छ, एक हजार जति दक्षिण कोरिया पुगेको छ।’

उनले चित्रकारिता सिक्दासिक्दै देशमा पञ्चायती शासन सुरू भयो। त्यहि समयमा सूचना विभागको प्रचार विभागका निर्देशक सुरेन्द्रराज शर्मासँग उनकाे राम्राे चिनजान थियाे। उनले जागिर लगाइदिए सूचना विभागकाे आर्टिस्ट पदमा। पछि उनी प्रकाशन अधिकृत हुँदै उप–निर्देशकसम्म भए।

‘म जागिर खाएकै हप्तामा बेलायतकी महारानी एलिजाबेथकाे सवारी भयाे। त्यहाँको रिपोर्टिङ गर्थे साथीहरूले अनि हामी फोटोहरू, पत्रिका, लेख छाप्थ्यौं। गिरिजाप्रसादको लटमा ०४९ सालमा तीन/चार सयलाई एकै चोटी निकालेको थियो उमेरको हदले गर्दा। म उप–निर्देशकसम्म भएपछि अवकाश दिए’, उनले सुनाए।

त्यसबीचमा उनले कला सम्बन्धी धेरै लेखहरू लेखे। पुस्तकहरू पनि छपाए अनि जिनब्लक पनि शुरू गरे। ०२५ सालमा शुरू गरेको उक्त जिन ब्लक अहिले पनि सञ्चालनमा छ। उनको छोराहरूले अहिले उक्त जिन ब्लक सम्हालिरहेका छन्।

उनको आर्टको मुख्य विशेषता भनेको आधुनिक एब्सट्राकट आर्ट हो। आफ्नो चित्रकलाको बारेमा बताउँदै सुनाउँछन्, ‘पहिले त जे बनाउनको लागि पनि चित्र पर्फेक्ट हुनुपर्याे। रङ भनेको के? रङसँग पर्फेक्ट खेल्न सक्नुपर्यो।’

कार्टुन बनाउँदा नजरबन्द
पञ्चायती शासनको समयमा उनले कार्टुन पनि खुब बनाउँथे। गाउँ फर्क राष्ट्रिय अभियान चलिरहेको समयमा त्यसै अभियानलाई व्यङ्ग गरेर एउटा कार्टुन बनाए। त्यसका कारण सात दिन नजरबन्दमा समेत परे।

उनले भने, ‘हाम्रो पसल थ्यो रत्नपार्कमा। प्रहरीहरू आएर भ्यानमा लग्यो। त्यहाँको सामानहरू पनि सबै लग्यो। सात दिनसम्म नजरबन्दमा परियो। म सरकारी जागिरे भन्ने थाह भएपछि मेराे सट्टा छोरालाई एक वर्षसम्म थुन्यो।’

याे घटनापछि पनि उनले कार्टुन बनाउन भने छाडेनन्। अहिले पनि कार्टुन बनाउने उनले पहिलाकाे जस्ताे कडा भने बनाउन छाडेकाे बताए।

उनले थपे, ‘अहिले पनि कार्टुन त बनाउँछु तर पहिलाकाे जस्तो कडा छैन।’

कलाको मात्र भर परेर काठमाडौंमा जिउन गाह्रो हुने उनको अनुभव छ। आफ्नो जागिर र व्यवसाय भएकाले जिउन सहज भएको उनको अनुभव छ।

‘गर्दा–गर्दै लामो समय भयो। चिल्ड्रेन आर्ट्सदेखि मोर्डन आर्ट हुँदै रिबन काट्दै समय गएको पत्तोनै भएन। यत्तिको वर्ष कसरी बित्यो होला जस्तो लाग्छ। ८५ वर्ष भए पनि आफूलाई त २५ वर्षजस्तै लाग्दो रहेछ,’ उनले हाँस्दै सुनाए।

०१८ सालमा मागी विवाह गरेको गेहेन्द्रले पाँच वर्षअघि श्रीमती गुमाए। अहिले उनि छोराहरूसँग बस्छन्। बेला–बेला एक्लो महसुस हुँदा श्रीमतीको बारेमा लेखेको आफ्नै लेख हेर्छन् उनी अनि आफ्नो कलाको बारेमा कसैलाई सुनाउन पाउँदा खुशी भएर एकनासले सुनाइ रहन्छन्।

१६ माघ, २०७९, २०:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।