प्रहरीले प्रहार गरेको गोली लागेका स्वास्थ्यमन्त्रीको मृत्यु

प्रहरीले प्रहार गरेको गोली लागेका स्वास्थ्यमन्त्रीको मृत्यु

एजेन्सी: भारत ओडिसाका स्वास्थ्यमन्त्री नवकिशोर दासको मृत्यु भएको छ। आइतबार दिउँसो १ बजे एक प्रहरी (असिस्टेन्ट सब इन्स्पेक्टर)ले हानेको गोली लागेपछि घाइते भएका मन्त्री दासको उपचारको क्रममा अपोलो अस्पतालमा ज्यान गएको हो।

दासको छातीमा दुई गोली लागेको थियो। गोली लाग्नासाथ उनलाई एयरलिफ्ट (हवाई मार्गबाट) गरी भुवनेश्वरको अपोलो अस्पताल लगिएको थियो। तर, सात घण्टापछि उपचारको क्रममा उनको मृत्यु भयो।

घटनाको बेला मन्त्री दास ब्रजराजनगर भन्ने स्थानमा एक कार्यक्रममा सामेल हुन गएका थिए। कारको अघिल्लो सिटमा बसेका दास आफ्ना समर्थकसँग भेट्न बाहिर निस्कनासाथ ती प्रहरीले उनीमाथि गोली प्रहार गरेका थिए।

त्यसपछि रगतले लत्पतिएका दास कारको छेउमै ढलेका थिए।

यता प्रहरीले पनि गोली प्रहार गर्ने प्रहरी गोपालदासलाई नियन्त्रणमा लिइसकेको छ। उनीमाथि सोधपुछ भइरहे पनि उनले किन हमला गरे भन्नेबारे मुख नखोलेको बताइएको छ।

घटनाको जाँच गर्न ओडिसा प्रदेश सरकारले क्राइम ब्राञ्चलाई जिम्मा दिएको छ।

१६ माघ, २०७९, ०८:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।