गैर सांसदको हैसियतमा गृह मन्त्रालय फर्किने रविको प्रयास, प्रधानमन्त्री नकारात्मक

गैर सांसदको हैसियतमा गृह मन्त्रालय फर्किने रविको प्रयास, प्रधानमन्त्री नकारात्मक

काठमाडौँ : सर्वोच्च अदालतको संवैधानिक इजलासले पुरानो नागरिकता निष्क्रिय ठहर गरेपछि उपप्रधान तथा गृहमन्त्रीको पदबाट राजीनामा दिएका रवि लामिछाने गैर सांसदको रूपमा पुन गृहकै नेतृत्वमा फर्कने प्रयासमा लागेका छन्।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँको जिल्ला अधिकारीलाई प्रभावमा पारेर प्रमाणको रुजु नै नगराई नागरिकता पुन प्राप्त गरेका रविले एकै दिन दलको तीन वटा बैठक राखेर सदस्य हुँदै सभापति चयन भएका थिए।

उनको सांसद पद खारेज भइसकेको छ। २०५० मा निकालेको नागरिकता प्रयोग गरेर उनले गरेका सबै कानुनी गतिविधि अवैध ठहरिएसँगै उनी मतदाता समेत रहँदैनन्।

तर उनले संविधानमा रहेको गैर सांसद पनि ६ महिना मन्त्री हुनसक्ने प्रावधान अनुसार आफूलाई पुन सोही मन्त्रालयको नेतृत्व दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग दाबी गरेका हुन्।

पार्टीको बैठक राखेर सभापति आफैँ चयन भए। अनि गृह मन्त्रालय आफ्नो पार्टीको भागमा रहेकाले अन्य दललाई नदिने निर्णय गराएर उनी प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटारमा रहेको प्रधानमन्त्री निवास पुगेका थिए।

पार्टीको नेतृत्वमा आफैँ रहेको र संविधान सांसद नभए पनि ६ महिना मन्त्री बन्न नरोकिने भन्दै उनले आफैँ गृहमन्त्री बन्ने दाबी गरेको बैठकबारे जानकार स्रोतले बतायो।

उनले आफ्नो नागरिकताको कानुनी विषय मिलेको र केही समयमै नागरिकताको विषय पनि मिलाउने दाबी गर्दै मन्त्री पद मागेका थिए। निर्वाचन आयोगले चितवन-२ को उपनिर्वाचनबारे केही निर्णय गरेको छैन। तर उनले प्रधानमन्त्रीसँगको भेटमा ६ महिनाभित्र उप निर्वाचन हुने र आफैँ जितेर आउने दाबी गरेका थिए।

रविले गृहमै फर्किन प्रधानमन्त्रीसँग जोड गरे पनि प्रचण्डले भने यसबारे सात दलका नेताहरूसँगै कानुनी परामर्श गर्नुपर्ने बताएका थिए।

'रविजीले बारम्बार आफैँलाई गृहमा फर्काउन जोड गर्नुभए पनि प्रधानमन्त्रीले हुन्छ पनि भन्नुभएन, हुन्न पनि भन्नुभएन,' बैठकबारे जानकार स्रोतले भन्यो' उहाँले राजनीतिक र कानुनी परामर्श गरेर निर्णय गर्छु मात्र भन्नुभयो।'

रविको राजीनामासँगै गृह प्रधानमन्त्रीले नै राखेका छन्। उनले गृह मन्त्रालयको नेतृत्वबारे पार्टीभित्र छलफल गर्दा कुनै हालतमा पनि रविलाई फर्काउन नहुने सुझाव आएको माओवादी केन्द्रका एक नेताले बताए।

प्रधानमन्त्रीले गृह मन्त्रालय नदिने सङ्केत बुझेर पार्टी बैठकमा गृह नछाड्ने निर्णय गराए। अनि आफू निकट महासचिव मुलुक ढकालमार्फत गठबन्धनमा गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाएकाले गठबन्धनमा छलफल गर्नु नपर्ने र गृहमा को पठाउने भन्नेबारे पार्टीले निर्णय गर्ने सार्वजनिक गराएका थिए।

१५ माघ, २०७९, ००:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।