रविको नागरिकता सक्रिय गराउन प्रशासन हतारियो , अमेरिकी नागरिकता त्यागेको प्रमाण रुजु नै गरेन

रविको नागरिकता सक्रिय गराउन प्रशासन हतारियो , अमेरिकी नागरिकता त्यागेको प्रमाण रुजु नै गरेन

काठमाडौँ : दल दर्ता अनि उम्मेदवारी दर्ताको समयमा निर्वाचन आयोगले गृह मन्त्रालयलाई रवि लामिछानेको नागरिकताको अवस्थाबारे सोधेको भए उनी एक दिन गैर नागरिक हुनुपर्ने थिएन।

उनले जे प्रमाण बुझाए त्यसैलाई पत्याएर निष्क्रिय नागरिकताकै आधारमा दलदेखि उम्मेदवारीसम्म दर्ता गर्दा सर्वोच्च अदालतको संवैधानिक इजलासले उनको नागरिकता सक्रिय नरहेको ठहर गरेसँगै रवि शुक्रवारबाट अनागरिक मात्र बनेनन् उनको सांसद र गृहमन्त्रीको पद समेत गयो।

नागरिकता नियमावली र नागरिकता पुन प्राप्ति सम्बन्धी कार्यविधि अनुसार आइतबार रविले जिल्ला प्रशासन कार्यालयमा नागरिकता पुन प्राप्ति सम्बन्धी निवेदन दर्ता गरे। उनले जे बुझाए ती प्रमाण रुजु नै नगरी एकै दिनमा प्रशासनले उनको २०५० मा लिएको नागरिकता सक्रिय गरायो।

नागरिकता पुन प्राप्तिसम्बन्धी निर्देशिका अनुसार ६ चरण पार गरेपछि मात्रै विदेशी नागरिकता लिँदा निष्क्रिय रहेको नागरिकता पुन ब्युँतन सक्छ।

निर्देशिका अनुसार नेपालको नागरिकता त्यागी विदेश गएको व्यक्तिले विदेशको नागरिकता त्यागी पुनः नेपालकै नागरिक हुन चाहेमा पाँच रुपैंयाको टिकट टाँसी अधिकार प्राप्त अधिकारीसमक्ष निवेदन दिनु पर्ने प्रावधान  छ।

त्यस्तो व्यक्तिले पहिले जुन जिल्लाबाट नागरिकता प्रमाणपत्र लिएको हो सोही जिल्लाको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनु पर्ने, पहिले नेपाली नागरिक रहेको प्रमाण स्वरूप नेपाली नागरिकता त्याग गर्नु अगाडि लिएको नेपाली नागरिकताको फोटोकपी संलग्न राख्नुपर्ने उल्लेख छ।

निवेदकबाट पेस हुन आएका निवेदन तथा प्रमाण ठिक हो-होइन भनी जाँच गर्नुपर्ने, निवेदनसाथ विदेशको नागरिकता त्यागेको निस्सा संलग्न गर्न लगाउनु पर्ने, पहिले नागरिकता परित्याग गरेकै व्यक्ति हो भन्ने कुराको एकीन गर्नु पर्ने कार्यविधिमा उल्लेख छ।

निवेदकको ब्यहोरा ठिक भएमा प्रमुख जिल्ला अधिकारीले साबिक बमोजिमकै नागरिकता जारी गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।

छ वटा चरणमध्ये जिल्ला प्रशासन कार्यालय काठमाडौँले निवेदकबाट पेस हुन आएका निवेदन तथा प्रमाण ठिक हो-होइन भनी जाँच गर्नुपर्ने प्रक्रिया छल्दै उनले बुझाएको प्रमाणमाथि नै विश्वास गर्दै एकै दिनमा नागरिकता ब्युँताएको हो।

कार्यविधीमा रहेको नागरिकता पुन प्राप्ती सम्बन्धी प्रावधान।

२०५० सालमा वंशजको आधारमा रविले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका थिए। काठमाडौँ महानगरपालिका वडा नम्बर ६ स्थायी ठेगाना उल्लेख गरेर उनको नाममा नागरिकता जारी भएको थियो।

आइतबार उनी सोही प्रशासन कार्यालयमा पुगेर नागरिकता पुन प्राप्ति सम्बन्धी फारम भरेर आफ्नो निष्क्रिय रहेको नागरिकताको प्रमाण पत्रको नक्कल र अमेरिकाको नागरिकको हक खारेज भएको पत्रको नक्कल बुझाएका थिए।

काठमाडौँ महानगरपालिका वडा नम्बर ६ बाट नागरिकता जारी भएको व्यक्ति उनी हुन् या हैनन् भन्नेमा पुन रुजु गर्न अत्यावश्यक नदेखिए पनि उनको अमेरिकी नागरिकको कानुनी हैसियतबारे नेपालस्थित अमेरिकी दूतावासबाट प्रमाण रुजु गराउनुपर्ने थियो। तर प्रशासन यो प्रक्रियामै गएन।

यस अगाडि नै रविले निष्क्रिय रहेको नागरिकता सक्रिय रहेको दाबी गर्दै सरकारी निकायहरूमा पेस गर्ने मात्रै हैन राहदानी समेत लिएको सर्वोच्च अदालतले नै पुष्टि गरिसकेको छ। राज्य संयन्त्रलाई बारम्बार झुक्क्याएको रेकर्ड रहेका व्यक्तिले पेस गरेको प्रमाण सक्कल बमोजिम हो हैन भन्नेतर्फ प्रशासनले वास्तै गरेन।

अमेरिकी नागरिकको कानुनी हक रद्ध भएको प्रमाणको नक्कल जुन प्रशासनले रुझु गरेन।

काठमाडौँका सहायक जिल्ला प्रमुख अधिकारी रवीन्द्र आचार्य  लामिछानेले अमेरिकी नागरिकता त्यागेको प्रमाण र नागरिकता ऐन बमोजिम सबै कागजात पेस गरेकाले नागरिकता प्रदान गरिएको दाबी गरे।

उनले बुझाएको कागजपत्रको सत्यताबारे नेपालस्थित अमेरिकी दूतावासबाट  रुझूँ गरेको हो कि हैन भन्ने उकेराको जिज्ञासामा उनको जवाफ छ' अदालतको आदेशमै त्यो उल्लेख भएकाले दूतावासमा सोधिरहनु परेन।'

१५ माघ, २०७९, १९:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।