अष्ट्रेलियामा भेटियाे संसारकै ठूलो भ्यागुतो, तर भेटिए लगत्तै मारियाे

अष्ट्रेलियामा भेटियाे संसारकै ठूलो भ्यागुतो, तर भेटिए लगत्तै मारियाे

एजेन्सीः एक नवजात शिशुको जत्तिकै तौल भएको संसारकै सबैभन्दा ठूलो भ्यागुतो अष्ट्रेलियाको एक पार्कमा फेला परेको छ।

उक्त भ्यागुतोलाई टाेडजिल्ला नाम दिइएको छ। तर दुःखको कुरा पर्यावरणमा पर्न सक्ने खतरालाई मध्यनजर गर्दै उक्त भ्यागुतालाई मारिएको छ।

अष्ट्रेलियाको क्विन्सल्याण्डमा फेला परेको सो केन टोड भ्यागुताको वैज्ञानिक नाम राइनेला म्यारिना हो। उक्त भ्यागुताको तौल २ किलो ७ सय ग्राम थियो।

भ्यागुतो यति ठूलो थियो कि त्यसको नाम नै टोडजिल्ला राखियो। सो भ्यागुता (टोड) उक्त प्रजातिको सबैभन्दा ठूलो भ्यागुता भएको बताइएको छ।

क्विन्सल्याण्डको वातावरण तथा विज्ञान विभागकी रेन्जर काइली ग्रे भन्छिन्, ‘इमान्दारीपूर्वक भन्नुपर्दा मलाई त्यो भ्यागुता देख्दा विश्वास नै लागेन। मैले त्यति ठूलो भ्यागुता अहिलेसम्म देखेकै थिइनँ। जब म त्यो भ्यागुताको नजिक गएँ भ्यागुता फडफडाउन लाग्यो। मैले सुपरीवेक्षकलाई त्यो भ्यागुता देखाएँ। त्यो भ्यागुता देख्दा लाग्थ्यो यो खुट्टा भएको कुनै फुटबल हो।’

उनका अनुसार त्यो पोथी भ्यागुता हो। पोथी केन टोड भ्यागुता भालेको तुलनामा ठूलो आकारको हुन्छ। यो प्रजातिको भ्यागुताको आयू १५ वर्षसम्म हुन्छ। तर दुनियाँकै ठूलो त्यस भ्यागुताको आयू कति थियो भन्ने चाहीँ खुलेको छैन।

पोथी केन टोड भ्यागुताले एक सिजनमा करिब ३० हजार अण्डा पार्दछ। यो भ्यागुता निकै विषालु हुन्छ।

यसको विषाक्तपनले अन्य जीवहरुमाथि खतरा पैदा गर्ने र लोप हुने खतरा भएकाले त्यसलाई मारिएको बताइएको छ ।

गिनिज वल्र्ड रेकर्डस्का अनुसार हालसम्मको सबैभन्दा ठूलो भ्यागुता केन टोड सन् १९९१ मा अष्ट्रेलियामा फेला परेको थियो।

उक्त भ्यागुताको तौल २ केजी ६५० ग्राम थियाे। अष्ट्रेलियामै फेला परेको टोडजिल्लाले उक्त भ्यागुताले रेकर्ड तोडेको छ।

१५ माघ, २०७९, १८:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।