अफगानिस्तानमा निजी विश्वविद्यालयका छात्राहरूको सम्बन्धमा तालिवानको नयाँ आदेश

अफगानिस्तानमा निजी विश्वविद्यालयका छात्राहरूको सम्बन्धमा तालिवानको नयाँ आदेश

एजेन्सी : अफगानिस्तानको तालिबान सरकारले निजी विश्वविद्यालयहरूलाई केटीहरूलाई वयस्क नभएसम्म प्रवेश परीक्षाको लागि दर्ता गर्न नदिने भएको छ।

तालिवानको उच्च शिक्षा मन्त्रालयले उनीहरूलाई पत्र लेखेर केटीहरूको भर्ना स्थगित गर्न निर्देशन दिएको निजी विश्वविद्यालयहरूको संघले जनाएको बीबीसीले उल्लेख गरेको छ।

‘अर्को सूचना नआएसम्म छात्राहरूको दर्ता गर्न नपाइने र यो निर्णय उल्लंघन गर्नेलाई कानूनी कारबाही गरिनेछ,’ पत्रमा भनिएको छ।

अफगानिस्तानका निजी विश्वविद्यालयहरूमा भर्नाका लागि सरकारले छुट्टै परीक्षा सञ्चालन गर्छ, जसको पर्यवेक्षण उच्च शिक्षा मन्त्रालयले गर्छ। प्रत्येक वर्ष मन्त्रालयले प्रवेश परीक्षाको मिति पनि तय गर्छ।

गत डिसेम्बर २०, तालिवानको उच्च शिक्षा मन्त्रालयले सार्वजनिक र निजी विश्वविद्यालयहरूमा केटीहरूको शिक्षा निलम्बन गर्यो।

उक्त प्रतिबन्ध लगत्तै अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, क्यानडा, जापान, नेदरल्याण्ड, नर्वे, स्पेन, स्विट्जरल्याण्ड र युरोपेली युनियनका देशहरूले तालिबानलाई त्यसो नगर्न चेतावनी दिएका थिए।

१४ माघ, २०७९, २२:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।