भारतीय वायु सेवाको विमान दुर्घटना अपडेट : एक पाइलटको शव भेटियो, अर्का दुई पाइलटको सकुशल उद्धार

भारतीय वायु सेवाको विमान दुर्घटना अपडेट : एक पाइलटको शव भेटियो, अर्का दुई पाइलटको सकुशल उद्धार

काठमाडौं : भारतीय सेनाको विमान दुर्घटनामा एक पाइलटको शव भेटिएको छ। दुई पाइलटको सकुशल उद्धार गरिएको छ।

मध्य प्रदेशस्थित मोरेनाको पहाडगढ क्षेत्रमा पाइलटको शव फेला परेको हो। घटनास्थलबाट दुई लडाकु विमानको भग्नावशेष निकाल्न उद्धार कार्य जारी छ।

राजस्थानको रतनगढमा पनि लडाकु विमानको भग्नावशेष खसेको प्रहरीले जनाएको छ। भारतीय वायुसेनाका दुई लडाकु विमान सुखोई ३० र मिराज २००० मध्य प्रदेशको मोरेना जिल्लामा दुर्घटनाग्रस्त भएका थिए।

बीबीसीसँगको कुराकानीमा मोरेनाका प्रहरी उपरीक्षक आशुतोष बागरीले ग्वालियर बेसबाट सुखोई–३० र मिराज–२००० लडाकू विमान उडेको बताए।

सुखोई ३० लडाकु विमानमा दुई जना पाइलट रहेको र मिराज २००० मा एक जना पाइलट रहेको उनले बताए। भारतीय वायुसेनाका अधिकारीले अनुसन्धान पूरा गरेपछि मात्रै वास्तविक कारण थाहा हुने बताए।

उनले मिराज २००० लडाकु विमान उडाउने पाइलटको शरीरका केही अंगहरू उद्धारकर्ताहरूले फेला पार्नसक्ने बताए।

बाँकी दुई पाइलट विमानबाट बाहिर निस्केर सकुशल रहेको बागरीले बताए। यी दुई पाइलट सुखोई लडाकु विमानका हुनसक्ने अनुमान छ।

मध्य प्रदेशका एडीजी आदर्श कटियारले समाचार एजेन्सी पीटीआईलाई भने कि विमान दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन।

उनले भने, ‘विमान हावामा एकअर्कासँग ठोक्किएका हुन् वा होइनन् भन्ने स्पष्ट छैन।

दुर्घटनामा परेका लडाकु विमानबाट दुई जना पाइलटले आफूलाई अलग गरेको तर तेस्रो पाइलटको जानकारी भने पाउन नसकेको आदर्श कटियारले बताए।

१४ माघ, २०७९, १५:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।