टरिगाउँ विमानस्थलमा सीताको परीक्षण उडान, रुख र चराले समस्या हुने क्याप्टेनको भनाइ

टरिगाउँ विमानस्थलमा सीताको परीक्षण उडान, रुख र चराले समस्या हुने क्याप्टेनको भनाइ
फाइल तस्बिर ।

काठमाडौं: दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा सीता एयरले परीक्षण उडान गरेको छ। शुक्रबार सीता एयरको १९ सिटे ९ ए–एजेएच विमान विमानस्थलमा अवतरण गरेको हो।

सुरुमा पश्चिमतर्फबाट र पुनः पूर्वतर्फबाट विमान अवतरण गरेको हो। दुवैतर्फबाट विमान अवतरण गर्न सहज नै रहेको क्याप्टेन रवीन्द्र डङ्गोलले बताए।

“दुवैतर्फबाट अवतरण सहजै छ”, उनले भने, “यहाँको समग्र प्रतिवेदन क्याल्कुलेशन गरेर प्रतिवेदन निकाल्छौँ।”

यद्यपि केही रुख, पानीको ट्याङ्की र आकासमा चरा धेरै हुँदा समस्या हुने उनको भनाइ थियो। “यताउती फोहर धेरै हुनसक्छ, त्यसको नियन्त्रण गरे हुन्छ।”

सीता एयरका कर्मचारी राजेन्द्रबहादुर सिंहले अहिले जहाज अवतवरणका लागि सहज–असहजका विषयमा परीक्षण गरिएको भन्दै यसको विस्तृत प्रतिवेदन आएपछि मात्रै उडान नियमित हुने बताए। अहिले जहाज नियमित नहुँदा यात्रुले पटक–पटक असुविधा भोग्दै आएका छन्।

यसै कारण सीता एयरसँग सहकार्य अघि बढाएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए। “समयमा जहाज नआउने, नियमित नआउने समस्या छ”, उनले भने, “यसले गर्दा हामीहरू पनि नेपालगञ्ज, भैरहवा जानुपर्ने अवस्था छ। यसको अन्त्य भई हामीले सहज सेवा पाउनुपर्छ भन्ने हो।”

हाल नेपाल वायुसेवा निगमको १९ सिटे जहाजले हप्तामा आइतबार, मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने गरेको छ। हाल टरिगाउँमै इन्धन डिपो स्थापना भई सञ्चालनमा आइसकेको छ तर भाडा घट्न सकेको छैन।

हाल दाङदेखि काठमाडौंको न्यूनतम रु आठ हजार आठ सय दश र काठमाडौंदेखि दाङको भाडा न्यूनतम रु नौ हजार १० रहेको छ। 

निजी विमान सञ्चालन भएसँगै भाडा घट्ने अपेक्षा गरिएको छ। साथै हाल रहेको सात सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग विस्तारका लागि पहल भइरहेको छ।

उक्त विमानस्थलमा केही समयअघि समिट एयरले पनि उडान भर्ने गरेको थियो।

१४ माघ, २०७९, ०८:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।