लुम्बिनीमा हुने उप–निर्वाचनमा १ हजार मतभारको अन्तर!

लुम्बिनीमा हुने उप–निर्वाचनमा १ हजार मतभारको अन्तर!

बुटवल : एमालेबाट निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुन राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएपछि खाली रहेको सिटमा माघ २५ गते उप–निर्वाचन हुँदैछ।

उप–निर्वाचनमा एमालेका कुमार दशौदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका तर्फबाट राजेन्द्रवीर रायले मनोनयन दर्ता गराएका छन्।

गठबन्धनको साझेदार दल नागरिक उन्मुक्तिले पनि मनोनयन दर्ता गरेकाले राष्ट्रिय सभामा कसको पल्ला भारी हुन्छ भन्नसक्ने अवस्था छैन।

३०५ जना मतदाता रहेको लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिका, उपमहानगरपालिका, प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षले मात्र मतदान गर्ने पाउने कानूनी व्यवस्था छ।

कसको कति मतभार ? 
राष्ट्रिय सभा सदस्य निर्वाचनमा स्थानीय तह र प्रदेशसभा सदस्यको मतभार छुट्टा–छुट्टै गणना हुन्छ। स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ छ।

प्रदेशमा नेपाली कांग्रेसका कुल २७ सांसद छन्। प्रदेशबाट मात्रै उसको १ हजार २९६ मतभार हुन्छ। स्थानीय तहबाट कांग्रेसका प्रमुख २१, अध्यक्ष २७, उपप्रमुख १२, उपाध्यक्ष ३२ गरी कूल ९२ जना छन्। उनीहरूको मतभार १ हजार ६५६ हुन आउँछ।

यसरी हेर्दा स्थानीय तह र प्रदेश सभामा गरी कांग्रेससँग कूल २ हजार ९५२ मतभार छ।

एमालेसँग स्थानीय र प्रदेशतर्फ गरी कूल २ हजार ५९८ मतभार छ। एमालेका २९ जना प्रदेश सांसद् छन् भने स्थानिय तहतर्फ प्रमुख ९, अध्यक्ष १८, उपप्रमुख १६, उपाध्यक्ष २४ गरी ६७ जना छन्।

प्रदेश र स्थानीय तहतर्फ गरी माओवादीसँग कूल १ हजार १६६ मतभार छ। प्रदेश सभामा माओवादीका १० सांसद् ह्ँदा स्थानीय तहमा ४० मतदाता छन्।

त्यस बाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को मतभार २४६, जनता समाजवादी पार्टी (जसपा)को २५२, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को २१६, नागरिक उन्मुक्ति पार्टीको १९२, जनमत पार्टीको १४४, राष्ट्रिय जनमोर्चाको १२०, एकीकृत समाजवादीकाको ४८, जनता प्रगतिशील पार्टीको ३६ र स्वतन्त्र २ सांसदको मतभार ९६ छ।

यसरी हेर्दा वर्तमान सत्तारूढ गठबन्धन (७ दल)को मतभार ४ हजार ५९६ रहेको छ। जुन कांग्रेसको भन्दा १ हजार २५४ मतभारले बढि हो।

कांग्रेसलाई पहिलेको गठबन्धनमा रहेका लोसपा, जनमोर्चा र एकीकृत समाजवादीले साथ दिएमा पनि उसँग ३ हजार ३४२ मतभार मात्रै हुन्छ। यदि यहि गठबन्धन कायमै रहेको अवस्थामा गठबन्धनका उम्मेदवारको जित निश्चितजस्तै छ।

यद्यपि जनता प्रगतिशील पार्टी र स्वतन्त्र प्रदेश सभाका २ सांसद्ले दिने मतबारे अहिलेसम्म स्पष्ट धारणा आइसकेको छैन।

सत्तारुढ दलहरूले भने लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीलाई विश्वासको मत दिएकाले पनि जनता प्रगतिशील पार्टी र स्वतन्त्र २ सांसद्सहित एकीकृत समाजवादीले पनि मत दिनेमा आशावादी छ।

१३ माघ, २०७९, १९:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।