‘यो मन त मेरो नेपाली हो’ भनेर चिच्याउँदैमा कोही नेपाली नागरिक सावित हुँदैन

‘यो मन त मेरो नेपाली हो’ भनेर चिच्याउँदैमा कोही नेपाली नागरिक सावित हुँदैन

शुक्रबार निकै अशान्त रह्यो। सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी रहेको देशका नव–नियुक्त उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेको ‘नागरिकता’ माथिको छलफल आफैँमा महत्वपूर्ण कार्यसूची हो।

यसैपनि, पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेरले गिजलेर शिथिल बनाएको सर्वोच्च अदालत, त्यसमाथि नयाँ–नयाँ राजनीतिक मुल्लाहरूको नयाँ–नयाँ कारनामा। अझ, संसद भवनअगाडि प्रेम आचार्यले गरेको ‘आत्मदाह’को सम्झना राख्नैपर्ने गम्भीर मानवीय अवस्थामा परेका माननीय न्यायाधीशहरू।

प्रेम आचार्यको आत्मदाह नेपाली जनताका लागि र नेपालको राजनीतिका लागि एकदमै नयाँ कुरा हो। यसमा कुनै शंका छैनः प्रेम आचार्यले आत्मदाह गरेर नेपाली समाज, शासन–व्यवस्था र कथित आर्थिक मूल्यमा संरचनात्मक सुधारको खोजी गरेका छन्।

आत्मदाह गरेर भ्रष्ट सरकार र जनताका विरोधमा खडा गरिएका मान्यतालाई चुनौती दिने अन्यत्रका मानिसहरूका बारे नेपाली जनताले समाचार त पक्कै पढेका, सुनेका र देखेका थिए। तर, नेपाली समाजभित्रै आफ्नो जीवनको आहूति दिएर समाजलाई सचेत बनाउने व्यक्ति पनि होलान् भन्ने सोचेका पनि थिएनन् होला।

इलामका प्रेम आचार्यले २०४७ पछि, विभिन्न समयमा बनेका देशका सरकारहरूद्वारा पालित, पोषित र संरक्षित विकृत आर्थिक, प्रशासनिक र सामाजिक व्यवस्थाका कारण आपूmले आत्मदाह गर्नुपरेको सत्यको झण्डा फहराउँदै संसद भवनकै अगाडि आत्मदाह गरे।

आचार्यले जनताले चुनेका प्रतिनिधिहरूले जनताका समस्यामा ‘छलफल’ गर्ने सदनको अगाडि आफनो ज्यानको आहूति दिएर नेपाली समाजमा बनमारा झार झैँ फैलिएको आर्थिक, राजनीतिक र सामाजिक विकृतिहरूको भण्डाफोर गरे। 

आचार्यको आत्मदाहको आवाज हजारौं वर्षदेखि काइ जमेको पोखरीमा ढुंगा हिर्काउँदा छरिने ‘व्छाप्लांग’को आवाज चारैतिर छरिएजस्तै छरियो। त्यो आवाज कान्तिपुरको ठालू समाजको कानमा पनि पक्कै पर्याे। त्यो आवाज देशभरि नै चर्को सुनियो।

प्रेम आचार्यले आत्मदाह गरेको घटनाले जनता हतप्रभ भए। पत्रकारहरू भावुक भए। उनीहरूले प्रेम आचार्यको आत्मदाहको समाचार कसरी र कुन एंगलमा प्रस्तुत गर्ने? सोच्नै सकेनन्। प्रेम आचार्यको आत्मदाहको प्रभाव कति चर्को छ? त्यसको भेउ न जनताले पाउन सके, न सरकारले पायो।

आत्मदाहपछि आचार्यलाई तमाशाका रूपमा प्रयोग गर्ने चेष्टा धेरैले गरे। देश र जनताको रक्षा गर्ने शपथ खाएर सेना र प्रहरी सेवामा लागेका जवानहरू संसद भवन परिसरमा टन्नै थिए। तर, कसैले पनि आगोको लप्कामा जली रहेका आचार्यलाई लप्का बाहिर ल्याउने चेष्टा गरेको देखिएन।

प्रेम आचार्यको दुःखद निधनपछि उनले यसो गर्नु हुँदैनथ्यो र उसो गर्नु हुँदैनथ्यो भन्ने बिव्दत वर्गको संख्या ह्वात्तै बढेको छ।  धेरै विद्धानहरूले ‘आत्मदाह’ जस्तो ‘कायर’ कर्मलाई महिमा मण्डित नगर्न ‘आव्हान’ गरेका छन्। हो, शास्त्रले भनेको छ– ‘आत्महत्या कायर कर्म हो।’ तर, शास्त्रले यो पनि भनेको छ– ‘कुशासन र भ्रष्टाचार महापाप हो।’

हाम्रो देशको बिडम्बना के हो भने यहाँका हुनेखाने वर्गका मानिस नै ‘राष्ट्रसेवक’ हुन्छन्, राष्ट्रसेवा गरेबापत यथेष्ट ‘नजराना’प्राप्त गरेपछि उनीहरू नै समाज सुधारक हुन्छन् र त्यसपछि विभिन्न संवैधानिक पदहरूको जिम्मेवारी ग्रहण गर्ने दायित्व पनि उनीहरूकै हुन्छ।

शक्तिको वरिपरि झुम्मिने र त्यसैको मातले मात्तिने मानिसहरूको कमी छैन देशमा। राजनीतिको नाममा देशको हुर्मत लिन तयार रहेको छ एउटा वर्ग, जो राजनीतिमा नाममात्र भिन्न भएका र चरित्र एउटै भएका समूहका रूपमा देखिन्छन्।

कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, मधेशका नेताहरू महन्थ ठाकुर, सीके राउत, उपेन्द्र यादव– यी सबैको लिंग, वर्ण र वर्ग एकै हुन्। त्यसपछि आएका स्वतन्त्र–परतन्त्र समाजका नेताहरूको वर्ग पनि समान नै रहेको छ।

यी नेताहरूले आफ्नो बायोडाटामा आफू समाज सेवकका रूपमा रहेको देखाएका हुन्छन्। अहिलेका नयाँ नेताहरूका लागि देशभक्ति समस्या बनेको देखिन्छ। उदाहरणका लागि देशका उप–प्रधानमन्त्री तथा गृहमन्त्री रहेका रवि लामिछानेलाई नै हेरौं।

उनी असंदिग्ध हिसावले आफूलाई नेपालको नागरिक हूँ भन्न हिचकिचाइ रहेका छन्। बिन्दास शैलीमा ‘यो मन त मेरो नेपाली हो’ भनेर चिच्याउँदैमा कोही नेपाली नागरिक सावित हुँदैन।

रवि छलिया हुन्। उनी भन्छन्, ‘मसँग नेपालको कागजी नागरिकता भए पनि नभए पनि म नेपाली हूँ। उनको यो ‘छलिया’ रूपलाई यथावत कायम राख्न अहिले प्रधानमन्त्री प्रचण्ड आफैँ भिडेका छन्।

चितवनको क्षेत्र नम्बर दुईबाट भारी मतले चुनाव जितेकै आधारमा देशको नागरिकता जस्तो अहम प्रश्नमा समेत छल गर्न पछि नहटने एउटा व्यक्तिका पक्षमा सरकारका फौजी, प्रहरी, प्रशासन लगायत सबै शक्ति एकत्रित भएका छन्। यसो हुनु भनेको नेपालको सार्वभौम सत्ताका स्वामी नेपाली जनताको घोर अपमान हो।

रवि लामिछानेको नागरिकता मुद्दा प्रकरण सुरू भएदेखि काठमाडौंको समाजमा निकै बाक्लो हल्ला चलेको छ। रवि लामिछानेको कथित स्वतन्त्र राजनीतिमा पूर्व महाराज ज्ञानेन्द्रकी पुत्रवहू हिमानी शाहको गम्भीर चासो छ। मैले नेपाली पत्रकारितामा संगालेको पाँच दशकभन्दा बढिको अनुभवको आधारमा म यति भन्न सक्दछु– ‘काठमाडौंमा चल्ने हल्ला सत्यका प्रतिलिपि हुन्छन्।’

रवि लामिछानेको मुद्दाको टुंगो आजै लाग्ने छ कि त्यसले अरु केही दिनको म्याद लिनेछ? यो यसै भन्न सकिँदैन। चुनावको त के कुरा भयो र? हाम्रो देशमा जसले बढि पैसा खर्च गर्छ त्यसले चुनाव जित्छ। रविले पैसा खर्च गरेका छन्। उनका शुभेच्छुकहरू धनाढ्य छन्। उनले चुनाव जित्छन्। उनले चुनाव जिते भन्दैमा कानून मिच्न त पाउँदैनन् होला।

जस्तो कि, मेरा अनन्य मित्र तथा देशका टेलि–व्यक्तित्व विजयकुमार भन्ने गर्दछन्– ‘यो युग वैश्य युग हो।’

अर्थात, वैश्य युगमा वैश्यहरूजे चाहन्छन् त्यही हुन्छ।

१३ माघ, २०७९, १६:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।