भक्तपुर क्यान्सर अस्पतालले खरिद गर्न लागेको २१ करोड ८० लाखको सिटी स्क्यान मेसिनमा सेटिङको आशंका

भक्तपुर क्यान्सर अस्पतालले खरिद गर्न लागेको २१ करोड ८० लाखको सिटी स्क्यान मेसिनमा सेटिङको आशंका

काठमाडौंः भक्तपुर क्यान्सर अस्पतालले करिब २१ करोड ८० लाख मूल्यको सिटी स्क्यान मेसिन खरिद गर्ने तयारी गरेको छ। अस्पतालको स्रोतका अनुसार ‘२५६’ स्लाइसको सिटी स्क्यान मेसिन खरिद गर्ने तयारी भएको हो।

तर, निश्चित एउटा कम्पनीलाई मात्रै मिल्ने गरी प्राविधिक स्पेसिफिकेशन बनाएर कमिशनको सेटिङमा सिटी स्क्यान मेसिन खरिद गर्ने तयारी भएको स्रोतको दावी छ।

अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. विष्णु दत्त पौडेलले भने सिटी स्क्यान मेसिन खरिदमा अनियमितता हुन नदिने दावी गरेका छन्। 

कार्यकारी निर्देशक डा. पौडेलले समेत थाहा नपाउने गरी केही कर्मचारीले एउटा निश्चित कम्पनीको सिटी स्क्यान मेसिनसँग मात्रै मिल्ने गरी प्राविधिक स्पेसिफिकेशन तयार गरेर कमिशनको सेटिङ मिलाएको स्रोतको दावी छ।

'सिमेन्स' कम्पनीको मेसिनसँग मात्रै मिल्ने गरी खरिद गर्ने गरी प्राविधिक स्पेसिफिकेशन तयार भएको स्रोतले बताएको छ।

नेपालमा सिमेन्स कम्पनीको सप्लायर 'इष्टवेष्ट कन्सर्न' हो। सिमेन्स युरोपियन कम्पनी हो। त्यसैगरी 'फिलिप्स'को सप्लायर कम्पनी 'हस्पिटेक इन्टरप्राइजेज' हो। फिलिप्स अमेरिकन कम्पनी हो। 'हिटाची'को सप्लायर 'क्यापिटल इन्टरप्राइजेज' हो। हिटाची जापानिज कम्पनी हो। 'जिई' कम्पनिको सप्लायर 'म्याक्स मेडिटेक' हो। जिई अमेरिकन कम्पनी हो। 'युनाइटेड इमेजिङ'को सप्लायर 'लुम्बिनि हेल्थ केयर' हो। युनाइटेड इमेजिङ चिनियाँ उत्पादक कम्पनी हो।

सिमेन्स, फिलिप्स र जिईका सप्लायरलाई लागत अनुमानका लागि पत्र पठाएको अस्पताल स्रोतले जानकारी दियो।

अस्पताल स्रोतका अनुसार सिटी स्क्यान मेसिन खरिदका लागि स्पेसिफिकेशन कमिटीले प्राविधिक स्पेसिफिकेशन तयार गरिसकेको छ। प्राविधिक कमिटीबाट प्राविधिक स्पेसिफिकेशन स्वीकृत भइसकेको छ।

अस्पतालका एक कर्मचारीका अनुसार अस्पतालले नै प्राविधिक स्पेसिफिकेशन तयार गरेको हो। प्राविधिक स्पेसिफिकेशन बनाउन अस्पतालकै बायोमेडिकल इन्जिनियर, चिकित्सक र प्राविधिक संलग्न रहेको अस्पतालका सम्बन्धित एक कर्मचारीले जानकारी दिए।

‘डिपार्टमेन्टका डक्टर बस्नुहुन्छ। बयोमेड बस्नुहुन्छ। टेक्निसियन बस्नुहुन्छ’, ती कर्मचारीले भने।

अहिले सिटी स्क्यान मेसिनको लागत अनुमान तयार गर्ने काम भइरहेको अस्पताल स्रोतले जानकारी दियो। ‘स्पेसिफिकेशन कमिटीले स्पेसिफिकेशन बनाएको छ’, अस्पताल स्रोतले भन्यो, ‘लागत अनुमान बनाउने काम भइरहेको छ अहिले।’

लागत अनुमान तयार गर्न तीन कम्पनीलाई चिठी
लागत अनुमान तयार गर्नका लागि अस्पतालले सप्लायर कम्पनीहरूलाई चिठी पनि पठाइसकेको अस्पताल स्रोतले जानकारी दियो। ‘तीन वटालाई चिठी पठाएको छ। कोटेशनहरू पठाएको छ, तीन वटालाई’, स्रोतले भन्यो। 

सिमेन्स, फिलिप्स र जिईका सप्लायरलाई लागत अनुमानका लागि पत्र पठाएको अस्पताल स्रोतले जानकारी दियो।

सामान्यतया कम्तीमा तीन वटा कम्पनीसँग दररेट मागेर लागत अनुमान तयार गरी टेण्डर प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ।

सप्लायर कम्पनीले मेसिन खरिद गर्न सक्ने अनुमानित मूल्य अस्पताललाई पठाइसके पनि केही नमिलेको प्रसङ्ग सुनाए अस्पतालका एक कर्मचारीले। 

‘(सप्लायरले) कोटेशन दिएका छन्। त्यहाँ चाहिँ फेरि के मिलेन के मिलेन भन्ने कुराहरू आएको छ’, ती कर्मचारीले भने।

सामान्यतया मेसिन खरिदको लागि टेण्डर आह्वान गर्नुअघि खरिद गर्ने मेसिनको लागत अनुमान तयार गर्न मेसिन खरिदका लागि बोलपत्र पेश गर्ने सम्भावित सप्लायर कम्पनीहरूमा प्राविधिक स्पेसिफिकेशन पठाइन्छ। 

सप्लायरले दिएको मेसिन खरिदका लागि लाग्ने सम्भावित लागत रकमको आधारमा टेण्डर गर्ने संस्थाले लागत अनुमान तयार गर्छ। 

सामान्यतया कम्तीमा तीन वटा कम्पनीसँग दररेट मागेर लागत अनुमान तयार गरी टेण्डर प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ।

मन्त्रालयमा फाइल पठाउन बाँकी
अस्पताल स्रोतका अनुसार आर्थिक स्वीकृतिका लागि अस्पतालले स्वास्थ्य मन्त्रालयमा फाइल पठाउन बाँकी नै छ। प्राविधिक स्पेसिफिकेशन तयार भइसकेको र आर्थिक अनुमान तयार गर्ने प्रक्रियामा रहेकाले आर्थिक अनुमान तयार भएपछि स्वास्थ्य मन्त्रालयमा स्वीकृतिका लागि फाइल पठाउने तयारी भइरहेको छ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेलले सिटी खरिदका लागि लागत अनुमान स्वीकृति दिनुपर्ने देखिन्छ। सचिव पोखरेलले लागत अनुमान स्वीकृत गरेपछि अस्पतालले सो सिटी खरिदका लागि टेण्डर आह्वान गर्न सक्छ।

‘मन्त्रालयमा स्वीकृतिका लागि पठाउन बाँकी छ। अलि समयपछि (मन्त्रालयमा स्विकृतिका लागि फाइल) पठाउँछौं’, अस्पताल स्रोतले भन्यो।

सार्वजनिक खरिद नियमावली अनुसार २० करोडभन्दा बढी रकमको लागत अनुमान भएमा विभागीय प्रमुखबाट स्वीकृति लिनुपर्ने हुन्छ। 

नियमावलीमा भनिएको छ, ‘विभागीय प्रमुख भन्नाले कुनै मन्त्रालय अन्तर्गतको विभाग वा सो सरहको अन्य कार्यालयको प्रमुखको रूपमा काम गर्ने पदाधिकारी सम्झनुपर्ने हुन्छ।’ 

सो नियमअनुसार स्वास्थ्य सचिव डा. रोशन पोखरेलले सिटी खरिदका लागि लागत अनुमान स्वीकृति दिनुपर्ने देखिन्छ। सचिव पोखरेलले लागत अनुमान स्वीकृत गरेपछि अस्पतालले सो सिटी खरिदका लागि टेण्डर आह्वान गर्न सक्छ।

१३ माघ, २०७९, ०९:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।