कान्छीको सङ्घर्ष : एक महिना लगाएर गलैँचा तयार पार्छिन्, तर जम्मा पाँच हजार पाउँछिन्

कान्छीको सङ्घर्ष : एक महिना लगाएर गलैँचा तयार पार्छिन्, तर जम्मा पाँच हजार पाउँछिन्

२० वर्षको उमेरदेखि गलैँचा बुन्दै आएको कान्छी माली अहिले ४० वर्ष पुगिन्। उनले कक्षा ५ सम्म पढेकी छिन्।

कान्छीलाई पढ्नुभन्दा धेरै आफूले कसरी कमाएर खाने भन्ने पीर थियो। घरको आर्थिक अवस्था खासै राम्रो थिएन।

बुवा खेती किसानी गर्थे। त्यसले मात्र साँझ-बिहानको छाक टार्न मुस्किल हुन्थ्यो।

यस्तोमा चार जना छोराछोरीले पढ्न, लेख्न पाउनु त परको कुरा। यही कारण कान्छीले कक्षा ५ पढ्दै गर्दा विद्यालय सधैँलाई छाडिन्। कान्छीले पछि प्रौड शिक्षा त पढिन् तर खासै पढाइमा मन भुलाउन सकिनन्।

उनी दिदीसँग घर नजिकैको गलैँचा कारखानामा गलैँचा बुन्ने काम सिक्न जान्थिन्। काम सिकेपछि उनले त्यही कारखानामा काम गर्न थालिन्।

यहीबीचमा विकास मालीसँग उनको प्रेम विवाह भयो। त्यति बेला उनी १८ वर्षकी मात्र थिइन्। पुरानो कुरा सम्झिँदै हास्दै उनले भनिन्, 'बाल विवाहमा पो पर्छ कि के हो, है!'

विवाहपछि पनि उनी घरको काम सकाएर गलैँचा बुन्न पुग्थिन्। श्रीमान् विकासको पनि सहयोग छ उनलाई।

कान्छी आफ्नो कामबाट सन्तुष्ट छिन्। उनी भन्छिन्, 'पहिलाको भन्दा अहिले राम्रो पैसा दिन्छ, पहिला मैले एउटा गलैँचा बुन्दा तीन सय लिन्थेँ भने अहिले पाँच हजार जति लिन्छु, तर समय भने एकदम धेरै लाग्छ।' 

उनलाई एउटा गलैँचा तयार पारी बजारसम्म पुर्याउन करिब १ महिना जति लाग्ने रहेछ। त्यसैमाथि घरको सबै काम सकाएर मात्र कारखाना आउँछिन्।

'कहिलेकाहीँ त घर र खेतमा काम हुँदा, कारखाना आउन पनि भ्याउँदिनँ', उनले भनिन्।

१३ माघ, २०७९, ०७:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।