'गुलावी एक रङ्ग' फिल्मका लागि ट्रान्सजेन्डर महिला बने नाजिर

'गुलावी एक रङ्ग' फिल्मका लागि ट्रान्सजेन्डर महिला बने नाजिर

काठमाडौं: ट्रान्सजेन्डर महिलाको कथामा बन्न लागेको फिल्म 'गुलावी एक रङ्ग' को क्यारेक्टर पोष्टर सार्वजनिक भएको छ। फिल्ममा मुख्य पात्रको भूमिका निभाएका कलाकार नाजिर हुसेनले फेसबुकमा रिल भिडियो बनाएर फिल्मको पहिलो पोष्टर सार्वजनिक गरेका हुन्।

उनले भिडियोमा आफूले अर्कै जीवन बिताएको भन्दै सुन्दरी गुलावीसँग भेट गराएका छन्। गुलावीकै भूमिका निर्वाह गरेका नाजिर पोष्टरमा निकै फरक देखिएका छन्।

फिल्मकी निर्देशक समुद्र भट्टले कोभिड- १९ को समयमा ट्रान्सजेन्डर महिलाको भयावह अवस्था देखेपछि फिल्म बनाउने सोचेको बताइन्। उनले भनिन्, 'मेकअप आर्टिष्ट नीलम पौडेलले कोभिडको समयमा एलजीबीटीक्यूआई प्लस समुदायका मानिसको बिचल्ली भएको बताएपछि खाना खुवाउन गएकी थिएँ। सानो जस्तापाताले बारेको घरमा ३२ जना बसेका थिए। त्यो देखेर मैले सहन सकिनँ। उनीहरूसँग सङ्गत गर्दै जाँदा नजिकबाट उनीहरूलाई बुझ्ने मौका पाएँ।'

यदि कोभिडले लकडाउन नभएको भए आफूले अर्के प्रेमकथामा आधारित फिल्म बनाउने सोचेको उनले बताइन्। तर, ट्रान्सजेन्डर महिलाहरूलाई भेटेपछि यसै विषयमा फिल्म बनाउने सोचेको उनले खुलाइन्।

नेपालमा पूर्णरूपमा 'ट्रान्स वुमन'को कथामा पहिले फिल्म नबनेको तर मारुनी, बागमती लगायतमा थोरै विषय उठान गरेको समुद्रले बताइन्।

फिल्ममा एक ट्रान्स महिलाको बाल्यकालदेखि युवावस्थासम्मको यात्रा देखाइएको उनको भनाइ छ।

१२ माघ, २०७९, ११:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।