'पठान' फिल्ममा कुन-कुन दृश्यमाथि सेन्सर गरियो ?

'पठान' फिल्ममा कुन-कुन दृश्यमाथि सेन्सर गरियो ?
फिल्मबाट सेन्सर गरिएको दृश्य

एजेन्सी: चार वर्षपछि ठूलो पर्दामा फर्किएका शाहरुख खानको फिल्म 'पठान' हिजोबाट विश्वभर रिलिज भइसकेको छ। पठान सुरुमा त बोयकट ट्रेण्ड (बहिष्कार गर्ने)को शिकार पनि भएको थियो।

फिल्मको 'बेशरम रङ्ग' बोलको गीत रिलिज हुनासाथ नायिका दीपिका पादुकोणले लगाएको बिकिनीको रङ्गमा हिन्दूवादी संघसंगठनहरूले आपत्ति जनाएका थिए।

तर, पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनपछि भारतीय जनता पार्टीसँग सम्बन्धित हिन्दूवादी समूहले विरोध नगर्ने भएको थियो। यद्यपि, फिल्ममा भएका थुप्रै दृश्यमाथि सेन्सर बोर्डले कैँची चलाएको भने थियो।

जस्तो, सुन्तला रङ्गको बिकिनी लगाएर 'बेशरम रङ्ग' भन्दै दीपिकाले शाहरुखसँग निकै बोल्ड सिन दिएकी थिइन्। सेन्सर बोर्डले उक्त बोल्ड सिनलाई हटाउन निर्देशन दिएको थियो। जुन दृश्यलाई फिल्मबाट हटाइएको छ।

सुरुमा रिलिज भएको ३ मिनेट १३ सेकेण्डको गीतमा ३ मिनेटमा उक्त बोल्ड सिन थियो। जसमा अहिले अर्कै सिन राखिएको छ।

यस्तै फिल्ममा प्रयोग भएको पीएमओ र मिसेज भारत माता जस्ता शब्द पनि हटाइएको छ।

यस्तै फिल्ममा अशोक चक्र भनेर प्रयोग गरिएको पुरस्कारलाई सेन्सर बोर्डको आदेशपछि वीर चक्र भनेर नाम परिवर्तन गरिएको छ।

यसैगरी १३ वटा सिनमा पीएम, पीएमओ, राष्ट्रपति र मन्त्री जस्ता शब्दको प्रयोग गरिएको थियो। यिनलाई पनि हटाइएको छ।

फिल्ममा कलाकार आशुतोष राणाले केही सैनिकलाई 'लुलो लङ्गडो' भनेर गरेको सम्बोधनलाई पनि परिवर्तन गर्दै 'टुटे फुटेको' भन्ने शब्द प्रयोग गरिएको छ। रुसी जासुसी संस्था 'केजीबी'को नाम प्रयोग भएको स्थानमा 'एसबीयू' शब्द प्रयोग भएको छ।

'सस्तो स्कच' भनिएको सिनबाट स्कच शब्द हटाइएको छ। ब्ल्याक प्रिजन रुस भनेको दृश्यमा रुस शब्द हटाइएको छ।

१२ माघ, २०७९, ०९:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।