लुम्बिनीमा ९ दिनसम्म मोरारी बापुबाट ‘रामकथा प्रवचन’ हुने

लुम्बिनीमा ९ दिनसम्म मोरारी बापुबाट ‘रामकथा प्रवचन’ हुने

बुटवल : बुद्ध जन्मस्थल लुम्बिनीमा भारतका प्रख्यात आध्यात्मिक गुरू मोरारी बापुबाट ‘श्री रामकथा प्रवचन’ हुने भएको छ।

माघ २१ गतेदेखि २९ गतेसम्म लुम्बिनीको अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभाहलमा हुने प्रवचनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

९ दिनसम्म हुने प्रवचनमा भारत तथा नेपालका २ हजार बढि श्रद्धालुको सहभागिता रहने राम कथा प्रेम यज्ञ समिति, लुम्बिनीका संयोजक राजेश कुमार अग्रवालले जानकारी दिए।

कार्यक्रमबारे जानकारी दिन बुधबार लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै अग्रवालले प्रवचन कार्यक्रमले लुम्बिनीलाई विश्वसामु परिचित गराउन सहयोग गर्ने अपेक्षा व्यक्त गरे।

आध्यात्मिक गुरु मोरारीको लुम्बिनीमा ९१२ औं राम कथा आयोजना हुन लागेको हो। ‘साँचो प्रेम र करुणा’ को सन्देश लिएर विश्व यात्रामा रहेका उनले सबै धर्मका प्रमुख तीर्थ स्थलहरू एवम् प्रमुख स्थानहरूमा प्रवचन गर्दै आएका छन्।

अभियान अन्तर्गत भारतको बोधगया, सारनाथ तथा कुशीनगरमा रामकथा प्रवचन सम्पन्न भइसकेको छ। नेपालमा पनि पछिल्लो डेढ वर्षमा तेस्रो पटक लुम्बिनीमा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो।

प्रवचनमा भक्तजनका लागि निःशुल्क भोजन गराउनुका साथै कार्यक्रमका अवसरमा विश्व शान्तिको कामना गर्दै ९१२ वटा विरूवा लगाउने कार्यक्रम भएको संयोजक अग्रवालले जानकारी दिए।

धर्म गुरु मोरारी यही माघ २० गते चार्टर्ड विमानमार्फत सिधै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अवतरण गर्ने कार्यक्रम रहेको आयोजकका प्रतिनिधि कृष्णकुमार जालानले जानकारी दिए।

त्यसलगत्तै भगवान बुद्धको जन्मस्थलको दर्शन गरी बुद्ध लुम्बिनी गार्डेन होटलमा तयार गरीएको आफ्नो आवासमा पुग्ने कार्यक्रम रहेको छ। यसअघि सन २०१९ मा लुम्बिनीमा तय गरिएको प्रवचन कार्यक्रम कोरोना महामारीका कारण स्थगित भएको थियाे।

११ माघ, २०७९, १३:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।