‘स्पिरिट’ बाट बनेकाे विषाक्त रक्सी पिउँदा बिहारमा आठ जनाको मृत्यु, ६ जनाले आँखाको ज्योति गुमाए

‘स्पिरिट’ बाट बनेकाे विषाक्त रक्सी पिउँदा बिहारमा आठ जनाको मृत्यु, ६ जनाले आँखाको ज्योति गुमाए

एजेन्सीः भारतको पूर्वी राज्य बिहारमा विषाक्त मदिरा सेवनबाट आठ जनाको मृत्यु भएको छ। त्यसैगरी, अन्य ६ जनाले आँखाको ज्योति गुमाएकाे बताइएकाे छ।

विषाक्त मदिरा पिएर बिरामी परेका १४ जनाको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने जनाइएको छ।

मदिरा सेवनपछि बिरामी भएकामध्ये ११ जनालाई पटना मेडिकल कलेज अस्पताल र तीन जनालाई गोरखपुर अस्पतालमा भर्ना गरिएको छ। 

घटना बिहारको राजधानी पटनाबाट करिब १०७ किलोमिटर उत्तरपश्चिममा रहेको सिवान जिल्लाको लकरी नबगञ्जमा भएकाे हाे।

गत महिना मात्र विषाक्त मदिरा सेवनबाट बिहारको शारण जिल्लामा ९० जनाले ज्यान गुमाएका थिए। 

स्यानिटाइजर बनाउने बहानामा कोलकाताबाट ल्याइएको ‘स्पिरिट’ बाट नक्कली मदिरा उत्पादन गरिएको बिहारका प्रहरीले बताएका छन्।

प्रहरीले विषाक्त मदिरा बिक्री गरेको अभियोगमा १६ जनालाई पक्राउ गरेको छ भने अनुगमन नगरेको आरोपमा दुई जना अधिकारीलाई निलम्बन गरिएको छ।

माघ १०, २०७९ मंगलबार १७:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।