उकेरा मन्थन

सामाजिक सञ्जालको जालोमा बालबालिका, कसरी जोगाउने?


स्केच : द न्यूयोर्क टाइम्स

सोचौँ त तपाईं हामी इन्टरनेटविना कति समय बिताउन सक्छौँ? एकछिन सामाजिक सञ्जाल चलाउन पाएनौं भने पानीविनाको माछा जस्तै हुन्छौँ। बालकदेखि वृद्धसम्म बिहान उठ्ने बित्तिकैदेखि बेलुका सुत्नलाई पनि त्यहि मोबाइलमा सामाजिक सञ्जाल चलाउन हामी अभ्यस्त छौँ।

इन्टरनेटको माध्यमबाट ज्ञानगुनका कुरा सिक्ने, सिक्न चाहेको कुरा खोज्ने, आफन्त तथा साथीहरूसँग सम्पर्क बढाउने, अनलाइन कक्षा लिने, चलचित्रहरू हेर्ने, आदि राम्रा–राम्रा कुराहरू पनि भइरहेका छन्। यहि इन्टरनेटले समय बर्बाद भएको, अनावश्यक झमेला वा समस्यामा परेको, परिवार बिखण्डन भएको, सामाजिक सद्भाव खलबलिएको, हत्या तथा आत्महत्याका घटनाहरू भएको सामाचारहरू हामीले बग्रेल्ती पढेका र सुनेका छौं।

बालबालिका, किशोरकिशोरी, महिला, पुरुष, जेष्ठ नागरिक, जसले पनि सामाजिक सञ्जालको राम्रा तथा नराम्रा पक्षहरूको महसुस वा अनुभव गरेका छन्। यसबाट अझ बालबालिका र किशोकिशोरहरू बढि मात्रामा अनलाइनबाट दुर्व्यवहारमा परेका छन्।

अनलाइनबाट हुने बाल दुर्व्यवहार
फेसबुक, म्यासेन्जर, टिकटक, युट्युब, भाइबर, ट्विटर, ह्वाट्सएप, इमो, इन्स्टाग्राम आदिजस्ता सामाजिक सञ्जालहरूको प्रयोग गरी बालबालिकाको शारीरिक, मानसिक, शैक्षिक, सामाजिक विकास तथा अवस्थामा असर पर्ने क्रियाकलापहरू अनलाइनबाट हुने बाल दुर्व्यवहार हो। बालबालिका अनलाइनको माध्यमबाट सबैभन्दा बढि यौन दुव्र्यवहार र शोषणमा पर्ने गरेका छन्।

सूचना र सञ्चार प्रविधिको प्रयोग गरी अनलाइनबाट वयष्क व्यक्तिले विभिन्न प्रकारबाट बालयौन दुर्व्यवहार र शोषण गर्ने गर्छन्। कतिपय अवस्थामा ठूला व्यक्तिको नक्कल तथा उनीहरूबाट परिचालित भएर बालबालिका स्वयंले आफ्ना साथीहरूलाई पनि अनलाइनबाट दुर्व्यवहार र शोषण गरेका प्रमाणहरू छन्। ती व्यक्तिहरूले आफ्नो यौन चाहना पूरा गर्न, पैसा वा अन्य लाभ लिन र बदलाको भावना लिइ यौनजन्य कार्य गर्ने गर्दछन्।

अनलाइनबाट बालबालिकालाई फकाउनु, यौनजन्य सन्देश, भिडियो र फोटो पठाउनु, नग्न फोटो खिच्न र भिडियो बनाउन लगाउनु सामाजिक सञ्जालबाट हुने बालयौन दुर्व्यवहारका केहि स्वरुपहरू हुन्।

यस्तै, बालबालिकाको अश्लील फोटो र भिडियो सामाजिक सञ्जालमा राख्नुका साथै उनीहरूलाई अनलाइनबाट डर, धम्की र त्रास देखाएर दुव्र्यवहार र शोषण गर्नु, अश्लील साइटहरू हेर्न लगाउनु र अनलाइनबाट नै यौन कार्यमा संलग्न गराउनु पनि यसका अन्य स्वरूप हुन्।

अनलाइन बाल दुर्व्यवहारसम्बन्धी तथ्य
सन् २०२१ जुनमा प्रकाशित नेपाल दूरसञ्चार प्राधिकरणको प्रतिवेदनअनुसार ९१ प्रतिशत जनसंख्यामा इन्टरनेटको पहुँच छ र डिजिटल २०२२ नेपालका अनुसार १ करोड २३ लाख जनसंख्याले फेसबुक प्रयोग गर्दछन्। जनसंख्याको अनुपातमा हेर्ने हो भने पनि ४०–४५ प्रतिशत प्रयोगकर्ताहरू बालबालिका नै भएको अनुमान गर्न सकिन्छ।

आ.व.२०७७/७८ मा नेपाल प्रहरी केन्द्रीय साइबर ब्युरोको तथ्याङ्कअनुसार २०८ जना बालबालिका साइबर अपराधमा परेको भनी उजुरी दर्ता भएका थिए। यसैगरी सन् २०१७ मा भ्वाइस अफ चिल्ड्रेन र एक्प्याट ईसीप्याट लक्जेम्बर्गले काठमाडौं उपत्यकाका ५ देखि १२ वर्ष उमेर समूहका ४५२ बालबालिकासँग गरिएको सर्वेक्षण अनुसार ७५ प्रतिशत बालबालिकाले अनलाइनबाट हुने यौन दुर्व्यवहारबाट सुरक्षित हुने उपायहरूबारे थाहा नभएको बताएका थिए।

प्रत्येक व्यक्तिको हात–हातमा पुगेको मोबाइल अनि इन्टरनेटका माध्यमबाट बालबालिकाको शैक्षिक, संवेगात्मक, सामाजिक विकासमा धेरै फाइदा पुगे पनि उनीहरूको विकासमा प्रतिकुल असर पनि अत्यधिक मात्रामा परेको छ।

अनलाइन तथा अफलाइनका सञ्चार माध्यममा सधैँजसो आउने समाचारहरूबाट पनि बालबालिका समस्यामा परेको कुरा पुष्टि हुन्छ। तर, हाम्रो देशमा प्रभावकारी तथ्याङ्क संकलनको माध्यमको अभाव छ जसले गर्दा यससम्बन्धी सही तथ्याङ्कको कमी छ।

अनलाइन बालयौन दुर्व्यवहारबाट कसरी जोगिने?
जहाँ समस्या त्यहाँ उपाय भनेजस्तै सबैले सुरक्षित रूपमा सामाजिक सञ्जाल चलाएको अवस्थामा सुरक्षित रहन सकिन्छ। तर गोपनियता र सुरक्षित रहने नीतिनियम अनुसरण नगर्दा समस्यामा फसेका घटनाहरू छन्।

आफ्नो फेसबुक वा अन्य सञ्जालको पासवर्ड राख्दा अक्षर, संकेत र अंक मिलाएर राख्ने, अरुलाई पासवर्ड नदिने, सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत विवरण नराख्ने र चिनजानका व्यक्तिहरूलाई मात्र सामाजिक सञ्जालमा साथी बनाउनुपर्छ।

यसैगरी अपरिचित व्यक्तिहरूले पठाएको शंकास्पद लिंकहरू नखोल्ने, कसैको दवाव, प्रलोभन र डरमा सामाजिक सञ्जालमा फोटो र भिडियो नराख्ने र यौनजन्य क्रियाकलापमा संलग्न नहुने र अनलाइनमा चिनेको भरमा कसैलाई पनि भेट्न जानु हुँदैन।

विशेषगरी आफ्ना बालबालिकाले सामाजिक सञ्जालमा गरेका क्रियाकलापहरूमा निगरानी राख्ने र सामाजिक सञ्जाल चलाउँदा आइपरेका समस्याहरूबारे खुलेर कुरा गर्न अभिप्रेरित गर्नुपर्दछ।

आजको डिजिटल युगमा सबैलाई इन्टरनेट र सामाजिक सञ्जाल आधारभूत तथा अत्यावश्यक आवश्यकता भइसकेको छ। हामीले हाम्रा बालबालिकालाई यसका राम्रा र नराम्रा पक्षहरूबारे सानैदेखि जानकारी दिएर प्रभावकारी अभिभावकीय भूमिका निर्वाह गर्नुपर्दछ।

(घिमिरे बालअधिकारकर्मी हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

Sagar nepal

धेरै जानकारी मुलक लेख । बालबालिका मात्र हैन अरु पनि इन्टरनेट बाट हुने साइबर अपराध बाट पीडित भएको र यस्तो बाट बच्ने विषयमा जानकारी नभएकालाई धेरै उपयोगी


सम्बन्धित समाचार

आफैँलाई जलाउने प्रेम आचार्य र विद्रोही बन्ने 'गोड्से' फिल्मका विश्वनाथ: दुवै भ्रष्ट सिस्टमभित्र पिल्सिएका पात्र

'गोड्से' पनि यस्तै एउटा व्यक्ति विश्वनाथ रामाचन्द्रको कथा हो। जो 'आफ्नै देशमा केही गर्छु, उद्योग खोलेर शिक्षित बेरोजगारहरूलाई रोजगार दिन्छु' भनेर विदेशमा भएको उद्योग धन्दा....

चित्र बनाएकाले 'चिसो कोठा'मा थुनिनेहरू

१९ गते राति प्रहरीले तीन जनालाई चौकी लान्छन्। तर उनीहरू अपराधी होइनन्। कुनै अभियोग पुष्टि भएको दोषी पनि होइनन्।  चित्रकारको समूह हो त्यो। एक- पोख्त,....

गम्भीर वित्तीय विचलनमा किन नरम भयो राष्ट्र बैंक !

नेपालका बैंक तथा वित्तीय संस्थाहरूले कर्जाको ब्याजदर निर्धारण गर्दा आधार दरलाई सन्दर्भ दरको रूपमा लिने गर्छन्। आधार दर भन्नाले कोष लागत प्रतिशत, अनिवार्य नगद लागत....

‘राजा नमान्ने अनि रुसलाई चाहिँ मान्ने?’

हामीहरू प्राणको बाजी लगाएर देशभित्र आयौं। हामी ती व्यक्ति हौं, जसको निर्देशनमा ओखलढुंगाजस्ता काण्डहरू भएका थिए। तसर्थ हामी निश्चय नै प्राणको बाजी लगाएर आएका थियौं।....

ती राज्यलक्ष्मी यी आरजु : सत्ता गुम्दा ‘शासकका’ श्रीमतीलाई  किन खलनायक बनाइन्छ?

उनको आनीबानी स्वभाव अनि राजनैतिक चातुर्यताबारे कमै उल्लेख गरिएको छ। तर त्यसको बेवास्ता गर्दै यदि बहादुर शाहले नायवी भएर शासन चलाएको भए पृथ्वीनारायण शाहले सुरु....