सुनिल शेट्टीकी छोरी अथिया र केएल राहुलको आज विवाह हुँदै, बलिउड-क्रिकेटको पुरानो सम्बन्ध

सुनिल शेट्टीकी छोरी अथिया र केएल राहुलको आज विवाह हुँदै, बलिउड-क्रिकेटको पुरानो सम्बन्ध

एजेन्सी: बलिउड अभिनेता सुनिल शेट्टीकी छोरी अथिया शेट्टी र भारतीय क्रिकेटर केएल राहुल आज विवाह बन्धनमा बाँधिदैछन्। पछिल्लो तीन वर्षदेखि उनीहरू एकअर्कालाई डेट गरिरहेका थिए।

उनीहरूको सम्बन्धको पुष्टि चाहिँ सन् २०२१ मा भएको हो। त्यतिबेला वर्ल्ड टेस्ट च्याम्पियनशिपको फाइनल खेल्न गएका राहुलसँग अथिया पनि इङ्ग्ल्याण्ड गएकी थिइन्।

म्याचका लागि जाने खेलाडीलाई आफ्नो पार्टनरसँग फ्लाइटमा जाने र बस्ने सुविधा पनि दिइने गरिन्छ। तर यसका लागि खेलाडीले आफ्नो पार्टनरको नाम आधिकारिक दस्तावेजमा लेखाउनुपर्नेछ।

यसैबेला राहुलले लजिस्टिक डिपार्टमेन्टको उक्त आधिकारिक दस्तावेजमा पार्टनरको नाममा अथियाको नाम दिएका थिए।

अथिया पनि बलिउड फिल्ममा देखिइसकेकी छिन्। यी दुईको विवाह खण्डालामा हुँदैछ। विवाहमा बलिउडसहित देशका ठूला हस्ती सामेल हुने बताइएको छ।

भारतमा क्रिकेट र बलिउडबीच यसअघि पनि नाता गाँसिइसकेको छ। सन् १९६८ मा आफ्नो जमानाकी चर्चित नायिका शर्मिला ट्यागोरले भारतीय क्रिकेट टोलीका तत्कालीन कप्तान मन्सूर अली खानसँग विवाह गरेकी थिइन्। यस्तै पछिल्लो बलिउड-क्रिकेट जोडी अनुष्का शर्मा र विराट कोहलीको हो।

यस्तै अमृता सिंह, सुष्मिता सेन, दीपिका पादुकोण जस्ता थुप्रै नायिकाको क्रिकेटरसँग अफेयर भए पनि विवाह भने हुन सकेन। अहिले पनि सारा अली खान, उर्वशी रौतेला जस्ता कलाकारको क्रिकेटरसँगै नाम जोडिने गरेको छ।

९ माघ, २०७९, ०९:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।