अमेरिकी राष्ट्रपति बाइडेनको घरमा १३ घण्टा खोजतलास, ६ गोप्य कागजात फेला

अमेरिकी राष्ट्रपति बाइडेनको घरमा १३ घण्टा खोजतलास, ६ गोप्य कागजात फेला

एजेन्सी: अमेरिकी न्याय विभागका अनुसन्धानकर्ताहरूले राष्ट्रपति जो बाइडेनको घरबाट ६ वटा थप गोप्य कागजातहरू फेला पारेका छन्। डेलावेयरको घरमा १३ घण्टा खोजी गर्दा ती कागजात फेला पारेर लगिएको बाइडेनका वकिलले भनेका छन्।

शुक्रबार जफत गरिएका ती कागजातहरू बाइडेन सिनेटर हुँदाको समयको र अरू बाराक ओबामाको राष्ट्रपतीय कार्यकालमा उपराष्ट्रपति हुँदाको हुन्।

वकिल बब बाउरका अनुसार "व्यक्तिगत रूपमा हस्तलिखित नोटहरू" र "वरपरका सामग्रीहरू" पनि लगिएको छ। खोजतलासका समयमा बाइडेन र उनकी श्रीमती उपस्थित थिएनन्।

बाउरले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति बाइडेनले न्याय विभागलाई आफ्नो घरमा खोजी गर्न अनुमति दिएका थिए।

यस महिनाको सुरुमा बाइडेनका वकिलहरूले भनेका थिए कि गोप्य कागजातहरूको पहिलो ब्याच नोभेम्बर २ मा पेन बाइडेन सेन्टरमा फेला परेको थियो। दोस्रो ब्याच २० डिसेम्बरमा उनको विल्मिंगटनको घरको गराजमा फेला परेको थियो। अर्को कागजात १२ जनवरीमा घरको भण्डार कोठामा भेटिएको थियो।

कागजातहरू फेला पारेपछि, आफ्नो टोलीले तुरुन्तै तिनलाई राष्ट्रिय अभिलेख र न्याय विभागमा बुझाएको राष्ट्रपतिले बताएका छन्। यद्यपि बाइडेनले ती कागजात किन राखे भन्नेबारे स्पष्ट पारिएको छैन।

राष्ट्रपतिको अभिलेख ऐनअन्तर्गत, कार्यकाल समाप्त भएपछि ह्वाइट हाउसका अभिलेखहरू राष्ट्रिय अभिलेखमा हुनुपर्दछ, जहाँ तिनीहरूलाई सुरक्षित रूपमा भण्डारण गर्न सकिन्छ।

संवेदनशील कागजातहरू कसरी राखियो भन्ने अनुसन्धानको नेतृत्त्व गर्न एक विशेष सल्लाहकार रोबर्ट हरलाई नियुक्त गरिएको छ।

यता कागजातहरू फेला पर्दै जानु राष्ट्रपति बाइडेनको लागि राजनीतिक टाउको दुखाइ हो, किनकि उनी २०२४ मा दोस्रो कार्यकालको लागि उम्मेदवारी दिने वा नदिने घोषणा गर्ने तयारी गरिरहेका छन्।

बाइडेन र उनकी श्रीमती जिल डेलावेयरको तटीय शहर रेहोबोथ बीचमा सप्ताहन्त बिताइरहेका छन्।

८ माघ, २०७९, १०:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।