डा. जगतको उपचार अनुभव : डाक्टरलाई काट्छु भन्दै खुकुरी बोकेर अस्पताल घेरेपछि भागभाग चल्यो

डा. जगतको उपचार अनुभव : डाक्टरलाई काट्छु भन्दै खुकुरी बोकेर अस्पताल घेरेपछि भागभाग चल्यो

काठमाडौं : करिब १४ वर्षअघि बैतडी जिल्ला अस्पतालमा काम गर्दाका केही घटना बाल छाती तथा सघन रोग विशेषज्ञ डा. जगत जीवन घिमिरेकोे मानसपटलमा ताजै छन्।

बैतडीमा श्रीमान् र श्रीमतीको शवको पोस्टमार्टम गर्दाको घटना सम्झँदा उनको मन अहिले पनि अमीलो हुन्छ। त्यो बेला श्रीकोट भन्ने स्थानमा करिब २५ वर्षका श्रीमान् र करिब २२ वर्षकी श्रीमतीको शव घरनजिकै बारीको पाटामा रुखमा झुण्डिको अवस्थामा फेला पर्यो।

स्थानीयले घटनाको बारेमा छानविन गर्न जिल्ला प्रशासन कार्यालयमा सिडिओलाई दवाव दिएछन्। स्थानीयले घटनास्थलमा नै गएर डाक्टरले शवको पोस्टमार्टम गरिदिनुपर्ने माग राखेछन्। दवाव थेग्न नसकेपछि डा. जगतलाई घटनास्थलमा नै गएर शवको पोस्टमार्टम गरिदिन सिडिओले अनुरोध गरेछन्।

तर, डा. जगतले भने घटनास्थलमा नै गएर पोस्टमार्टम गर्न नमिल्ने भएकाले शव जिल्ला अस्पतालमा नै ल्याउनुपर्ने जवाफ दिए। चिकित्सकीय नैतिकता र व्यवहारिक दृष्टिकोणले घटनास्थलमा नै गएर पोस्टमार्टम गर्न मिल्दैनथ्यो।

सिडिओको अनुरोधपछि डा. जगतले घटनास्थल नजिकै भएको स्वास्थ्य चौकीमा शव ल्याउन लगाए। दिनभर हिँडेर घटनास्थल नजिकै रहेको स्वास्थ्य चौकीमा पुगेर उनले पोस्टमार्टम गरे। दुवैले आत्महत्या गरेको पुष्टि भयो। उनीहरूको सानो बच्चा रहेछ।

आत्महत्या गरेका दम्पत्तीलाई कसैले मारेको हुनसक्ने शंका आफन्तले गरेका थिए। आत्महत्या नै हो भनेर पुष्टि गर्दा डाक्टरप्रति नै मृतकका आफन्तले घटना लुकायो की भन्ने शंका गरे। तर, आफन्तलाई राम्रोसँग सम्झाएपछि बुझेको डा. जगतले सुनाए।

पछि आर्थिक विपन्नता तथा ऋणका कारण श्रीमान्–श्रीमतीले नै झुण्डिएर आत्महत्या गरेको उनले थाहा पाए। बैतडीमा पोस्टमार्टम गर्दा सधैँजसो विवाद हुन्थ्यो रे। त्यहाँ मृतकका आफन्त र इतर पक्षबीच जहिल्यै कडा विवाद भएको सम्झन्छन् उनी।

त्यसैगरी बैतडिमा नै आमाछोरीलाई बाटोमा हिँडिरहेको बेलामा मारेको शवको पोस्टमार्टम गर्दा पनि मानसिक रूपमा निक्कै दवाव परेको सम्झन्छन् उनी। बैतडी बस्दा धेरै वटा शवको पोष्टमार्टम गरेको उनले सुनाए।

‘त्यतिबेला त डाक्टरको प्रमुख काम भनेकै पोष्टमार्टम भन्ने बुझाइ हुन्थ्यो,’ डा. जगतले भने।

पहिलो पटक टाउको खोलेर पोस्टमार्टम गर्दा
बैतडी पुगेपछि नै हो डा. जगतले पोस्टमार्टम गर्न थालेको। सवारी दुर्घटनामा मृत्यु भएका करिब २५ वर्षका व्यक्तिको पहिलो पटक उनले पोस्टमार्टम गरेका थिए। त्यो शवको टाउकोमा चोट थियो। त्यसैले टाउको खोलेर हेर्दा रगम जमेको देखियो।

पहिलो पोस्टमार्टम गर्दा उनलाई असहज महसुस भयो। टाउको खोलेर पोस्टमार्टम गर्दा सहयोगी टीम डराएको उनले सुनाए। त्यसअघि दुर्घटनामा परेका शवको टाउको खोलेर पोस्टमार्टम गर्ने चलन थिएन रे त्यहाँ। तर, डा. जगतले भने एमबीबीएस अध्ययन गर्दा नै पोष्टमार्टम सम्बन्धी ज्ञान सिक्ने राम्रो मौका पाएका थिए।

डाक्टरलाई काट्छु भन्दै खुकुरी लिएर आएपछि...
करिब ११ वर्षअघि धादिङ जिल्ला अस्पतालमा काम गर्दा महिलाको मृत्युपछिको एउटा घटना सम्झँदा डा. जगतको आङ अझै जिरिङ्ग हुन्छ।

त्यो बेला प्रसव पीडाले छटपटाएर अस्पताल पुर्याइएकी महिलाको अस्पतालमा चिकित्सकको टिमले शल्यक्रिया गरेर बच्चा निकालेछ। शल्यक्रिया सफल भयो। नवजात शिशुको स्वास्थ्य अवस्था राम्रै थियो।

तर, शल्यक्रियापछि महिलाको रक्तश्राव रोकिएन। महिलालाई आईसीयूमा राख्नुपर्ने भए पनि अस्पतालमा आइसियु सुविधा थिएन। महिलालाई बचाउन कै लागि भए पनि चिकित्सकको टिमले काठमाडौं रिफर गनुपर्ने भयो।

दुर्भाग्य, बाटैमा ती महिलाको मृत्यु भयो।

महिलाको मृत्युपछि आक्रोशित भीडले धादिङको अस्पताल तोडफोड गरे। चिकित्सक तथा स्वास्थ्यकर्मीको अस्पतालबाट भागाभाग भयो। प्रहरी कार्यालयमा पुगेर अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी लुकेको सम्झन्छन् उनी।

महिलाको मृत्युपछि अस्पताल आसपास बजार क्षेत्रमा खुकुरी लिएर केही मान्छेहरू डाक्टरलाई काटिदिन्छु भन्दै आक्रोशित भएर हिँडेको सम्झँदा अहिले पनि डा. जगतको आङ जिरिङ्ग हुन्छ।

‘त्यो दिन बजारमा डाक्टरलाई काट्छु भन्दै मान्छेहरू खुकुरी लिएर अस्पताल घेर्न आएकाे देख्दा निक्कै डर लागेको थियो,’ उनले भने। 

तोडफोडपछि वार्ता भएको र मृतकका आफन्तले पनि कुरा बुझेको उनले सुनाए।

जुन घटनाका कारण केही दिन त अस्पतालमा काम गर्न समेत निक्कै डर लागेको उनले बताए। चिकित्सक तथा स्वास्थ्यकर्मीलाई नै भयवित बनाउने त्यो घटनापछि महिला चिकित्सकहरूले सरुवा लिँदै अन्य अस्पतालमा गएको प्रसङ्ग उनले सुनाए।

गर्भपतनपछि मृत्यु भएकी महिलाको पोस्टमार्टम गर्दा
धादिङमा नै काम गर्दाको अर्को घटना पनि डा. जगत कहिल्यै भुल्दैनन्। करिब २२ वर्षकी युवतीको एक निजी अस्पतालले गर्भपतन गरेको रहेछ। गर्भपतनपछि ती महिलाको मृत्यु भएछ। महिलाको मृत्युपछि पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल पुर्याइयो।

डा. जगतको टिमले महिलाको पोस्टमार्टम गर्यो। उनलाई याद भएसम्म त्यो गर्भपतन सरकारको गर्भपतनसम्बन्धी निर्देशिका अनुसार भएको थिएन। धेरै हप्ता भएको गर्भपतन भएको थियो। 

गर्भपतन गर्दा युवतीको पाठेघरमा प्वाल परेको पोस्टमार्टममा संलग्न डा. जगतको टिमले थाहा पायो। आन्द्रा तानिएको थियो। गर्भपतनमा त्रुटी देखियो। गर्भपतनपछि ती महिलाको संक्रमण भएर मृत्यु भएको पोस्टमार्टमको क्रममा थाहा भयो।

त्यो बेला पनि पोस्टमार्टम गर्ने डाक्टरले वास्तविकता लुकाइदिने हुन् की भन्ने शंकाले मृतक पक्षबाट पोस्टमार्टम गर्ने चिकित्सकलाई दवाव परेको थियो। त्यो घटना सम्झँदा अहिले पनि डा. जगतको मन अमिलो हुन्छ।

यी घटनाबाहेक धादिङ बसाइ रमाइलो भएको उनले सुनाए।

यस्ता घटनाको शवको पोस्टमार्टम गर्दा सबै चिकित्सकको टिम बसेको र रिपोर्टमा हस्ताक्षर गरेको डा. जगतले सुनाए। विशेषगरी जिल्ला अस्पताल तथा दुर्गम क्षेत्रतिर काम गर्दा, एक जना चिकित्सकले मात्रै पोस्टमार्टम गर्दा वास्तविकता लुकायो की भन्ने आशंका हुँदो रहेछ।

त्यस्तो आशंका निवारण गर्न सबै चिकित्सकको टिम बसेर पोस्टमार्टम र हस्ताक्षर गर्ने गरेको अनुभव उनले सुनाए। डा. जगत त्यो बेला फरेन्सिक विशेषज्ञ नभए पनि जिल्लामा बसेपछि पोस्टमार्टम गर्नैपर्ने बाध्यता हुन्थ्यो। उनले एमबीबीएस अध्ययन गर्दा फरेन्सिक मेडिसिनको अध्ययन राम्रो गर्ने मौका पाएका थिए।

धादिङ्ग जिल्लामा बस्दा सवारी दुर्घटनामा परेर मृत्यु भएका धेरैवटा शवको पोस्टमार्टम गरेको डा. जगतको अनुभव छ। पोस्टमार्टम गरेवापत प्रति शव ४/५ सय पारिश्रमिक पाइन्थ्यो रे। त्यसैले धादिङका एक जना चिकित्सकले कहिलेकाहीँ ठट्यौलीमा उनीसँग भन्थे रे, ‘यति धेरै पोस्टमार्टम गरेँ कि, यसकै पैसाले घर बनाउँछु अनि त्यसको नाम नै पोस्टमार्टम घर राख्छु।’

जन्म कास्की, एमबीबीएस बंगलादेशमा
जगत कास्कीको साविक लेखनाथ नगरपालिका (हाल पोखरा महानगरपालिका) मा २०४० मा जन्मिएका हुन्। उनले २०५६ मा स्थानीय डायमण्ड बोर्डिङ स्कुलबाट एसएलसी गरे। त्यसपछि प्लस टु पोखराको गण्डकी बोर्डिङ स्कुलबाट गरे।

प्लस टुपछि उनी शिक्षा मन्त्रालयको छात्रवृत्ति कोटामा एमबीबीएस अध्ययनका लागि सन् २००२ मा बंगलादेश पुगे। बंगलादेशको राजशाही युनिभर्सिटीमा एमबीबीएस अध्ययनका लागि उनी भर्ना भए। जगतले सन् २००७ मा एमबीबीएस अध्ययन पूरा गरेर नेपाल फर्के। त्यसपछि पाटन अस्पतालमा एक वर्ष इन्टर्नसीप गरे।

त्यो बेला बैतडीमा काम गर्दाका ती क्षण
एमबीबीएस अध्ययन पूरा भएपछि सरकारी छात्रवृत्तिमा अध्ययन गरेवापत दुई वर्ष छात्रवृत्ति करारमा काम गर्नुपर्ने हुन्थ्यो। जगतले सोचेका थिए, ‘सुगमतिरकै अस्पतालमा काम गर्छु अनि पढ्छु।

त्यसैले स्वास्थ्य मन्त्रालयमा उनले काठमाडौं वरिपरितिरै छात्रवृत्ति करारमा काम गर्ने वातावरण मिलाइदिन अनुरोध गरेका थिए। तर भनेको जस्तो कहाँ हुन्छ र? पर्यो, बैतडी अस्पताल।

असोजको महिना थियो। भेलबाडी छिचोल्दै उनी बैतडि जिल्ला अस्पताल पुगे। त्यहाँ उनले धेरै तीतामीठा अनुभव संगाले। त्यहाँ एक जना सरकारी चिकित्सक पनि थिए। तर, ती चिकित्सकको प्रशासनिक लगायतका कारण हिँडिरहने काम पर्थ्याे।

त्यसैले जिल्ला अस्पतालमा बिरामीको उपचार गर्ने चिकित्सकका रूपमा भने डा. जगत र छात्रवृत्ति करारमा नै काम गर्न पुगेकी अर्की एक जना चिकित्सक थिइन्। जो बंगलादेशमा एमबीबीएस अध्ययन गर्दाकी उनकी साथी थिइन्। पछि तिनै साथीसँग डा. जगतले लगनगाँठो कसे।

पहिलो पटक आफैँले नेतृत्व लिएर बैतडीमा काम गर्दा डा. जगत थप जिम्मेवार बन्न पुगे। उनकी चिकित्सक साथी पनि सँगै भएकाले दुवै जनाले सरसल्लाह गर्दै काम गर्दा धेरै हदसम्म सहजता भएको उनी सम्झन्छन्। त्यो बेला हुनेवाला श्रीमतीसँग दुर्गममा काम गर्दा एक हिसाबले घुमघाम गरेजस्तो महसुस पनि भएको ठट्यौली गर्दै डा. जगतले अनुभव सुनाए।

पछि त अस्पतालको प्रमुखको रूपमा आफैँले आर्थिक तथा प्रशासनिक लगायतको जिम्मेवारी समेत लिएर उनले काम गर्नुपर्ने अवस्था भयो। उनले आर्थिक तथा प्रशासनिक कामसमेत सिक्ने मौका पाए। त्यसो त कसैले नियतबस आर्थिक लाभ लिने उद्देश्यले अगाडि बढेका फाइलमा हस्ताक्षर गरेर फसिने हो की भन्ने डर पनि लाग्थ्यो उनलाई।

डा. जगत बैतडीमा हुँदा नै झाडापखालाको प्रकोप फैलिएको थियो। त्यो बेला झाडापखालाले ५÷६ जनाको मृत्यु भयो। त्यो बेला भने उनकी साथीको सरुवा भइसकेकाले डा. जीवन जिल्लामा एक्लो चिकित्सक थिए। त्यो बेला जिल्लाका दुर्गम ठाउँहरूमा पुगेर झाडापखाला संक्रमित बिरामी बचाएको सम्झन्छन् उनी।

बैतडीमा करिब डेढ वर्ष काम गरेपछि स्याङ्जा सरुवा भए डा. जगत। जिल्लाका सिडिओलाई आफू सरुवा भएकाले एक हप्ताभित्र सरुवा भएर जाने जानकारी गराए। तर, जिल्लामा कोही पनि डाक्टर नभएकाले अर्को डाक्टरको व्यवस्था गरेर मात्रै सरुवा हुन सिडिओले निर्देशन दिए।

तर, डा. जगतले भने आफू छात्रवृत्ति करारको डाक्टर भएकाले अर्को डाक्टरको व्यवस्था गर्न नसक्ने र त्यो हैसियत नभएको जानकारी गराए। हुन पनि डा. जगतसँग न अर्को डाक्टरको व्यवस्था गर्ने अधिकार थियो, न कानूनी कर्तव्य नै।

भेटेको एक हप्तापछि सिडिओलाई खबरै नगरी उनी काठमाडौं हुइँकिए। सरुवा भएर स्याङ्जा जिल्ला अस्पताल पुगे। पछि ती सिडिओले अर्को डाक्टरको व्यवस्था नभइ हिँडेको भन्दै गुनासो पोखेको उनले सुनाए। अहिले पनि बैतडीमा काम गर्दाको त्यो क्षण कहिल्यै भुल्दैनन् उनी।

सरकारी जागिरमा प्रवेश, बाल रोगमा चाख
स्याङ्जामा केही महिना काम गरेपछि २०६६ मा डा. जगत लोक सेवा परीक्षामार्फत स्थायी सरकारी चिकित्सकका रूपमा जागिरे भए। त्यसपछि उनी पहिलो पोस्टिङ भएर जिल्ला अस्पताल धादिङ पुगे। धादिङमा उनले अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट (अस्पताल प्रमुख)को रूपमा काम गर्न थाले। त्यहाँ उनले दुईवर्ष काम गरे। धदिङपछि उनी काठमाडौंको साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा सरुवा भए।

धादिङबाट सरुवा हुनासाथ सन् २०१२ मा चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा बाल रोग (पेडियाट्रिक) विषयमा स्नातकोत्तर तहको एमडी अध्ययन गर्न थाले। सन् २०१५ मा उनको एमडी अध्ययन पूरा भयो।

एमडीपछि केही समय डा. जगत साङ्लामा प्राथमिक स्वास्थ्य केन्द्रमा काम गरे। त्यसपछि उनी टेकुस्थित जनस्वास्थ्य कार्यालयमा पुगेर केही महिना काम गरे। त्यसपछि सरुवा भएर डा. जगत कान्ती बाल अस्पतालमा पुगे। २०७६ मा उनी नवौं तहमा बढुवा भए।

त्यसपछि उनी पोष्टिङ भएर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पुगे। करिब आठ महिनापछि फेरि काज सरुवा भएर कान्ति बाल अस्पतालमा नै फर्के उनी। त्यसपछि प्रसूती गृहमा सुरुवा भएर केही महिना काम गरेर उनी कान्ति बाल अस्पताल मा नै फर्के।

एक्लो डिएम
डा. जगतलाई आईसीयूमा काम गर्न बढि रुचि थियो। त्यसैले सन् २०१९ मा भारतको अल इन्डिया इन्स्टिच्युड अफ मेडिकल साइन्सेस पुगेर बाल छाती तथा सघन रोग विषयमा डिएम तहको अध्ययन गरे डा. जगतले। सन् २०२१ को जनवरीमा अध्ययन सकेर उनी नेपाल फर्के।

यादभएसम्म यो विषयमा डिएम अध्ययन गर्ने नेपालको पहिलो र अहिलेसम्म पनि एक्लो भएको उनले सुनाए। त्यसयता उनी कान्ति बाल अस्पतालमा नै कार्यरत छन्। तर, यो विषयमा फेलोसिप गरेर काम गरिरहेको चिकित्सक भने भएको उनले सुनाए।

बालबालिकाको श्वासप्रश्वास, दम, निमोनिया, घ्यारघ्यार हुने, छातीसम्बन्धी समस्या, सुत्दा घुर्ने जस्ता समस्याको उपचार गर्ने राम्रो ज्ञान तथा सीप सिके उनले। ब्रोङकोस्कोपी गर्ने ज्ञान तथा सीप सिके।

त्यसैगरी एक महिना भन्दा बढि उमेरका बालबालिकाको सघन उपचार कक्ष व्यवस्थापन गर्ने सम्बन्धी उनले त्यहाँ विशिष्टिकृत ज्ञान तथा सीप सिके। बालबालिकाको उपचार सम्बन्धी कयौं नयाँ ज्ञान तथा सीप सिकेका छन् उनले।

कान्ति बाल अस्पतालमा कार्यरत बाल छाती तथा सघन रोग विशेषज्ञ (पेडियाट्रिक पल्मोनोलोजी एण्ड आईसीयू डा. जगत बढुवा हुँदै दशौं तहमा पुगेका छन्।

७ माघ, २०७९, १९:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।