जीवित शिशुलाई मृत भन्ने चिकित्सक निलम्बित, छानबिन समिति गठन

जीवित शिशुलाई मृत भन्ने चिकित्सक निलम्बित, छानबिन समिति गठन

काठमाडौँ : जीवित शिशुलाई मृत घोषणा गर्ने कोसी अस्पतालमा चिकित्सक निलम्बित भएका छन्। एक चिकित्सकले बुधवार मृत घोषणा गरेका १८ दिनको शिशुको अहिले एक निजी अस्पतालको आइसियुमा उपचार भइरहेको छ।

जीवित शिशुलाई मृत घोषणा गरेको भन्दै आलोचना भएपछि स्वास्थ्यमन्त्री पदम गिरीले घटनाबारे स्वास्थ्य सचिव डा रोशन पोखरेल र अस्पतालका प्रमुख डा लक्ष्यनारायण यादवसँग जानकारी लिएर छानबिन समिति गठन गरी  सम्बन्धित चिकित्सकलाई निलम्बन गर्न निर्देशन दिएका थिए।

गिरीको निर्देशनमा अस्पतालले छानबिन समिति गठन गरेर चिकित्सकलाई निलम्बन गरेको  स्वास्थ्य सचिव पोखरेलले पुष्टी गरे। 

सात दिनभित्र प्रतिवेदन दिने समयावधिसहित अस्पतालका बाल रोग विशेषज्ञ डा प्रवीण कुमार, बाल रोग विशेषज्ञ डा सूर्यकान्त चौधरी र प्रशासनका कर्मचारी रामप्रसाद नेपाल रहेको समिति गठन गरेको हो। 

बुधवार १८ दिनको शिशुको सास नरहेको र धड्कन बन्द भएको भन्दै मेडिकल अफिसरले मृत घोषणा गरेपछि आफन्तले शिशुलाई लिएर घर जानेक्रममा शिशुले सास फेर्ने र  हातगोडा चलाएका थिए।

अहिले शिशुको विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ।

५ माघ, २०७९, २१:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।