हिजाेका कुरामा अन्नपूर्ण कुँवर : तीन महिनाको सुत्केरी ज्यान तर प्याराजम्पिङको रहर

हिजाेका कुरामा अन्नपूर्ण कुँवर : तीन महिनाको सुत्केरी ज्यान तर प्याराजम्पिङको रहर

उमेरले आठ दशक पार गर्न लागेकी अन्नपूर्ण कुँवरलाई अहिले पनि निकै फुर्तिलो र हँसिलो देखिन्छ।

यसको पछाडिको रहस्य सोध्दा उनी भन्छिन्, ‘मान्छेलाई भोगाइले कठोर र परिश्रमी बनाउँदो रहेछ। जिन्दगीमा मैले गरेको संघर्ष, सफलता पाउनका लागि बगाएका आँशुहरू, आफ्नो लागि आफ्नै परिवारसँग गरेको विद्रोहको लेखाजोखा गरी साध्य छैन। त्यसैले पनि हुन सक्छ म यस्तो भएको।’ 

तनहुँमा जन्मिएकी अन्नपूर्ण कुँवर परिवारकी जेठी सन्तान हुन्। ६,७ महिनाको उमेरमा नै उनी आफ्ना बा-आमासँग भारतको पञ्जाब पुगेकी थिइन्। उनले आफ्नो पढाइ पनि त्यहीं बसेर पूरा गरिन्।

त्यस बेला देशमा राणा शासनविरुद्ध आन्दोलन भइरहेको थियो। बुवा नेपाली कांग्रेसमा आस्था राख्ने भएकाले उनको परिवारले देश छाड्नुपर्ने अवस्था आएको रहेछ।

आफ्नो देश छाड्नुपर्दाको पीडा र घरमा जेठो सन्तान भएका नाताले आफूले पूरा गर्नु पर्ने भूमिकालाई सानैमा बोध गरेकी अन्नपूर्णलाई लाग्छ उनले जति जीवनमा सायदै कसैले दुःख भोगेको होला।

तर तिनै दुःख सम्झेर उनलाई अहिले आनन्द लिने बानी परेको छ। मान्छेलाई आफ्नै दुःख, आफ्नै पीडाहरू किन यति प्यारो लाग्दो रहेछ?

उनी भन्छिन्, ‘भोग्ने बेलामा त ती अवश्य नै प्रिय थिएनन्। तर वर्तमानमा तिनीहरूबाट उम्किसकेको हुनाले होला ती अनुभूतिहरू मीठो याद बनेर हृदयलाई सुम्सुम्याउँदा रहेछन्। अहिले म ती विगत सम्झेर दुखी हुन्न। बरू ती सबै अनुभवहरू गर्न पाएँ भनेर खुशी हुन्छु, रमाउँछु, हाँस्छु, मुस्कुराउँछु। जीवन भनेको अनुभवहरूको संगालो रहेछ।’ 

भारतमा बसेको लामो समयपछि उनले आफ्नो परिवारलाई देश फर्कन र देशलाई माया गर्न प्रेरित गरिन्। उनकै प्रेरणामा उनको परिवार स्वदेश फर्कियो तर उनी भने भारतमै बसेर आफ्नो पढाइ पूरा गर्न तर्फ लागिन्।

नर्स बन्ने सपना देख्दा

अन्नपूर्णको परिवारले उनलाई वकिल बनाउन चाहन्थ्यो। उनी मध्यम वर्गको विद्यार्थी थिइन्। उनले एसएलसी सेकेन्ड डिभिजनमा पास गरेकी थिइन्। उनलाई वकिल पढ्न मन नलागेर नर्सिङ पढ्न मन लागेको थियो।

नर्सिङ पढ्नको लागि र नर्समा जागिर खानको लागि उनले आफ्नो परिवारलाई सम्झाउन र राजी गराउन ठूलो पापड बेल्नु परेको थियो।

ती क्षण सम्झिँदै उनी भन्छिन्, ‘अहिले त नर्सलाई हेर्ने दृष्टिकोण निकै फरक छ। त्यो बेला अहिलेको जस्तो थिएन। समाजमा अल्लि पुरातन सोच विद्यमान थियो। मेरो परिवार पनि त्यस्तै थियो। तर मैले आमा र पिताजीलाई मनाएँ। नर्सिङ पढ्नका लागि जाँच दिएँ। नाम पनि निस्कियो र जागिर खाँदै पढ्दै गर्न थालें।’ 

सानैदेखि बिरामी र अशक्तहरूको हेरविचार गर्न रूचाउने भएकाले आफ्नो स्वभावकै कारण स्वास्थ्य क्षेत्रलाई अपनाएको उनी बताउँछिन्।

उनले तत्कालीन ख्यातिप्राप्त विश्वविद्यालयका रूपमा परिचित पञ्जाव युनिभर्सिटी अन्तर्गतकाे लेडी रिडिङ हस्पिटल, सिमलाबाट सन् १९६४ मा नर्स तथा मिडवाइफका सम्पूर्ण तालिमहरू प्राप्त गरी आवश्यक डिग्री हासिल गरेकी थिइन्।

यसले गर्दा नै अहिले उनी नेपाली महिलाहरूका माझ सम्मानित राष्ट्रिय व्यक्तित्वका रूपमा चिनिन्छिन्।

‘उहाँसँग भेट नभएको भए बिहे नै गर्दैन थिएँ कि! 

अन्नपूर्णको बिहे सन् १९६४ मा भएको थियो। त्यो पनि प्रेम विवाह। उनी लेडिज युनिभर्सिटी सिम्लामा नर्सिङ पढ्दै गर्दा उनका श्रीमान डा. देशराज बहादुर कुँवर एमबिबिएस सकेर इन्टर्नसिप गर्दै थिए।

उनी त्यसबेला मेल सेक्सनमा एक वर्ष तालिम गर्न पटियाला गएकी थिइन्। त्यहाँ उनको भेट हान्डासँग भयो। जाे देशराज कुँवरका साथी रहेछन्।

हान्डा पटियालाको सर्जिकल वार्डमा काम गर्दी रहिछन्। त्यस बेला हान्डाकी बहिनी दुर्घटनामा बितेकी रहिछन् र हान्डाले अन्नपूर्णलाई आफ्नै बहिनी जस्तै मानेर माया गर्न थालिछन्। 

त्यो बेला हान्डाले देशराज कुँवरलाई एक जना नेपाली केटी मेरो वार्डमा आएको छ हेर्न आइज भनेर बोलाएकी रहिछन्, तर एउटा सर्त लगाएर। 

सर्त के रहेछ भने, ‘यदि त्यो नेपाली केटी कुन हो भन्ने चिनेमा उनलाई दश रुपैयाँ दिने अन्यथा उनले हान्डालाई दश रुपैयाँ तिर्नुपर्ने।’ 

सर्त मान्दै देशराज केटी हेर्न गए। दुई जना गोरी केटी देखे। तर, कुन भन्ने ठम्याउन सकेनन्। उनको मुख लाजले रातो भयो। उनले बाजी हारे।

तर, त्यो बेला दश रुपैयाँको बाजी हारे पनि उनले अन्नपूर्णलाई जीवनसंगिनीको रुपमा पाए। अन्ततः उनीहरूको विवाह भयो।

उनी भन्छिन्, ‘मेरो र उहाँको यसरी भेट नभएको भए सायद हामी दुवैले बिहे गर्दैन थियौं होला। विवाह अघिको प्रेम जस्तै विवाह पछिको प्रेम पनि मीठो हुँदो रहेछ। हाम्रो गन्धर्व बिहे भयो। हाम्रा तीन सन्तान छन्। दुई छोरा र एक छोरी। एउटा छोरा त डाक्टर छ। यी सबै सम्झनाहरूले अहिले खुशी बनाउँछ।’ 

प्याराजम्प गर्ने नेपालकाे पहिलो महिला

सन् १९६४ मा वीर अस्पतालको नर्सिङ सेवाबाट काम शुरु गरेकी अन्नपूर्ण केही वर्षपछि नर्सकै रूपमा सैनिक अस्पतालमा प्रवेश गरिन्। त्यहाँ उनले आफूलाई प्रथम प्रशिक्षित महिला लेफ्टिनेन्ट नर्सका रूपमा उभ्याउन सफल भइन्।

आफ्नो जिम्मेवारीलाई सक्रियता र इमान्दारिता पूर्वक निर्वाह गर्ने उनको बानी थियाे। 

एकदिन उनलाई कमान्डर इन चिफ सुरेन्द्र बहादुर शाहले सोधे, ‘भन तिमी के चाहन्छौ?’ त्यो बेला उनी तीन महिनाकी सुत्केरी थिइन्। त्यसको कुनै पर्वाह नै नगरी उनले सबैको अघि भनिन्, ‘मलाई प्याराजम्प गर्ने अनुमति दिइबक्योस्। त्यो बेला सबै छक्क परेर उनलाई हेरिरहेका थिए।’ 

‘केही त यो कुरा सुनेर फेन्ट मात्र हुन सकेका थिएनन्। एकछिन म पनि अवाक् बनेर बसें। पछि कमान्डरसाबले उल्टो मलाई सलाम गर्नुभयो। तत्कालिन समयमा नेपालमा पुरूष (सेना) हरूले मात्र प्याराजम्प गर्थे। कमान्डरको स्वीकृति पाएपछि म प्याराजम्प गर्ने तालिममा सहभागी भएँ। तीन महिनाको पहिलो सुत्केरी म। सुत्केरी अवस्थाको त्यो कोमल शरीर लिएर प्याराजम्प जस्तो कठिन कार्यको तालिममा सक्रिय भएँ।’ उनी सगर्व बताउँछिन्।

अन्नपूर्ण वि.सं. २०३६ मंसिर १३ गते काठमाडौंको चोभारमा १६ हजार फिटको उचाईंबाट प्याराजम्प गर्ने नेपालको पहिलो महिला प्यारासुट जम्पर हुन्।

उनी भन्छिन्, ‘तालिम सकिएपछि प्यारा फोल्डर सुन्दरी श्रेष्ठ र कमला थापा सहित प्याराजम्प गर्दा महिलाहरूले पनि आँट गर्यो भने सकिने रहेछ भन्ने लाग्यो।’ 

लागूपदार्थविरुद्धको अभियानमा सरिक हुँदा

अन्नपूर्णले विभिन्न कामका लागि विश्वका धेरै मुलुक घुम्ने र त्यहाँ काम गर्ने अवसर पाइन्। उनले सन् १९९१ मा फिलिपिन्सबाट लागूपदार्थ दुर्व्यसन नियन्त्रण तथा पुनःस्थापना विषयमा आवश्यक तालिम लिइन्। सोही वर्ष फिलिपिन्समै भएकाे लागूपदार्थ विरुद्धको सम्मेलनमा पनि सहभागी भइन्।

यसै विषय उनी थप भन्छिन्, ‘एक ताका इन्डोनेसियामा काम गर्दा त्यहाँ नेपालीहरूलाई मेरिजुआना अर्थात् गाँजाको मुलुकको भनेर चिन्ने गर्दा रहेछन्। कि त सगरमाथाको देश भन्नुपर्दो रहेछ, कि त काठमाडौं नेपाल भन्नुपर्दो रहेछ। एकपटक मलाई चार-पाँच जनाको एउटा समूहले नेपालकै भएको कारणले समात्यो। किन समात्यो भन्दा नेपाल त्यो समयमा विश्वमा गाँजाको लागि चर्चित रहेछ। उसपछि मलाई आफ्नो मुलुक प्रति झन् माया लाग्यो र मैले लागूपदार्थ अभियानमा लाग्ने विचार गरें।’ 

उनी र उनका श्रीमान् मिलेर नेपालमा एउटा संस्था खोले। जसलाई निरन्तरता दिदै गर्दा आर्थिक समस्याको कारण फेरी विदेशिनु पर्दा उक्त संस्थालाई सरकारले आफ्नो बनाएको उनी बताउँछिन्।

त्यसपछि उनलाई नेपालमा राम्रो गर्दा सरकारले पनि सहयोग नगर्ने रहेछ भन्ने विषयलाई लिएर चिन्ता हुन् थाल्यो। पछि उनले आफैंले यस विषयमा काउन्सिलिङ गर्न थालिन्।

जीवनमा अब के गर्ने इच्छा राख्नुभएको छ भन्दा उनी भन्छिन्, ‘अब मर्ने बेलामा के इच्छा हुनु। त्यै पनि आफ्नो देशको सन्तानहरू खुशी होउन्। देशले प्रगति गरोस्। देशले उचाई चुमोस्। मैले जस्तै सानैमा राजनीतिको कारण देश छाड्नुपर्ने बाध्यता कसैलाई नआओस्।’ 

छोरी मान्छे भएकै कारण तपाईंका पाइलाहरू कहीं कतै रोकिएन?

उनी भन्छिन्, ‘म त्यो सामाजिक संरचना भित्रको छोरी मान्छे थिइनँ। अहिले पनि घुँडा बलियो भएको भए म प्याराजम्प गर्न जाने थिएँ होला जस्तो लाग्छ। मेलै आफ्ना बुहारीहरू, छोरीहरू र नातिनीहरूलाई पनि कहिल्यै त्यो बन्धन भित्र राखिनँ र आफू पनि बस्न चाहिनँ। त्यसैले त मैले सफलता हात पार्दै गए।’

५ माघ, २०७९, १६:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।