रुपन्देहीका उद्योगमा नौ घण्टा ‘अघोषित लोडसेडिङ’, प्राधिकरण भन्छ- ‘विद्युत् भार व्यवस्थापन’

रुपन्देहीका उद्योगमा नौ घण्टा ‘अघोषित लोडसेडिङ’, प्राधिकरण भन्छ- ‘विद्युत् भार व्यवस्थापन’

बुटवल: विद्युत् अभावको कारण देखाउँदै विद्युत् प्राधिकरणले १० दिनअघि धेरै विद्युत् खपत गर्ने उद्योगलाई बिहान र साँझ गरी दैनिक नौ घण्टासम्म उद्योग परिसरमा सामान्य बत्ती बाल्ने बाहेक उद्योग सञ्चालन नगर्न निर्देशन दियो। निर्देशन उल्लङ्घन गरे उद्योगको लाइन काट्ने समेत चेतावनी दियो। 

उद्योगीलाई यसरी निर्देशन दिए पनि प्राधिकरणले लिखित पत्राचार भने गरेको छैन।

प्राधिकरणले एक हजार केभीएभन्दा धेरै विद्युत् खपत गर्ने उद्योगलाई बिहान ७ देखि ११ बजेसम्म र साँझ ५ देखि १० बजेसम्म बत्तीबाहेक उद्योगका प्लान्ट नचलाउन मौखिक निर्देशन दिएसँगै रुपन्देहीका अधिकांश ठूला उद्योगले उत्पादनमा कटौती गर्न थालेका छन् भने केही उद्योगले उत्पादन नै बन्द गरेका छन्।

उत्पादित वस्तुको बिक्रीमा अत्यधिक गिरावट, आर्थिक मन्दी र बैंकको उच्च ब्याजदरका कारण धरासायी हुँदै गएका भैरहवा क्षेत्रका ठूला उद्योग नेपाल विद्युत प्राधिकरणले लागू गरेको अघोषित लोडसेडिङले थप मारमा परेका छन्।

रुपन्देहीमा रहेको अर्घाखाँची सिमेन्ट उद्योगले दैनिक बिहान ५ घण्टा र साँझ ५ घण्टा उत्पादन बन्द गर्दै आएको छ। विद्युत्‌कै कारण उद्योगको उत्पादनमा कटौती गर्नुपरेको अर्घाखाँची सिमेन्टका डेप्युटी म्यानेजर कृष्ण पाण्डेले बताए।

उनका अनुसार प्रोसेसिङ इण्डस्ट्रिज प्लाण्ट २४ सै घण्टा सञ्चालन गर्नुपर्ने हुन्छ। प्लाण्ट १४०० देखि १५०० डिग्रीसम्म तात्नुपर्ने हुन्छ। तर, बीच-बीचमा विद्युत् जाँदा प्लान्टलाई सुरुदेखि सञ्चालन गर्न समय लाग्ने गरेको छ।

यसले उद्योगमा आर्थिक भार थप्नुको साथै उत्पादित वस्तुको गुणस्तरमा समेत कमी आउने हुँदा कम उत्पादन गर्दै आएको उनको भनाइ छ।

उद्योग सञ्चालन गर्न दिएको समयमा पनि हुन्छ विद्युत अवरुद्ध
उत्पादित वस्तुको बिक्रीमा अत्यधिक गिरावट, आर्थिक मन्दी र बैंकको उच्च ब्याजदरका कारण धरासायी हुँदै गएका भैरहवा क्षेत्रका ठूला उद्योग नेपाल विद्युत प्राधिकरणले लागू गरेको अघोषित लोडसेडिङले थप मारमा परेका छन्।

'हिटिङ लाइन सिस्टम'बाट सञ्चालनमा आउने उद्योगहरूलाई निरन्तर विद्युत्‌को आपूर्ति चाहिने हुँदा केही दिनदेखि त्यस्ता उद्योगहरूले उत्पादन नै बन्द गरेका छन्।

त्यसमाथि प्राधिकरणले उद्योग सञ्चालन नगर्न भनेर निर्देशन दिएको समयभन्दा अगाडि नै अर्थात् उद्योग सञ्चालन गर्न दिइएको समयमा पनि विद्युत् अवरुद्ध हुने गरेको छ।

अघोषित लोडसेडिङबाट यस क्षेत्रका स्टिल, सिमेन्ट, आल्मुनियम, खाद्यान्न तथा औषधि उद्योग बढी प्रभावित भएका छन्। बजारमा माग समेत नभएकाले यतिबेला सिमेन्ट उद्योग दैनिक आठ–दश घण्टा मात्र चल्ने गरेका छन्।

हिटिङ लाइन सिस्टमबाट सञ्चालन हुने उद्योग बन्द
लोडसेडिङका कारण उत्पादन लागत महँगो पर्न थालेको जगदम्बा सेन्टेष्ट्रिप प्रालिका कार्यालय प्रमुख रत्नप्रसाद आचार्यले बताए।

सिमेन्ट उद्योग मात्र होइन रुपन्देहीमा रहेका अरू ठूला उद्योगलाई पनि केही दिनदेखि प्राधिकरणले बिहान ७ देखि ११ र बेलुका ५ देखि १० बजेसम्म विद्युत् प्रयोग नगर्न भनेको छ। यसले गर्दा कतिपय उद्योगमा उत्पादन नै बन्द भएको छ। 

'हिटिङ लाइन सिस्टम'बाट सञ्चालनमा आउने उद्योगहरूलाई निरन्तर विद्युत्‌को आपूर्ति चाहिने हुँदा केही दिनदेखि त्यस्ता उद्योगहरूले उत्पादन नै बन्द गरेका छन्। यी क्षेत्रमा बढी विद्युत् खपत गर्ने सिमेन्ट, स्टिललगायत ठूला उद्योग छन्। ती उद्योगमा डिजेल जेनेरेटरबाट उद्योग सञ्चालन असम्भव रहेको उद्योगीहरू बताउँछन्।

कोरोना र आर्थिक मन्दीले प्रभाव परेको औद्योगिक क्षेत्रले फेरि अघोषित लोडसेडिङ खेप्नु परेको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजेश अग्रवालले बताए।

सरकारले धेरै विद्युत् खपत गर्ने उद्योगलाई अनुदानको घोषणा गरे पनि व्यवहारमा भने उद्योगलाई पर्याप्त विद्युत् आपूर्ति गर्न पनि नसकेको उद्योगीको भनाइ छ। 

‘लोडसेडिङ होइन विद्युत भार व्यवस्थापनको लागि भन्दै बढी विद्युत् खपत गर्ने उद्योगलाई केही समयको लागि बिजुलीको प्रयोग नगर्नको लागि मात्र आग्रह गरेका हौँ’, उनले भने।
 
त्यसमाथि उत्पादित वस्तुको मागमा कमी, सरकारको आर्थिक नीति, कच्चा पदार्थको अभाव, आर्थिक मन्दी र बैंकको उच्च ब्याजका कारण यस क्षेत्रका केही उद्योग बन्द अवस्थामा छन्। 

उद्योग नचलाउन आग्रह गरिएको, लोडसेडिङ भने नगरिएको तर्क
एक हजार केभीएभन्दा धेरै विद्युत् खपत गर्ने भैरहवा क्षेत्रका दुई दर्जनभन्दा धेरै ठूला उद्योगलाई तोकिएको समयमा उद्योग सञ्चालन नगर्न मौखिक आग्रह गरिएको प्राधिकरणको भैरहवा वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुवेले बताए। यद्यपि लोडसेडिङ भने नगरिएको उनले बताए।

भैरहवा क्षेत्रमा ९५ मेगा वाट विद्युत् आपूर्ति हुनेमा ठूला उद्योगले मात्र ४५ मेगावाट विद्युत् खपत गर्दै आएका छन्। विद्युत् भार व्यवस्थापनको लागि भन्दै प्राधिकरणले बढी विद्युत् खपत गर्ने उद्योगलाई केही समयको लागि मात्र अनुरोध गरेको उनको भनाइ छ।

‘लोडसेडिङ होइन विद्युत भार व्यवस्थापनको लागि भन्दै बढी विद्युत् खपत गर्ने उद्योगलाई केही समयको लागि बिजुलीको प्रयोग नगर्नको लागि मात्र आग्रह गरेका हौँ’, उनले भने।

५ माघ, २०७९, १०:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।