गुणस्तरीय सेवा दिन रोक्ने ‘हडल्स’ खोज्दै स्वास्थ्यमन्त्री, अनियमितता भए निर्मम हुने राज्यमन्त्रीको चेतावनी

गुणस्तरीय सेवा दिन रोक्ने ‘हडल्स’ खोज्दै स्वास्थ्यमन्त्री, अनियमितता भए निर्मम हुने राज्यमन्त्रीको चेतावनी

काठमाडौं : सोमबार अपरान्ह काठमाडौंको रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माहोल बेग्लै थियो। मन्त्रालय, विभाग, महाशाखा र अस्पताल लगायतका प्रमुख तथा कर्मचारीहरू पुष्पगुच्छा तथा माला र खादा लिएर लामबद्ध थिए।

जब शीतलनिवासस्थित राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ लिएर नवनियुक्त स्वास्थ्य मन्त्री पदम गिरी र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की मन्त्रालय प्रवेश गरे, त्यसपछि लामबद्ध उभिएका कर्मचारीले पुष्पगुच्छा दिएर तथा माला र खादा लगाइदिएर स्वागत गरे।

स्वास्थ्य मन्त्रालयमा कर्मचारी, सञ्चारकर्मी लगायतको ठूलै भीड थियो। केही कर्मचारीको अनुहार निन्याउरो देखिन्थ्यो भने केहीको उत्साहजनक। सायद नयाँ मन्त्रीले जिम्मेवारी हेरफेर गरिदिने हुन् की भन्ने पिरले हुनुपर्छ अनुहार निन्याउरो भएको।

दुई निर्णयमा हस्ताक्षर
स्वागत सँग–सँगै नवनियुक्त मन्त्री गिरी र राज्यमन्त्री कार्कीले मन्त्रालयमा आ–आफ्नो कार्यक्षमा पुगेर कार्यभार सम्हाले। त्यसपछि कर्मचारीहरूले निर्णयमा हस्ताक्षरका लागि दुई वटा फाइल टेबुलमा राखिदिए। मन्त्री र राज्यमन्त्रीले दुई वटा निर्णय फाइलमा हस्ताक्षर गरे।

नवनियुक्त स्वास्थ्य मन्त्री गिरीले ‘राष्ट्रिय आँखा स्वास्थ्य रणनीति (२०६९–२०८६)’ मा स्वीकृतिसहित हस्ताक्षर गर्दा राज्यमन्त्रीले पनि त्यसमै हस्ताक्षर गरिन्।

गुणस्तरीय आँखा स्वास्थ्य सेवामा नागरिकको समतामूलक र सर्वशुलभ पहुँच समुदायस्तरसम्म विस्तार गर्नु यो रणनीतिको उदेश्य हो।

त्यसैगरी दुवै मन्त्रीले न्यूनतम सेवा मापदण्ड मार्गदर्शन सम्बन्धि नीतिगत निर्णय गर्दै फाइलमा हस्ताक्षर गरे। आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि स्वास्थ्य संस्था तथा अस्पतालहरूमा न्यूनतम सेवा मापदण्डको कार्यान्वयन सुनिश्चित गराउनु यस मार्गदर्शनको मुख्य उदेश्य रहेको छ।

‘उपचार नपाएर मर्नुपर्ने अवस्था अन्त्य गर्छाैं’
आ–आफ्नो कार्यकक्षमा दुई निर्णयका फाइलमा हस्ताक्षर गरेपछि नवनिययुक्त मन्त्रीद्वय गिरी र कार्कीले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गरेका थिए।

कार्यभार सम्हाल्दै मन्त्री गिरिले शिक्षा र स्वास्थ्य गरिब जनताको पहुँचभन्दा बाहिर रहेको भन्दै उपचार नपाएर मर्नुपर्ने अवस्थाको अन्त्य गरिने प्रतिबद्धता व्यक्त गरे।

आम नेपाली जनतासम्म स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने विषय मुख्य चुनौती भएकाले सबैमा स्वास्थ्य सेवाको पहुँच पुर्याउन द्रूत गतिमा काम गर्नेतर्फ सम्पूर्ण ध्यान केन्द्रीत गर्ने उनले बताए।

‘अहिले भइरहेको जति पनि अस्पताल छन् त्यहाँ इक्युपमेन्टको अवस्था के छ, गुणस्तरिय सेवा दिनका लागि के–के हडल्स छन्,’ मन्त्री गिरीले भने, ‘ती सबै कुराको पहिचान गरेर समाधान गर्नेतर्फ ध्यान दिएर काम अघि बढाउँछौं।’

त्यसैगरी स्वास्थ्य बिमाका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सबै नागरिकलाई स्वास्थ्य बीमाको दायराभित्र ल्याउने तथा गुणस्तरिय सेवा दिनेसमेत मन्त्री गिरीले बताए। खरिद पारदर्शीता कायम गर्न सक्नुपर्नेमा उनले जोड दिए।

‘अनियमितता देखिए निर्मम तरिकाले प्रस्तुत हुन्छाैं’
त्यसैगरी नवनियुक्त राज्यमन्त्री कार्कीले पनि संक्षिप्त प्रतिक्रिया दिँदै स्वास्थ्य क्षेत्रमा अनियमितता तथा भ्रष्टाचारका विषयहरू छरपस्टै देखिएकाले अनुसन्धान गरेर अनियमितता पाइए निर्मम तरिकाले प्रस्तुत हुने बताइन्।

‘स्वास्थ्य क्षेत्रमा हुने अनियमितताहरू, भ्रष्टाचारका विषयहरू छन्। पहिला त ती खोजतलास गरेर अनुसन्धान गरिन्छ,’ उनले भनिन्, ‘यदि अनियमितता पाइए निर्मम तरिकाले सरकार प्रस्तुत हुन्छ।’

विभिन्न ठाउँमा कमिसनको खेल भएको र जथाभावी रुपमा गुणस्तरहीन उपकरण प्रयोग भएको विषयमा छानबिन गर्ने प्रतिबद्धता जनाइन्।

‘विभिन्न ठाउँमा कमिसनका खेल छन्। गुणस्तरही उपकरण प्रयोग हुने, त्यससम्बन्धी हामी छानबिन गर्नेछौं,’ उनले अगाडि थपिन्, ‘अनुसन्धान गर्नेछौं र निर्मम तरिकाले यसको नियमन गर्न प्रतिबद्ध छौं।’

राज्यमन्त्री कार्कीले पैसाको अभावले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था पूर्ण रूपले निवारण गर्न चाहेको भन्दै स्वास्थ्य क्षेत्रलाई आफूले मिहिन तरिकाले अध्ययन गरेको र बुझेकाले जनतालाई निरासा नबनाउने प्रतिबद्धता व्यक्त गरिन्।

‘आकस्मिक सेवाबाट बञ्चित हुन नपरोस्’
कार्यभार ग्रहण, दुई वटा फाइलमा हस्ताक्षर र संक्षिप्त प्रतिबद्धतापछि नवनियुक्त मन्त्री र राज्यमन्त्रीका लागि मन्त्रालयको सभाहलमा स्वागत कार्यक्रम राखिएको थियो। 

स्वागत कार्यक्रममा बोल्दै नवनियुक्त मन्त्री गिरीले स्वास्थ्य सेवा साह्रै महंगो भएको र गरिब जनताको पहुँचमा समेत नभएको भन्दै मन्त्री गिरिले आकस्मिक सेवाबाट बञ्चित तहुनेगरी काम गर्ने प्रतिबद्धता जनाए।

‘एउटा ठूलो विमार लागिहाल्यो भने बिमारको कारणले हैन, मलाई यस्तो बिमार लाग्यो भनेर स्वयं व्यक्ति आत्तिएर मनुपर्ने हाम्रो अहिलेको अवस्था छ,’ उनले भने, ‘आकस्मिक उपचार गर्नुपर्ने अवस्थामा समेत पैसा नतिरे उपचार नपाउने अवस्था रहेकोले त्यसको अन्त्यका लागि काम गर्नेछौं।’

सरकारी स्वास्थ्य संस्था कमजोर हुँदै जाने तथा सेवा प्रवाह चुस्त दुरुस्त नहुँदा सरकारी अस्पतालभन्दा बाहिर जानुपर्ने अवस्था भएकाले सरकारी स्वास्थ्य सेवा सुदृढ छ भन्ने प्रत्याभूतिका लागि अठोट गर्नुपर्ने उनले बताए। स्वास्थ्य क्षेत्रमा प्रभावकारी ढंगले काम गर्न नसकिएको विषय के हो भन्ने उनले जिज्ञासा राखे।

त्यसैगरी स्वागत मन्तव्यका क्रममा बोल्दै नवनियुक्त राज्यमन्त्री कार्कीले आकस्मिक स्वास्थ्य सेवाबाट कोहीपनि नागरिक बञ्चित हुन नपरोस भन्नेमा आफ्नो विशेष जोड रहने बताइन्।

‘आकस्मिक स्वास्थ्य सेवाबाट कुनै पनि नागरिक बञ्चित हुन नपरोस्, यसमा हाम्रो विशेष जोड रहनेछ’, उनले भनिन्।

१५ दिनभित्र कान्ति अस्पताल सुधार्न मन्त्रीको निर्देशन
स्वास्थ्य मन्त्रालयको पदभार ग्रहण गरेको केहीबरेमा नै मन्त्री गिरी कान्ति बाल अस्पतालको निरीक्षणमा पुगे।

अस्पतालको निरीक्षणका क्रममा उनले बिरामी तथा बिरामीका आफन्तलाई भेटेर अस्पतालको सेवाका बारेमा जानकारी लिए। अस्पतालमा भएका विभिन्न सेवाका बारेमा उनले निरीक्षण गर्दै जानकारी लिएका लिए।

मन्त्री गिरीले अस्पतलमा पुगेर दश दिनभित्र देखिनेगरी अस्पतालमा विभिन्न सुधारका काम गर्न अस्पतालका निर्देशक डा. युबानिधि बसौलालाई निर्देशन दिए।

‘देखिनेगरी, आम मान्छेले अनुभूति गर्ने गरी १०÷१५ दिनमा यहाँ काम होस्, त्यसका लागि के गर्नुपर्छ म तयार छु,’ स्वास्थ्य मन्त्री गिरीले निर्देशन दिँदै भने। 

४ माघ, २०७९, ०८:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।