कभर स्टोरी

सामाजिक सञ्जालभरी आफ्नो गीतको लत बसाएर भाइरल बनेका गायक तिलक सोध्दैछन्- ‘के लत बस्यो मलाई, कहिले सुधार हुन्छ!’


२३ वर्षको उमेरमा २०५५ तिर रहरै रहरमा एकल गीति एल्बम ‘आँसु’ निकाले तिलकसिंह पेलाले। त्यो बेला नै उनको एल्बम हिट भयो। अहिलेजस्तो पाइरेसी भइहाल्ने जमाना थिएन। एल्बमका चक्का बिकेको आधारमा आम्दानी हुन्थ्यो। पैसा पनि राम्रै आयो पहिलो एल्बमबाटै। अल्लारे उमेरमा उनले अल्लारे पाराकै गीति एल्बम निकालेका थिए।

त्यसपछि पेला कता हराए कता। २४ वर्षपछि उनै पेला अहिले सामाजिक सञ्जालमा भाइरल छन् अझ विशेष टिकटकमा। ‘#तिलकपेला सङ’ भनेर सर्च गर्ने हो भने उनको पाँच दिनअघि रिलिज भएको गजलमा ३ लाख १२ हजार बढिले ह्यासट्याग प्रयोग गरेको भेटिन्छ।

उनले गाएको गजलको ‘साथी रहेछ दुख हरपल सवार हुन्छ, सुख पाहुना रहेछन् छुट्नै हतार हुन्छन्’ अनि ‘के लत बस्यो मलाई, कहिले सुधार हुन्छ, एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ’ भन्ने लाइन प्राय नेपाली टिकटक युजरले प्रयोग मात्र गरिरहेका छैनन् भुतुक्कै भइयो भन्ने त कति-कति।

१३ हजार सब्सक्राइबर भएको आफ्नै युट्युब च्यानल ‘तिलक सिंह पेला’ मा उनले आफ्नो नयाँ गजल चार दिनअघि अपलोड गरेका थिए। मंगलबार बेलुकासम्म उनको गीत २ लाख ५२ हजारले हेरिसकेका छन्। सामान्य छ म्युजिक भिडियो। तीन हजार प्रतिक्रिया आइसकेको छ भने १६ हजारले लाइक गरेका छन्।

संगीत शिक्षालय खोलेर आफ्नै तालमा जीवन बिताइरहेका उनको निवासअघि अहिले सञ्चारकर्मीहरूको ताँती छ अन्तर्वार्ता लिन। भ्याइ-नभ्याइ छ उनलाई आफ्नो जीवन कहानी खुलाउन। त्यही भीडमा उकेराकर्मी पनि पुग्यो मंगलबार।

OOO

साँच्चिकै फिल्मी छ उनको संगीतयात्रा। २०३२ सालमा बैतडीमा जन्मिएका तिलकको परिवार फौजी। परिवारमा संगीतकाे माहाेल थिएन तर उनका दाजु श्रीकृष्णसिंह पेला भने गीत लेख्न रुचाउँथे। दाइले लेखेको गीत गाएर नै उनले पहिलो एल्बम निकालेका रहेछन्।

उनको गाउँघरमा हुने रामलीलामा भारतबाट शास्त्रीय संगीतका गुरूहरू आएर गाउँथे अनि सिकाउँथे पनि। स्कुलका कार्यक्रमहरूमा गीत गाउने गर्थे। रामलीलाको गीति नाटकमा गीतमार्फत अभिनय गर्ने मौका पनि पाए।

त्यति बेलादेखि नै उनलाई हार्मोनियमको धुनले छुन थाल्यो। आफ्नै दाइले पनि संगीतप्रति चाख बढाउन ठूलो भूमिका खेले। उनलाई गाउन नआए पनि दाइले ‘यो गीत यसरी गाउनुपर्छ, यहाँ गल्ती भयो’ भन्दै सिकाए।

एसएलसी दिएर काठमाडौं आएका उनी त्यसपछि औपचारिक शिक्षातिर फर्किएनन्। उनी एसएलसीमा उत्तीर्ण हुन सकेनन्।

‘मैले संगीतकाे भोकले पढ्न चाहिनँ। एसएलसीमा फेल भएको विद्यार्थी थिए। तर अहिले सम्झँदा लाग्छ म त्यो बेला असफल भएको रहेनछु। पढेको भए बरु म हाकिम हुन्थे होला, भ्रष्ट्राचारमा पो मुछिन्थे कि?’, उनले भने।

पहिलो आधुनिक गीति एल्बम सफल भए पनि उनी सन्तुष्ट भने भएनन्। संगीत त सिक्ने कुरा हो, रहरमा गाएर मात्र हुन्न भनेर उनी गुरु खोज्न थाले। चार वर्ष काठमाडौंमा गुरु खोज्दैमा भौँतारिएका उनले बल्ल धनबहादुर गोपाली भेटे।

गोपालीसँग १० वर्ष शास्त्रीय संगीत सिके। तै पनि उनको भोक मेटिएन। अनि लागे शास्त्रीय संगीतकाे खानी मानिने भारतको बनारस। बनारसमा उनले गुरु भेटे पण्डित देवासिस गिरी। उनीसँग संगीत सिकेपछि मात्र उनी नेपाल फर्किए।

नेपाल फर्किएर पनि उनी संगीत साधनामै मग्न भए। घर खर्च जोहो गर्न संगीत पाठशाला खोलेर सिकाउन थाले। संगीत पाठशाला खोल्दा आफ्नो अभ्यास पनि हुने अनि आफ्नो ज्ञान पनि बाँड्न सकिने।

उनको गजबको बानी के भने उनी कहिल्यै अर्काको गीत गाउँदैनन्। ओशो अनुयायी रहेका उनको विहानी शास्त्रीय संगीतकाे अभ्यासबाटै सुरू हुन्छ। दिनभरको उनको काम संगीत सिकाउनैमा बित्छ। बेलुका एक घण्टा ओशोको प्रवचन सुन्छन् र सुत्छन्।

OOO

पत्रपत्रिकामा आफ्नो कविता छपाउने,  रेडियोमा स्वर परीक्षण गर्नेदेखि एल्बम निकाल्नेसम्मको काम सानैमा गरेका तिलकलाई अहिले लाग्छ, ‘आधुनिक सङ्गीतको स्रोत शास्त्रीय सङ्गीत नै हो।’

उनी शास्त्रीय संगीतलाई महासागर र अन्य विधालाई सागरसँग तुलना गर्छन्।

‘संगीतकाे सुर के हो? संगीतकाे ताल के हो?  राग के हो? र भाव के हो?  भन्ने मलाई थाहा थिएन। यी सबै कुराको ज्ञान शास्त्रीय संगीतकाे अध्ययन र साधनाबाट मात्र मिल्छ,’ उनले भने।

उनलाई लाग्छ संसार नादमय छ। उनी आफूभित्रबाट आएको ध्वनिलाई महसुस गर्छन्। त्यसलाई गलाबाट बाहिर निकाल्ने प्रयास गर्छन्। उनको लागि आफूले रोजेको शास्त्रीय संगीत एउटा रुट हो।

यसलाई उनी उदाहरण दिएरै प्रस्ट्याउन खोज्दै भन्छन्, ‘संगीतका विभिन्न विधाहरू लोकगीत, चलचित्रका गीत, स्वदेश गान र भजनहरू एउटा रूखको पातहरू र हाँगाबिँगा जस्तै हुन्। शास्त्रीय संगीत त्यसको मूल जरा हो।’

तिलकले कहिल्यै मिडियालाई खोजेनन्। फाट्टफुट्ट मिडियाले उनलाई खोजे। तर जति मिडियाले खोजे पनि उनको सार्वजनिक छवि बनेन। उनको गलाको कला उनको विद्यार्थीमाझ लोकप्रिय थियो। अभ्यास गर्दाका गीतका भिडियोहरू राख्न उनले युट्युब च्यालन पनि नखोलेका हैनन्।

सन् २०२० मा उनले आफ्नै नाममा युट्युब च्यानल खोलेर आफूले गाएका गीतहरू राख्न थाले। थोरै सब्सक्राइबर थिए। ४१ वटा भिडियोहरू राखे। अधिकांश गीतको म्युजिक भिडियो पनि बनाए।

तीन वर्षअघि म्युजिक भिडियो नै बनाएर ‘निर्जन किनार’ बोलको गीत राखे। त्यो लगभग १० हजारले हेरेका थिए। एक वर्षअघि ‘लुकाउन खोज्दा पनि आँसु नखसेको हैन’ बोलको गीत आफ्नै शिक्षालयमा गाएर युट्युबमा राखे। त्यो तीन हजारले हेरे।

उनको स्वरमा अलग मिठास छ शास्त्रीय संगीतकाे। श्रोता उल्लेख्य नभए पनि मन मगन स्वभावका उनी निराश भएनन्। निराश हुनु पनि किन? उनका लागि संगीत भाइरल हुने माध्यम थिएन। उनको लक्ष्य पनि भाइरल म्यान हुने हैन। जति श्रोता कमाए त्यसैमा रमाए।

‘राम्रो गर्दै जाने हो। आफूले सकेको समाजलाई दिने हो। सफलता आफैँ आउँछ’ कृष्णले ‘कर्म गर तर फलका पछाडि नलाग’ भनेको उपदेश सम्झिए।

डा. प्रदीपकुमार मैनालीको शब्दमा उनले संगीतसँगै जब स्वर भरेर चार दिनअघि युट्युबमा ‘के लत बस्यो मलाई’ नामक गीत सार्वजनिक भयाे, एकाएक भाइरल बने।

उनलाई सब्सक्राइबर कति भए त्यति चासो लाग्ने रहेनछ। सोमबार उनको युट्युब च्यानलमा लगभग १० हजार सब्सक्राइबर थिए। मंगलबार यो समाचार लेख्न थाल्दा १३ हजार नौ सय पुगेको थियो। समाचार लेख्न सक्काउँदा १४ हजार ४ सय पुगिसकेका छन्। यो अब रोकिनेवाला छैन केही समय।

एकाएक आफ्नो खोजी र चर्चा भएकोमा उनी छक्क छन्। एक साधकले सबै सिर्जनामा उत्तिकै मिहिनेत गरेकै हुन्छन्। उनले पनि सबै सिर्जनामा आफ्नो सबै सीप खन्याएका नै थिए। डा. प्रदीपकुमार मैनालीले दिएको गजलमा पनि उनले उस्तै मिहिनेत गरेका थिए।

आफ्नै मौलिक स्वरमा गाए ‘के लत बस्यो मलाई, कहिले सुधार हुन्छ, एक दिन तिमि नबोल्दा यो दिल बिराम हुन्छ।’

स्टुडियोमा गाइरहेको सामान्य म्युजिक भिडियो बनाएर युट्युबमा राखे। उनले भाइरल हुन नचाहे पनि उनको गलाको कलाले उनलाई भाइरल गायक बनाइछाड्यो। अहिले सञ्जालको जताततै उनै छाएका छन्।

‘एक्कासी सबैले मेरो गीत मन पराइदिनुभयो। धेरै मिडियाहरूबाट अन्तरवार्ताका लागि फोनहरू आएका छन्। खुसी त छु,’ उनले भने, ‘यस्तै हिट त म पहिले पनि थिएँ तर यत्रो समय मेरो खोजी किन भएन अनि अहिले किन सबैले खोजिरहेका छन्। अचम्म लागेको छ।’

उनी यसको जस पनि साधनाबाट आर्जन गरेको आफ्नो संगीत र गलालाई दिँदैनन्।

भन्छन्, ‘हुन त डा. प्रदीपका शब्दहरू नै यस्ता छन्। जसले हृदयका कुना कुनालाई छुन्छन्।’

अन्त्यमा उही भाइरल भइरहेको एक लाइन गजल सुनाए उनले।

‘पानी परेर धर्ती, आकाश हुन्छ सुन्दर

धर्ती बनेर तिम्रो के नै बिगार हुन्छ।

के लत बस्यो मलाई।’

* २३ वर्षको उमेरमा हुनुपर्नेमा १७ वर्षको उमेरमा भएकोमा सच्च्याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

रक्सीको मादमा पैदलयात्री किचेर मार्ने पृथ्वी मल्लको मुद्दाको पेशी २४ गते, पूर्ण सफाईको माग गर्दै आफैँले पनि हाले पुनरावेदन

यसअघि मल्ललाई काठमाडौं जिल्ला अदालतले भने २०७८ चैत ७ गते जम्मा ६ महिना कैद र एक हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। जिल्ला सरकारी वकिलको....

भरतपुर अस्पतालको ३२ करोडको एमआरआई खरिदमा सप्लायर्सको स्वार्थमा स्पेसिफिकेशन बदलेकै बदल्यै

निश्चित कम्पनीको एमआरआई मेसिनसँग मिल्नेगरी लक्ड प्राविधिक स्पेसिफिकेशन तयार गरेर खरिद प्रक्रिया अगाडि बढाएपछि टेण्डर नपाउने केही सप्लायर्स विरोधमा उत्रिए। एउटा मात्रै निश्चित कम्पनीको....

रविको कामले पाँच कानून आकर्षित, हुनसक्छ पाँच वर्ष कैद

उनले नेपाली राहदानी प्रयोग नगरेको दावी गरेका छन्। तर, अध्यागमन विभागको रेकर्डले उनले झुट बोलेका पुष्टि हुन्छ। उनले अमेरिकी नागरिककै हैसियतमा २०७२ जेठ १३ मा....

नागरिक उन्मुक्तिका सांसद अरुण आगजनीमा ६ महिना कैद सजाए पाएका दोषी, १३ वर्षदेखि 'फरार'

उकेराको खोजविनमा अदालतले दोषी ठहर गरेका अरुण र कैलाली २ का सांसद अरुण एकै व्यक्ति भएको पुष्टि भएको छ। निर्वाचन आयोगमा बुझाएको विवरणमा उनको स्थायी....

सहयोगको आवरणमा विकास बोर्डको बदमासी, आफू निकटलाई बाँड्छ हरेक वर्ष ५० लाख

उकेराले सूचनाको हक प्रयोग गरेर मागेको पाँच वर्षसम्मको कागजातअनुसार बोर्डले विभिन्न अवार्ड र महोत्सवका लागि कराेडौं रकम वितरण गरेकाे देखिन्छ। अधिकांश नामै नसुनिएका संस्था छन्। एकाध....