पर्वतबाट पहिलो ‘फुलमन्त्री’ बने पदम गिरी

पर्वतबाट पहिलो ‘फुलमन्त्री’ बने पदम गिरी

पोखरा : पर्वतमा निर्वाचन जितेका एमाले सांसद् पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त भएका छन्।

प्रतिनिधिसभा सदस्यमा लगातार दुई पटक चुनाव जितेका एमाले केन्द्रीय सदस्यसमेत रहेका गिरी पर्वतबाट मन्त्री बन्ने पहिलो व्यक्ति हुन्। पञ्चायत कालदेखि बहुदल आएयता राज्यमन्त्री र सहायकमन्त्रीमा सीमित रहेको पर्वतले यस पटक भने ‘फुल मन्त्री’ पाएको हो।

यस अघि २०२२/०२३ सालमा पञ्चायतकालमा पहिलोपटक गणेशबहादुर गुरुङ राज्यमन्त्री बनेका थिए। त्यसको केही वर्षपछि लालसिंह गुरुङ सहायकमन्त्री बन्दा २०३९ सालमा डम्मरबहादुर मल्लले यातायात राज्यमन्त्रीको शपथ खाए।

पञ्चायतको अन्तिमतिर क्षेत्रबहादुर गुरुङ सहायक यातायात मन्त्री बन्दा २०४६ सालको परिवर्तनपछि डिल्लीराज पौडेलले भूमिसुधार सहायकमन्त्री बनेका थिए।

२०७४ र २०७९ को चुनावमा पर्वतबाट प्रत्यक्ष निर्वाचित गिरी विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन्।

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा २०३३ सालमा जन्मिएका गिरीले गाउँको काफलचौर माविमा एमाले समर्थित अनेरास्ववियुको विद्यालयको प्रारम्भिक कमिटीको सचिव हुँदै अध्यक्षसम्मको जिम्मेवारी सम्हालेका थिए।

२०४६ सालमा एमालेको भ्रातृ संगठन अनेरास्ववियू पाँचौंको संगठित सदस्य बनेका उनी काफलचौर मावि दुर्लुङमा २०४८ सालमा प्रारम्भिक कमिटीको सचिव हुँदै अध्यक्षसमेत भए।

उच्च शिक्षाका लागि पोखराको पृथ्वी नारायण क्याम्पसमा भर्ना भएसँगै उनी अनेरास्ववियू पर्वत–पोखरा सम्पर्क कमिटीको अध्यक्षसमेत बनेका थिए। २०५५ मा अनेरास्ववियू पृथ्वीनारायण क्याम्पसको प्रारम्म्भिक कमिटीको सचिव हुँदै उनी स्वतन्त्र विद्यार्थी युनियनको सदस्य बनेका थिए।

२०५७ मा अनेरास्ववियू पृथ्वीनारायण क्याम्पसको प्रारम्भिक कमिटीको अध्यक्ष बनेका उनी २०६२ मा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा समेत निर्वाचित भए। राजनीतिसँगै अध्ययनलाई अगाडि बढाएका गिरी पृथ्वीनारायण क्याम्पसबाटै स्नातकोत्तर तहमा अध्ययन पूरा गरे।

२०६८ सालमा एमाले पर्वतको सातौं जिल्ला अधिवेशनबाट सदस्य पदमा निर्वाचित भएका उनी २०७१ मा भएको आठौं जिल्ला अधिवेशनबाट पहिलो पटक अध्यक्षमा निर्वाचित भए। उनले दुई कार्यकाल पार्टीको जिल्ला अध्यक्ष भएर काम गरिसकेका छन्।

गिरीले पहिलो पटक २०७४ मा कांग्रेस केन्द्रीय सदस्य अर्जुन जोशीलाई पराजित गरेर पहिलोपटक संसदीय यात्रा तय गरेका थिए। गत मंसिरमा सम्पन्न निर्वाचनमा उनले पुनः जोशीलाई नै पराजित गरेका हुन्।

३ माघ, २०७९, १८:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।